गम्भीर अपराधमा ‘खेलकर्मी’

काठमाडौँ २१ कतिक 

२०७० वैशाख ३० मा रविराज सिंह रंगशालामा पक्राउ पर्दा उनको पदीय हैसियत थियो नेपाल तेक्वान्दो संघका कोषाध्यक्ष । अनि पक्राउ पर्नुको कारण थियो जाली भारतीय रुपैयाँको कारोबार।

कुनै समय जमिम साहको सहयोगीका रूपमा स्पेसटाइम नेपालमा काम गरेका नुरु उल्लाह र पाकिस्तानी नागरिक सेख मोहम्मद १ करोड जाली भारुसहित पक्राउ परेपछि उनको नाम पोलिएको थियो । विमानस्थलमा सेखलाई लिन जाने क्रममा पक्राउ परेका नुरु उल्लाहले विशेष ब्युरोसँगको बयानमा रविराज सिंह, अनुराज प्रधान र सुनील रायमाझीको नाम लिएका थिए।

त्यो बेला जाली भारुसम्बन्धी अनुसन्धानका पोख्त एसएसपी सुबोध घिमिरे थिए । अपराधमा जोडिइरहने रविराज २ जना थिए । तस्बिर देखाउँदा नुरु उल्लाहले पहिचान गरेका व्यक्ति यिनै रविराज थिए ।

तत्काल पुर्पक्षका लागि थुनामा पुगेका उनी २ वर्षपछि निर्दोष देखिएको भन्दै अदालतको फैसलापछि २०७२ मा कारागारमुक्त भए । कारागारबाहिर आएलगत्तै उनको अपराधको यात्रा भने रोकिएन । कात्तिक १८ मा उनै सिंह श्रीलंकन नागरिकसँग मिलेर ल्यान्डलाइनको प्रयोग गरी अवैध रूपमा कलबाइपासमा संलग्न रहेको अभियोगमा पक्राउ परी अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

सिंहबारे अनुसन्धान गरिरहेका ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालका अनुसार उनले परिचितको नाममा सिंगापुरमा खाता खोलेको र सो खातामा दैनिक ५ देखि ७ लाख रुपैयाँसम्म जम्मा हुने गरेको अनुसन्धानमा देखिएको छ ।

गम्भीर अपराधमा तानिने खेलकर्मीमा सिंह पहिला व्यक्ति होइनन् । नेपाल इन्टरनेसनल तेक्वान्दो महासंघको नक्कली कार्ड र प्रमाणपत्र बनाएर मानवतस्करी गरेको अभियोगमा महासंघका उपाध्यक्ष तथा रब्बी संघका महासचिव चेतनराज गिरी पक्राउ परेका थिए । उनीमाथि ठगी अभियोग लागेपछि अहिले धरौटीमा कारागारबाहिर छन् ।

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा तत्कालीन राष्ट्रिय कप्तान सागर थापालगायत ५ खेलाडी विशेष अदालत धाइरहेका छन् । नेपाल कराते महासंघ महासचिव केदारबाबु सिवाकोटी राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका थिए ।

ब्युरोका प्रमुख सिलवाल खेलकुदमा निश्चित आयस्रोत नहुने तर सहजै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रभावशाली व्यक्तिसँगको सम्पर्कमा पुग्ने हुँदा आर्थिक उपार्जनका लागि खेल क्षेत्रका व्यक्ति गम्भीर अपराधमा लाग्ने गरेको बताउँछन् । ‘संगठित अपराधको उद्देश्य नै आर्थिक उपार्जनका लागि हो,’ उनले भने, ‘आर्थिक स्रोत निश्चित नहुँदा उनीहरू पद र प्रभावको दुरुपयोग गर्दै अपराधमा लागेका देखिन्छन्।’

गम्भीर अपराधमा उन्मुक्ति

अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउने नाममा गैरखेलाडीलाई खेलाडी बनाएर मानव तस्करी गरेको भन्दै खेलसँग सम्बन्धित विभिन्न संघका पदाधिकारी विवादमा तानिने गरेका थिए । अधिकांश मार्सल आर्टसँग सम्बन्धित संघहरू विवादमा तानिए पनि प्रहरीको अनुसन्धानको दायरामा नआउँदा आरोप अभियोगमा बदलिएन । प्रहरीले अनुसन्धान गरेका केही विषयका अभियुक्त अदालतसम्म पुगे, प्रहरी प्रवेश नगरेका गम्भीर प्रकृतिका घटनाको वास्तविकता बाहिर आएन ।

क्रिकेटको नक्कली खेलाडी बनाएर ९ जनालाई जापान लगेर उतै छाडेर मानव तस्करी गरिएको घटना सार्वजनिक भएको ३ महिना टेकिसकेको छ । खेलको आवरणमा मानव तस्करी भएको घटना सार्वजनिक भए पनि घटनाको अझै अनुसन्धान भएको छैन । राष्ट्रिय खेलकुद परिषद्ले अनुसन्धान गर्ने भने पनि के भइरहेको छ खुलेको छैन ।

जेठ २७ मा महानगरीय प्रहरी अपराध महाशाखाले गैरखेलाडीलाई नक्कली परिचयपत्र र प्रमाणपत्र बनाइदिएर विभिन्न देशमा पठाएको अभियोगमा नेपाल इन्टरनेसनल तेक्वान्दो महासंघका उपाध्यक्ष चेतनराज गिरी पक्राउ गरेपछि खेल अधिकारीको आडमा चलिरहेको मानवतस्करीको जालो सार्वजनिक भएको थियो ।

म्याग्दीका टेकप्रसाद लामगादे र दीपक सुनारलाई कोरिया पठाइदिने भन्दै ३ लाख ६० हजार लिएर ठगी गरेको आरोपमा पक्राउ परेका उनले राजेन्द्र दवाडीलाई नक्कली खेलाडी बनाएर बेलायत पठाउँदा बेलायती इमिग्रेसनले फिर्ता पठाएको खुल्यो । नेपाल रब्बी संघको महासचिव समेत रहेका उनी काठमाडौं जिल्ला अदालतले मागेको ८ लाख बुझाएर कारागारबाहिर छन् । उनी संलग्न संस्थाले निलम्बन गर्नुबाहेक उनको सम्बन्धमा परिषद् मौन बस्यो ।

राष्ट्रको प्रतिनिधित्व गर्दै खेलिएका अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा पैसा लिएर ‘म्याच फिक्सिङ’ गरेको अभियोगमा तत्कालीन राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलरक्षक रितेश थापा, थ्री स्टारका पूर्वखेलाडी विकाससिंह क्षत्री, पूर्वखेलाडी तथा प्रशिक्षक अञ्जन केसी विशेष अदालतबाट धरौटीमा छुटेर मुद्दा खेपिरहेका छन् ।

राष्ट्रको प्रतिनिधित्व गर्दै खेलिएका म्याच फिक्सिङमा राष्ट्रिय कप्तानसहित संलग्न रहेको घटना सार्वजनिक हुँदासमेत न अखिल नेपाल फुटबल संघका अधिकारी यो विषयमा प्रवेश गरे न परिषदका अधिकारी नै । अनुसन्धानका क्रममा प्रहरीले उनीहरूमाथि राज्यविरुद्धको अपराधको अभियोग लगाएको थियो । परिषद् र एन्फाका अधिकारीहरू खेलाडी जोगाउने कसरतमा भने लागेका थिए । राखेप र एन्फाले केही कारबाही नगरे पनि एएफसीले भने निलम्बन गर्‍यो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया