कोरोना भाइरसको खोपको पहिलो मानव परीक्षण अमेरिकामा

काठमाडौं, ३ चैत

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट जोगाउन विकास गरिएको पहिलो खोप मानवमा परीक्षण गर्ने तयारी भएको छ ।

सो परीक्षणका लागि अमेरिकाले खर्च उपलब्ध गराएको छ । यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुने भएका छन् । खोप परीक्षण अमेरिकाको सीयाटलमा सोमवार गरिन लागेको हो । ती स्वयंसेवीहरूले संक्रमित नभईकनै खोपका विभिन्न मात्रा लिनेछन् ।

सो खोपमा वास्तविक कोरोना भाइरसको कुनै अंश छैन। त्यसमा मेसिन्जर आरएनए (एमआरएनए) को सानो भाग भएको बताइएको छ।

बिरामीको कोषलाई भाइरसको संक्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकहरूको योजना छ।

पहिलो चरणमा कोरोना भाइसविरुद्धको खोपको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच गरिनेछ । परीक्षण गर्न लागिएको खोपलाई एमआरएनए–१२७३ नाम दिइएको छ ।

मोडेर्ना नाम गरेको निर्माताले सो खोपको निर्माण गरेको हो । कोरोना भाइरस विरुद्धको नयाँ परीक्षण सीयाटलको काइसर पर्मानन्ट वाशिङ्टन हेल्थ रिसर्च इन्स्टिट्यूटमा हुन लागेको हो।Agency

फेसबुकबाट तपाईको प्रतिक्रिया