को बन्ला त नेप्सेको सीईओ ?

काठमाडौं, चैत ६, २०८१ । नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि खुला प्रतिस्पर्धाबाट आवेदन दिएर सर्टलिस्टमा परेका ५ जनाको अन्तर्वार्ता तथा प्रस्तुतीकरण सम्पन्न भएसँगैको बन्ला त नेप्सेको सीईओ भन्ने तर्फ सबैको चासो बढेको छ ।

बुधवार बिहान अर्थ मन्त्रालयले पाँचै जनालाई कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका लागि बोलाएको थियो ।
सिफारिस समितिले आवेदन दिएका १० जनामध्ये पाँच जनाको सर्टलिष्ट सार्वजनिक गरेको थियो । सर्टलिस्टमा चूडामणि चापागाईँ, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल छन् । आज उनीहरु पाँचै जनाले अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुत गरेका छन्।

आज (बुधबार) अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गर्ने पाँच जनाबाट उत्कृष्टताका आधारमा तीन जनाको नाम सिफारिस हुनेछ । तिनै तीन जना मध्येमा मन्त्रिपरिषद् बैठकले एक जनालाई सीईओ बनाउने छ ।

अर्थ मन्त्रालयले यसअघि फागुन १२ गते सार्वजनिक सूचना जारी गर्दै फागुन १८ गतेसम्म सीईओ पदका लागि आवेदन मागेको थियो । १८ गतेसम्म कुनै पनि आवेदन नपरेपछि फागुन २५ सम्म समय थप गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया