खाने अन्न र लगाउने कपडा दुवै नभएपछि म्याग्दीमा वृद्धाको बिजोग

म्याग्दी ७ पुस,।

भएको सम्पत्ति लोग्नेले बेचेर सकेपछि घरबारविहीन बनेकी म्याग्दीकी एक ८२ वर्षीया वृद्धा खाने अन्न र ओढ्ने कपडा नहुँदा अर्काको घरमा भोकै जाडोमा कठ्याङ्ग्रिएर रात र दिन कटाउन बाध्य भएकी छन् ।

म्याग्दीको बेनी नगरपालिका–४ खबरा, पिपलडाँडाकी ८२ वर्षीया इन्द्रकली भण्डारी बगरफाँट बाङ्गेरामा अरूको घरमा एक्लै, भोकभोकै र कपडाको अभावमा बाँच्न वाध्य भएकी  हुन् ।

१० वर्षअघि श्रीमान् प्रेमबहादुर भण्डारीले खबरामा रहेको सम्पूर्ण सम्पत्ति बेचेर सकेपछि घरबारविहीन हुनु भएकी भण्डारी ९ वर्षअघि श्रीमानकाे समेत मृत्यु भएपछि एक्लै अर्काको घरमा कोठी मागेर वसेकी छन्बर । भण्डारीले आफ्ना छोराछोरी र कतै आफन्त पनि नभएको बताइन् ।

बेनी नगरपालिका–४ बाङ्गेरामा लक्ष्मण बोगटीको घरको कोठीमा आश्रय लिएकी भण्डारी खाने खर्च नभएपछि पाँच दिनदेखि अरूले दिएको अन्न एक छाक मात्र खाएर बसेको बताइन् ।  “आज पाँच दिन भयो, एक छाक मात्र खाएर बसेकी छु, आफ्नो खेतबारी केही छैन, किनेर खाने पैसा पनि छैन, अरूले दया गरेर दिएको खानेकुरा फारु गरेर एक छाक मात्र खान्छु”, भण्डारीले भनिन् ।

वृद्धा भण्डारीले सहृदयी व्यक्ति र सङ्घसंस्थासँग जाडो कटाउनका लागि केही कपडा र खानेकुरा सहयोग गरिदिन समेत आग्रह गरिन् ।  “म बेसहारा छु, न सम्पत्ति छ, न आफन्त कोही छन्”, भण्डारीले गहभरि आँसु निकालेर भनिन्, “म बूढीलाई कसैले सहयोग गरे धेरै धेरै आशिष लाग्ने थियो ।” रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया