कोरोना, धनाढ्य र प्रदुषण

– नन्दलाल खरेल

कोभिड –१९ ले विगत ८–९ महिना देखि अर्थतन्त्रमा नराम्रो सँग प्रहार गरेको छ । एकातिर रोग र अर्कोतिर त्यसको उचित ब्यवस्थापनमा विश्वका धेरै देशका सरकारहरु चुकेका कारण स्वास्थ्य क्षेत्र मात्र नभई समग्रमा आर्थिक क्षेत्र तहसनहस छ । उद्योग ब्यवसाय बन्द छन् । आपूर्ति शृखला पुरै टुटेको छ । उद्योग कलकारखानाहरु करिब करिब सबैजसो अब निकै वर्षसम्म पुरानो रुपमा उठ्न नसक्ने स्थितिमा छन् । कोभिड–१९ को भयले धनीको धन झन– झन बढेको छ भने गरिबको सख्या उत्कर्ष विन्दुमा बढेको छ । कोरोनालाई नियन्त्रण गर्न लकडाउन नीति लामो समयसम्म अवलम्बन गर्दा अरबौं मानिसहरु रोजगार बिहिन भएर गरिबीको सख्या दिन प्रतिदिन बढेको छ । आयको स्रोतहरु पूर्ण रुपमा बन्द भएका छन् । जस्ले गर्दा विकराल अवस्था सिर्जना भएको अर्थशास्त्रीहरु बताउँछन् । यस अघिका कुनै महामारीका बेला पनि अहिले जस्तो अवस्थाको सिर्जना भएको थिएन ।
कोरोना भाइरसको यो महाब्याधी मानव जातिमाथि पछिल्लो समयको एक कठोर अग्निपरीक्षा हो । सम्भवतः हाम्रो शताब्दीको कहालीलाग्दो महामारी हो यो । यस्तो लाग्दथ्यो, मानिसले अर्थात विज्ञानले सफलता प्राप्त नगरेको क्षेत्र कतै छैन तर मानिस प्रकृतिभन्दा तल नै रहेछ । कृषिदेखि औद्योगिक र सञ्चार क्रान्तिको परिणामस्वरुप विश्वमा निर्माण ग¥यौं भन्ने मानिस कोरोना भाइरसको अदृश्य कीरोबाट त्राहिमाम भएको छ । अहिले विश्वका शक्तिशाली भनिएका अमेरिका, जापान, युरोपियन देशहरु, रुस, भारत लगायतका देशहरुलाई समेत हावाकावा खेलाउन सफल भएको छ यो कोरोना भाइरस । यो कस्तो जीव होला जो मृत्युलाई यति सस्तो बनाइरहेको छ । औषधि विज्ञानको क्षेत्रमा आफूलाई अब्बल ठान्ने अमेरिका, युरोप लगायतका देशहरुलाई पराजित गरेको छ कोरोना भाइरसले । कोरोना भाइरसको वंश पत्ता लागेको छैन । स्टेफन, हकिन्सले जीवनको अन्तिम क्षणमा वंश परिवर्तन गरेका नयाँ जीवाणुले विश्व मानव जातिको संहार गर्न सक्छ भने कुरा अनुमान गरेका थिए । त्यो सत्य सावित हुँदै छ कि ? यसले कतिको ज्यान लिन सक्छ यसै भन्न नसकिने अवस्था छ ।
एक प्रगतिशील लेखक उदयबहादुर चलाउने ‘दीपक’ का शब्दहरुलाई सापटी लिदै भन्नु पर्दा कोभिडको चुनौतीलाई आधारभूत रूपले दुईवटा अन्तर्रविरोध÷अन्तरसम्वन्धमा केन्द्रित गर्न सकिन्छ । एउटा हो– मानव र भाइरसवीचको अन्तर्रसम्बन्ध र अर्को हो– मानिसहरूवीचको आपसी अन्तरसम्बन्ध । मानव र भाइरसरवीचको अन्तरसम्बन्ध अर्को अर्थमा मानव र प्रकृतिबीचको अन्तरसम्बन्ध हो । मानिस स्वयम् एक प्रकृतिकै रचना भए पनि प्रकृति र मानवबीच जन्मकालदेखि नै स्वाभाविक अन्तरविरोधपूर्ण सङ्घर्ष चल्दै आएको छ । उक्त सङ्घर्षमा मानिसले मूलतः प्रकृतिलाई जित्दै आजको अस्तित्वसम्म आइपुगेको हो तर प्रकृतिमाथि मानवको यो विजय पछिल्लो समयमा केही उन्मादपूर्ण बन्दै गएको छ । प्रकृतिमाथिको ज्यादतीपूर्ण मानववीय क्रियाकलाप दिन दुई गुणा र रात चौगुणाको दरले वृद्धि भइरहेको छ । यसले पृथ्वीको पर्यावरणलाई तीव्र खलल पारिरहेको छ । माक्र्सवादका प्रणेतामध्येका एक फ्रेडरिक एङ्गेल्सका अनुसार प्रकृतिमाथि आफ्ना मानवीय विजयहरूका कारण हामी आत्मप्रशंसामा विभोर हुनु हुँदैन किनभने त्यसले हरेक यस्तो विजयको हामीसँग प्रतिशोध लिन्छ । कोभिड १९ को यो महाव्याधि प्रकृतिले आफूमाथि मानवीय ज्यादतीको यस्तै एक प्रतिशोध साधेको हो भन्नेमा आजको मानवले बुझ्नु जरुरी छ ।
कोभिड–१९ विश्वकै साझा समस्या हो । तर यो समस्या समाधानमा विश्वका शक्तिराष्ट्रहरु र अन्य राष्ट्रहरुको बुझाई एकरुपता छैन । कसले सबैभन्दा पहिला भ्याक्सीन बनाउने र त्यो भ्याक्सीन विश्व बजारमा लगेर नाफा कमाउने दौडमा छन् । साझा वृद्धि प्रयोग गरेर यो महामारीबाट कसरी बच्न सकिन्छ भन्ने चिन्तन प्रणालीको विकास भएको छैन । विश्व बैंकका पूर्वप्रमुख रोवर्ट जोयलिकले विश्वका राष्ट्रहरूले एकजुट भएर वर्तमान कोरोना महामारीमा सहकार्य नगरे विश्व सन् १९०० कै अवस्थामा पुग्नसक्ने चेतावनी दिएका छन् । विश्व अर्थतन्त्र पुनरुत्थानमा अमेरिका र चीनबीचको तनाव बाधक रहेको समेत उनले बताएको बीबीसीले जनाएका छन् । जोयलिक अमेरिकाकै वरिष्ठ सार्वजनिक अधिकारीमध्येका एक हुन् । उनले छ जना अमेरिकी राष्ट्रपतिलाई आफ्नो सेवा अवधिमा सल्लाह दिइसकेका छन् । विश्व अर्थतन्त्र जोगाउन सबै देशहरुबीचको सहकार्य निर्विकल्प भएको उनको भनाइ छ । खासगरी विश्वका ठूला अर्थतन्त्र अमेरिका र चीनबीचको तनाव खतरनाक भएको उनले बताएका छन् । बीबीसीको एसिया बिजनेस रिर्पोटसँगको कुराकानीमा जोयलिकले आफ्नो धारणा राखेको बताइएको छ । विश्वब्यापीकरण छोडेर देशहरु आफ्नै राष्ट्रिय स्वार्थमा केन्द्रित हुने अवस्थामा अहिले पनि विश्व सन् १९०० कै अवस्थामा पुग्नसक्ने उनको भनाइ छ । जोयलिकले सन् २००७ देखि २०१२ सम्म विश्व बैंकको प्रमुख रहेका थिए ।
विश्वलाई कोरोनाले हायलकायल बनारहेको बेला विश्वका ठूला कम्पनी तथा धनाढ्य व्यक्तिहरु कसरी बढी से बढी नाफा कमाउने दौडमा छन् । कोरोनाकै समयमा अमेरिकी अनलाइन खुद्रा कम्पनी अमेजनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बेजोसका नेटवर्र्थ २ खर्ब डलरभन्दा माथि पुगेको छ । त्यस्तै गरेर यहि माहामारीकै समयमा अमेरिकी एप्पल कम्पनी २ ट्रिलियन डलर बजारमूल्य भएको पहिलो सार्वजनिक कम्पनी बन्न सफल भएको छ । अमेजन, माइक्रोसफ्ट तथा गुगल लगायतका प्रतिस्पर्धी कम्पनीहरुको मूल्य ४ ट्रिलियन डलरको सरेफेरोमा रहेका अवस्थामा एप्पलले आफूलाई दोब्बर मूल्य बनाउन सफल भएको छ । यो सँगै एप्पल, अमेजन, माइक्रोसफ्ट, गुगल कम्पनीको गरी कुल बजार मूल्य ६ ट्रिलियन डलर पुगेको छ । हाम्रो छिमेकी राष्ट्र भारतका मुकेस अम्बानीको सम्पत्ति फेरी बढेको छ । हालसालै रिलायन्स इन्डष्ट्रिज विश्वको ठूलो ब्राण्ड घोषित भएको छ । अब मुकेश अम्बानी विश्वको चौथो धनी ब्यक्ति बन्न सफल भएका छन् । ब्लुमवर्ग अर्बपति सूचकांकको रियल टाइम नेटवर्थका अनुसार अम्बानीको कुल सम्पत्ति ८०.६ अर्ब डलर छ । सम्पत्तिका हिसाबले मुकेश अम्बानी अहिले फेसबुकका संस्थापक मार्क जुकारवर्ग भन्दा अगाडि तेस्रो नम्बरमा छन् । त्यस्तै माइक्रोसफ्टका सह–संस्थापक विल गेट्स दोस्रो स्थानमा छ भने अमेजनका सीइओ जोफ बेजोस पहिलो स्थानमा छन् ।
आज विश्वभर अधिकांश मूलुकहरुमा पुँजीवादी राजनीतिक व्यवस्थाभित्रको लोकतन्त्र स्थापना भइसकेको छ । तर आर्थिक असमानताको खाडल हेर्ने हो भने डरलाग्दो छ । यो पुँजीवादी अर्थब्यवस्थाले धनाढ्यलाई थप धन आर्जन गर्न सक्षम बनाएको छ भने करोडौं मानिसहरुको जीवन नरकतुल्य पनि यहि ब्यवस्थाले गरेको छ । धनको संचय गर्नु र नाफा कमाउनु यो ब्यवस्थाको नियम नै हो । अझ महामारी भएको बेला अथवा मानवीय संकट परेको बेला धनाढ्यहरुले अझ बढी धन कमाउँछन् । जुन वर्तमान परिस्थिमा धनाढ्यहरुले कमाएको धनबाट पुष्टि हुन्छ । धनाढ्यले धन कमाउने कुरा भन्दा अर्को डरलाग्दो तथ्य के छ भने गरिबभन्दा ५० गुणा बढी विश्वका सर्वाधिक धनी १ प्रतिशतले प्रदुषण फैलाउँछन् ।
विश्वका सबैभन्दा धनी एक प्रतिशत मानिसले गर्ने कार्बन प्रदूषण विश्वका सबैभन्दा गरीब करिब ३ अर्ब १० करोड जनसंख्याले गर्ने प्रदूषणभन्दा दोब्बर रहेको एक अध्ययनले वेखाएको छ । पछिल्लो समय कोरोनाभाइरस महामारीका कारण कार्बन उत्सर्जनमा तीव्र गिरावट आए पनि यस शताब्दीमा पृथ्वी धेरै डिग्रीसम्म तातो हुने गतिमै अग्रसर देखिएको छ । गरिब तथा विकासशील देशहरुमा प्राकृतिक प्रकोप र विस्थापनको खतरा बढाएको छ ।
अक्सफामको नेतृत्वमा गरिएको एक विश्लेषणले सन् १९९० देखि २०१५ को बीचमा बार्षिक कार्बन उत्सर्जन ६० प्रतिशतसम्म बढेको अवस्थामा पुथ्वीको कूल कार्बन बजेटको एक तिहाई हिस्सा धनी राष्ट्रको पोल्टामा रहेको देखाएको छ । कार्बन बजेट भनेको विनाशकारी तापमान अवश्यम्भावी बृद्धि हुनअधि मानवजातिले उत्पन्न गरेको हरितगृह ग्यास उत्सर्जनको सीमा हो । केवल ६ करोड ३० लाख मानिस अर्थात् एक प्रतिशतले सन् १९९० यता कर कार्बन बजेटको नौ प्रतिशत हिस्सा ओगटेका थिए । स्टकहोम वातावरण इन्स्टिच्यूटले अक्सफामका लागि गरेको उक्त विश्लेषणले कार्बन असमानता लगातार बढेको देखाएको छ । विश्लेषणले एक प्रतिशतको उत्सर्जनको वृद्धिदर विश्वका अति गरिब आधाभन्दा बढी मानिसको भन्दा तीन गुणा बढी देखिएको जनाएको छ ।
अन्त्यमा कोरोना महामारीले पुँजीवाद अर्थात् सारतः पुँजीवादको विनाशकारी अनुहारलाई सामान्य चेतनाले समेत सजिलैसँग बुझ्ने गरी आज संसारभर उदाङ्गो पारिदिएको छ । मानव जातिलाई कोरोनाले के सन्देश दिएको छ भने जाति, सम्प्रदाय, भूगोल विशेष भएर अवको मानव बाँच्न सम्भव छैन । अबको मानव, विश्व मानव बन्न जरुरी छ । त्यसका लागि एक नयाँ ‘विश्व ब्यवस्था’ बिलकुलै आवश्यकता छ जहाँ आजको भूगोल जाति, धर्म, लिङ्ग आदिका सिमानाहरु केहि पनि नहोऊन ।
प्रकासित मिति २०७७–६–२२

फेसबुकबाट तपाईको प्रतिक्रिया