कोशी र कमला नदीमा माघी नुहाउनेको भीड

सप्तरी, १ माघ (रासस)

हिन्दू धर्मावलम्बीले मनाउने मकर सङ्क्रान्ति पर्वको अवसरमा आज सप्तकोशी नदीमा नुहाउने (स्नान) गर्नेको भीड लागेको छ ।

आजको दिन नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति हुने जनविश्वास रहेको छ ।

उक्त नदीमा सुनसरी र सप्तरी जिल्ला तथा छिमेकी राष्ट्र भारतको विहार राज्यअन्तर्गत सुपोल जिल्लाका विभिन्न गाउँ र शहरका वृद्धवृद्धा, बालबालिका तथा महिलाको सप्तकोशी नदीमा नुहाउनका लागि भीड लागेको स्थानीय राजकुमार विश्वासले बताउनुभयो ।
नुहाएपछि स्थानीय मठमन्दिर तथा भारदहमा रहेको कंकालनी भगवती मन्दिर र कोशी ब्यारेजमा रहेका हनुमानजीको मन्दिरमा पूजाआजसमेत गर्ने गरेको बताइएको छ ।

त्यस्तै सिरहा जिल्लाको कमला नदीमा पनि धनुषा र सिरहाका हजारौँ हिन्दु धर्मावलम्बी आज बिहानैदेखि नुहाउने गरेको कमला सिँचाइ आयोजनाका इञ्जिनियर अरुणकुमार यादवले बताउनुभयो ।

अहिले कमला र कोशी नदी छेउमा किनमेलका लागि मेलासमेत लागेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया