खर्लप्पै घट्यो सवारीसाधनको बिक्री

काठमाडौं २० फागुन

तरलता अभाव भएको भन्दै राष्ट्र बैंकले कर्जामा सीमा तोकेपछि सवारीसाधन बिक्रीमा दुई तिहाइभन्दा बढीले कमी आएको छ। सवारी बिक्री हुन नसक्दा हजारौंको संख्यामा नेपाल भित्र्याउन लागिएका सवारीसाधन भारतीय सीमामा अलपत्र परेका छन्। यसको प्रभाव सवारीसाधनका सोरुमहरुमा समेत देखिएको छ। राजधानीसहित देशका विभिन्न स्थानमा रहेका सवारी सोरुमहरु क्रमशः रित्तिँदै गएका छन्। अटो लोनमा राष्ट्र बैंकले ५० प्रतिशतको क्याप राखेपछि कुनै सवारी आयातकर्ताहरुले प्यासेन्जर भेइकल ल्याउन नसकेको नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालका अध्यक्ष अन्जन श्रेष्ठको भनाइ छ। कारोबार दैनिकमा समाचार छ

‘यसले राजस्व संकलनमै प्रत्यक्ष प्रभाव पर्ने निश्चित छ,’ उनले भने। तत्काल भने, ‘यसको असर नदेखिँदा धेरैले सामान्य रुपमा लिएका हुन्।’ कमर्सियल सवारीमा क्याप नतोकिएकाले समस्या नदेखिएको भए पनि प्यासेन्जर कारको क्षेत्र भने प्रत्यक्ष प्रभावित भएको छ। ‘अटो लोनमा लागेको लागेको क्यापले सवारीसाधन आउन नसक्दा अधिकांश सोरुमहरु खाली हुँदै गएका छन्’ उनले भने। राष्ट्र बैंकले साना सवारीमा बैंकले गर्ने लगानीमा कडाइ गरेपछि नेपाल भित्रने करिब ३ हजार सवारीसाधन सीमावर्ति सहर रक्सौलमै थन्किएका छन्। वीरगन्ज भन्सारकै यार्डमा पनि भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका करिब २ सयको संख्यामा कार, जिप, भ्यान धुलो लागेर थन्किएको भन्सारका प्रवक्ता मोहनराज भट्टले जानकारी दिए। ‘लगानीको अभावमा भन्सारबाट आयातकर्ताले साना सवारी जाँचपास गराउन सकेका छैनन्।’ भट्टले भने, ‘बैंकबाट सहजै लगानी हुन नसकेकाले आयातकर्ताले रक्सौलमा जग्गा भाडामा लिएर सवारीसाधन पार्किङ गरेर राखेका छन्।’ राजधानीमा यस्ता सवारीसाधनलाई पार्किङ गरेर राख्ने स्थान अभाव हुने र जग्गा भाडामा लिएर राख्न तुलनात्मक रुपमा महँगो पनि पर्ने भएको हुनाले उनीहरुले यसो गर्ने गरेका हुन्। वीरगन्ज नाकाबाट भित्रने अधिकांश कार, भ्यान, जिपलगायत हलुका सवारीसाधन राजधानी नै ल्याइने गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया