कोरोना: सरकार या ब्यक्ति कसको जिम्मेवारी कति?

✍️पारसमणि खतिवडा, काठमाडौं १७ चैत ।

नोबेल कोरोना भाइरस (कोभिड–१९) पत्ता लागेको करिब तीन महिनाकै अवधिमा संसारभरि ७,२२,१९६मानिस संक्रमित भएका छन् । हालसम्म ३३,९७६ बढीको मृत्यु भइसकेको छ । अहिले संसारभरि नै कोरोना महामारीको त्रास छ । पूरा विश्वको नजर यतिबेला एउटै समस्यामा रुमल्लिरहेको देखिन्छ। तर, संसारले यस्तो महामारी सामना गरेको यो पहिलोपटक भने होइन । मानव सभ्यताले यसभन्दा अत्यन्तै ठूला र दर्दनाक महामारीको सामना गरिसकेको छ । मानव विकाससँगै महामारी पनि विकास भएको इतिहास छ । महामारीले मानवतालाई आरम्भदेखि नै आक्रमण गर्दै आएको छ । मानवताको शत्रुका रूपमा बेलाबेलामा देखापर्दै इतिहासको बाटो नै बदलेको देखिन्छ । तीन हजार बीसी (ईपू) अघिको चीनमा देखिएको सिर्कादेखि अहिले चीनमै देखिएको ३१ डिसेमबरको कोरोनासम्म आइपुग्दा २० भन्दा बढि यस्ता महामारीले विश्वका सबै भूगोललाई प्रभावित पारेका छन् । विश्वमा कैयौँ त्यस्ता महामारी भए होलान्, तर केही महामारी इतिहासमा अभिलिखित छन् । इतिहासका पानामा पढ्दासमेत आतंकित बनिने त्यस्ता महामारी त्यसवेलाका मान्छेले कसरी सामना गरे होलान्, कल्पना पनि गर्न सक्दैनौँ ।
ब्लाक डेथ , स्पेनिस फ्लु ,प्लेग अफ जस्टिनियन ,तेस्रो प्लेग ,बिफर जस्ता ठुला महामारि हामिले पढेका बिश्वमा घटेका ठुला महामारि तथा बिपद्का उदाहरण हुन्।
हामीले यस्ता ठूला महामारिको चेन ब्रेक गर्न सकेनौँ भने हामीले फैलनबाट समेत रोक्न सक्दैनौँ । यदि यहि अहिलेको जटिल महामारि कोरोना झन फैलियो भने हाम्रो स्वास्थ्य संरचना अनि व्यवस्थापन सबै थला पर्न सक्छ । त्यसैले, अबको बाटो भनेको व्यापक परीक्षण नै हो । अहिलेसम्म ठूलो लक्षण देखिएकामा मात्र परीक्षण गर्ने पाइएको छ । हामीले यो रोगसँग लड्दै गरेका अन्य देशबाट सिक्न ढिला गर्न हुँदैन । संक्रमणको परीक्षण गर्ने व्यवस्थालाई कम्तीमा जिल्लास्तरसम्म पु-याएर टेस्ट सुरु नगर्ने हो भने हामीले ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ । हामीले यो संकटको घडीलाई हाम्रो स्वास्थ्य प्रणाली अनि संरचनालाई बलियो बनाउन दिशा दिने अवसरको रूपमा सदुपयोग गर्न सक्नुपर्छ ।
विश्वका बलिया राष्ट्र पनि कोभिड–१९ विरुद्ध संघर्ष गरिरहेका छन्। त्यसैले हाम्रो जस्तो देशमा लकडाउन झन लम्ब्याउनै पर्छ। अहिले सबै कुरा बिर्सिएर हामीले स्कुलमा स्वास्थ्य शिक्षामा जे पढेका थियौं, त्यसैलाई मात्र पछ्याउनुपर्ने बेला हो। हामी अलिकति अव्यवस्थित पहिलादेखि नै छौं। अव्यवस्थित हँुदा पनि हाम्रो देश जसोतसो चलिरहेको छ। कोभिड–१९ रोकथाम गर्न हामीले घरभित्र बस्नै पर्छ। यो हामी सबैका लागि हो। लकडाउन थपिन्छ भन्ने मानसिकता हामीले स्वयम् बनाउनु अावश्यक छ|
एउटा महत्वपूर्ण विषय, सरकारले यतिबेला आफ्नो बिदेशमा रहेका नागरिकलाई देशमा नआइज भन्न मिल्दैन । सरकारले जहाँ हुनुहुन्छ, त्यही बस्न अनुरोध गर्न सक्छ । त्यहाँ रहेका आफ्नो दूतावासमार्फत आश्वस्त पार्दै भिसालगायत समस्या समाधान गर्न नेतृत्व लिन सक्छ, तर हिँडेर लडेर, लखेटिएर आउने आफ्ना नागरिकलाई सरकारले सिमाना तथा विमानस्थलमा उचित परीक्षण गरी देश भित्र्याउनैपर्छ । बरु, सरकारले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार क्वारेन्टाइनमा राख्न सक्छ । अनुगमनमा होम क्वारेन्टाइनमा राख्न सक्छ, तर बाटो बन्द गर्न मिल्दैन ।
अर्को पक्ष बिहान ज्याला मजदुरी गरेर खाने एउटा नागरिकले यो अवस्थामा आफ्नो जीविका कसरी पाल्न सक्छ ? हप्तौँ लकडाउनमा बस्दा वा क्वारेन्टाइनमा उसलाई कसले हेर्ने ? तसर्थ, कमजोर आय भएका नागरिक, साना व्यवसायलाई यस संकटसँग जुध्नका लागि सरकारले सहयोगको प्याकेज तत्काल सार्वजनिक गर्न जरुरी छ । यस आर्थिक वर्षमा संघ एवं प्रदेश सरकारले सांसदलाई छुट्याएको विकास बजेटको प्रयोग व्यवसाय र न्यून आय भएका नागरिकलाई राहत उपलब्ध गराउन सकिन्छ । कुरा के छ भने भन्नैपर्छ: एउटा नेपाली कोरोना भाइरससँग लड्दालड्दै यतिबेला भोकसँग हार्न नपरोस् ।
अहिले आफैंले जिम्मेवारी लिने समय हो । सरकार वा कसैलाई दोष दिएर हँुदैन। सरकारले के गर्ने के नगर्ने भनेर गाइडलाइन तोकिदिएको छ। यस्तो बेला पनि सरकारले भनेको नमाने कहिले मान्ने त ? कुनै पार्टी, कुनै जात, कुनै अनुहार हेरेर सरकारले यो नियम बनाएको पक्कै होइन। यो सबैको हितका लागि स्वच्छ रहौं स्वस्थ रहौं भनेर बनाएकै हो। सामाजिक सञ्जाल रेडियो टिभी जस्ता सञ्चारमार्फत सही सन्देश र सकारात्मक सूचना अरूलाई पठाउनु पनि हाम्रो दायित्व नै हो। त्यसै पनि मानिस अहिले घर बस्नुपर्दा डिप्रेसजस्ता देखिएका छन् । यो घर बसेर आफूलाई मन परेको सोख पुरा गर्ने समय पनि हो भन्न सकिन्छ।
यतिबेला लकडाउनमा मान्छे धेरै अनावश्क बाहिर निस्किरहेका छन्। नबुझ्नु त स्वाभाविक नै हो। धेरैका बाध्यता पनि होलान्। घरमा बसेर खानुपर्‍यो। बिहानदेखि बेलुकासम्म काम गरेर त्यसको आम्दानीले चल्नुपर्ने पनि होला। तर घरको बुझ्ने मान्छेले सेल्फ आइसोलेसन, सेल्फ क्वारेन्टाइनबारे अरूलाई बुझाउनुपर्छ। अहिले सामाजिक सञ्जाल तथा एफ एमबाट पनि धेरै विषय थाहा पाउन सकिन्छ। अहिलेको एक मात्र औषधि घरभित्र बस्नु हो । सचेतना जगाउनु नै हो।त्यसैले सरकारले सबैथोक गर्न सक्दैन नीति बनाईदिने हो त्यसलाई कार्यन्वयन गर्नु प्रत्येक ब्यक्तिको धर्म हुनेछ।
( लेखक स्वास्थ्यकर्मि हुनु)

 

फेसबुकबाट तपाईको प्रतिक्रिया