कोरोना बीमामा ९० प्रतिशत दाबी भुक्तानी भएन

काठमाडौं १६ कार्तिक २०७७।

कोरोना बीमामा गत सातासम्म परेका दाबीमध्ये करिब १० प्रतिशतले मात्र दाबी भुक्तानी पाएका छन् । कोरोना संक्रमित भएका करिब ९० प्रतिशत बिमितले भने भुक्तानी पाएका छैनन् ।

निजी प्रयोगशालामा गरिएका रिपोर्ट सक्कली हुन् कि नक्कली भनी परीक्षणका लागि प्रक्रियागत काम गर्नुपरेकाले दाबी भुक्तानीमा ढिलाइ भएको बिमक संघले जनाएको छ । नियामक निकाय बीमा समितिले निर्धारित समयमा दाबी भुक्तानी नदिने कम्पनी (बीमा पुल) लाई दबाब दिनुपर्नेमा उल्टै उनीहरूको बचाउ गर्दै आएको छ । यही कारण कोरोना संक्रमित भएका बिमित निको भइसक्दा पनि दाबी भुक्तानीको टुंगो छैन ।

झन्डै दुई महिनाअघि कोरोना संक्रमित भएपछि बीमा दाबी गरेकी प्रभा पन्थीले अझै भुक्तानी पाएकी छैनन् । कम्पनीमा सोधखोज गर्दा हरेक पटक दुई–चार दिनमा काम भइहाल्छ भने पनि अझै भुक्तानी नपाएको उनले बताइन् । ‘अब त कम्पनीमा फोन गर्न पनि दिक्क लागिसक्यो, जहिले कुरा गर्दा पनि एउटै उत्तर आउँछ,’ उनले भनिन्, ‘पैसा आउने टुंगो छैन ।’ पन्थीले एक निजी अस्पतालमा कोरोना परीक्षण गराएकी थिइन् ।

गत भदौ पहिलो साता कोरोना संक्रमण पुष्टि भएका दीपेश केसीले पनि अझै दाबी भुक्तानी पाएका छैनन् । ‘न त कागजात पुगेन भनेर कम्पनीबाट खबर नै आएको छ । न दाबी भुक्तानी नै पाइएको छ ?’ उनले भने, ‘अब त आश पनि मरिसक्यो ।’ बीमा दाबी नपाएकै कारण उनले कोरोना बीमा गर्न चाहने आफन्तलाई नगर्न सुझाउन थालेको बताए । उनले थपे, ‘आफूलाई चाहिएको समयमा पैसा पाइँदैन, किन बीमा गर्नु ?’

आवश्यक सबै कागजात पुगे पनि लामो समयसम्म दाबी भुक्तानी नपाएका दुई दर्जनभन्दा बढी बिमित कान्तिपुरसँग निरन्तर सम्पर्कमा छन् । उनीहरूको एउटै प्रश्न छ– बीमा भुक्तानी कहिले पाइन्छ ? बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं भन्छन्, ‘मापदण्ड पुगेका सबै बिमितले दाबी भुक्तानी पाउँछन् । अहिले प्रक्रियागत काम भइरहेकाले केही ढिलाइ भएको हो ।’ बीमा गरिसकेपछि कम्पनीहरूले जसरी पनि दाबी भुक्तानी दिनुपर्ने भएकाले केही ढिलाइ भए पनि ढुक्क हुन उनले आग्रह गरे । ‘पैसा नपाइने भन्ने हुँदैन, यसको जिम्मा बीमा समितिले लिन्छ,’ उनले भने ।

कोरोना बीमा मापदण्ड–०७७ मा आवश्यक कागजात पुगेका बिमितले बढीमा सात दिनभित्र भुक्तानी पाइसक्नुपर्ने प्रावधान छ । तर अनेक बहानामा बीमा कम्पनीहरूले भुक्तानी दिन आनाकानी गरेका छन् । केही बीमा कम्पनीले बिरामी (बिमित) निको भएको रिपोर्ट (नेगेटिभ रिपोर्ट) चाहियो भनेर पनि दाबी भुक्तानी रोकेका छन् । जब कि बीमा दाबीमा चाहिने कोरोना पोजिटिभ रिपोर्ट हो । नेगेटिभ रिपोर्ट चाहिने व्यवस्था मापदण्डमा छैन । यही कारण अनेक बहाना झिकेर कम्पनीले दाबी भुक्तानी नदिएको जानकारहरूको भनाइ छ ।

बीमा समितबाट प्राप्त तथ्यांकअनुसार गत सातासम्म १३ हजार ३ सय ५३ वटा दाबी परेका छन्, जसमध्ये १ हजार ४ सय ४१ वटा दाबी मात्र भुक्तानी भएको छ । यो कुल दाबीको १०.७९ प्रतिशत मात्र हो । कुल परेको दाबी करिब १ अर्ब २८ करोड रुपैयाँ बराबर हो । त्यसको १०.६४ प्रतिशत (१३ करोड ७२ लाख ५० हजार रुपैयाँ) को मात्र दाबी भुक्तानी भएको छ । गत सातासम्म बीमा कम्पनीले कुल १ लाख ८१ हजार ७ सय ९५ वटा बीमालेख बिक्री गरेका छन् । तीमार्फत १७ लाख ७० हजार ९ सय २६ जनाको कोरोना बीमा भएको छ । यसबाट कम्पनीहरूले १ अर्ब १ करोड ९१ लाख ७४ हजार ६ सय ८२ रुपैयाँ संकलन गरेका छन् । बीमालेख बिक्रीबाट उठेको प्रिमियम गत सातासम्म परेको कुल दाबीको रकमभन्दा कम हो ।

विविध कारणले दाबी भुक्तानीमा ढिलाइ भएको बिमक संघका महासचिव चंकी क्षत्रीले बताए । भदौ दोस्रो साता बीमा समितिबाट निजी प्रयोगशालाको रिपोर्टका आधारमा दाबी भुक्तानी नदिनू भन्ने पछिल्लो निर्देशन जारी भएपछि बीमा कम्पनीहरूको दाबी भुक्तानी रोकिएको र अब केही दिनमा ती रिपोर्टको पनि भुक्तानी सुरु गरिने उनको भनाइ छ । ‘त्यसपछि बीमा कम्पनीका कर्मचारी पनि संक्रमित भए, यहीबीचमा दसैं आयो,’ उनले भने, ‘अब अन्योल छैन, मापदण्ड पुगेका सबै बिमितले दाबी भुक्तानी पाउँछन् ।’

संशोधित मापदण्डमा बीमा पुल (बिमक संघ) बाट मात्र दाबी भुक्तानी गर्न एकद्वार नीतिको व्यवस्था गरिएको छ । त्यसको व्यवस्थापन शिखर इन्स्योरेन्सले गरेको छ । यो प्रक्रियाअन्तर्गत कम्पनीले दाबी पुलमा पठाउने र पुलमार्फत बिमितले भुक्तानी पाउने क्षत्रीले जानकारी दिए । स्रोतका अनुसार गत भदौ तेस्रो सातायता निजी अस्पतालमा गरिएका कुनै पनि रिपोर्टले बीमा भुक्तानी पाएका छैनन् ।

नयाँ मापदण्डअनुसार भुक्तानीका लागि स्थानीय निकायको सिफारिस चाहिने व्यवस्था गरिएको छ । यसअघि सरकारी अस्पतालमा गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको रिपोर्टका आधारमा भुक्तानी पाउने व्यवस्था थियो । पछि कोरोना बीमा मापदण्ड परिमार्जन गरी निजी प्रयोगशालाका रिपोर्टले पनि मान्यता पाएका छन् । निजी प्रयोगशालाको रिपोर्टलाई भने बीमा समितिले सक्कली वा नक्कली भएको प्रमाणित गर्ने भनिए पनि त्यो काम अझै सुरु नभएकाले ढिलो भएको कम्पनीहरूको आरोप छ ।

गत भदौ २८ सम्म बीमा गरेकाहरूले पुरानै मापदण्डअनुसार ५० हजार र १ लाख रुपैयाँ दाबी भुक्तानी पाउनेछन् । तर दाबी भुक्तानीका लागि तिनले पनि नयाँ बिमितले जस्तै घरमै आइसोलेसनमा बसेको भए पोजिटिभ पीसीआर रिपोर्टसहित स्थानीय तहको सिफारिस र अस्पतालमा उपचार गराएको भए डिस्चार्ज रिपोर्ट अनिवार्य पेस गर्नुपर्नेछ ।

गत भदौ २९ पछिका बिमितले भने घरमै आइसोलेसनमा बसेको भए २५ हजार र अस्पतालमा उपचार गराएको भए बढीमा ७५ हजार रुपैयाँसम्म मात्र भुक्तानी पाउँछन् ।कान्तिपुर दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया