गर्मी बढेसँगै भाइरल ज्वरोका बिरामी बढे 

काठमाडौँ १३ चैत्र

पर्बत -गर्मीयाम शुरु भएसँगै पर्वतमा भाइरल  ज्वरोका बिरामी उच्च दरमा बढेका छन् । बदलिँदो मौसमका कारण भाइरलका बिरामी बढेको जिल्ला अस्पताल पर्वतले जानकारी दिएको छ । जिल्ला अस्पतालसँगै पर्वतका गाउँगाउँमा रहेका स्वास्थ्य संस्थामा समेत बिरामीको चाप बढेको हो ।    अहिले जिल्ला अस्पताल पर्वतमा दैनिकजसो १२० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अन्य समयमा ४० देखि ५० जनासम्म बिरामी आउने अस्पतालमा विगत एक सातादेखि तेब्बरको संख्यामा वृद्धि भएका छन् । त्यसमध्ये अधिकांश भाइरलका बिरामी रहेका छन् । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार केही समय अघिको तुलनामा यतिबेला तेब्बरको संख्यामा भाइरलका बिरामी बढेको बताइएको छ । भाइरलको प्रकोप बढी मात्रामा बालबालिकामा देखिएको छ । बालबालिकासँगै एकैघरमा चारपाँच जनाको संख्यामा उपचारका लागि आउने गरेको जिल्ला अस्पताल पर्वतका प्रमुख डाक्टर बुद्धिबहादुर थापाले जानकारी दिनुभयो । वृद्धवृद्धामा समेत यसको संक्रमण देखिएको छ ।

दूषित पानी र प्रदूषित हावाहुरीका कारण भाइरलको प्रकोप बढेको अस्पतालका डा थापाले जानकारी दिनुभयो । यसबाट बच्न दूषित खाना र खानेपानी प्रयोग नगर्ने र कारणवस संक्रमण देखिएमा तत्काल उपचारको विधि अपनाउन सुझाव दिएको डाक्टर थापाले बताए । पन्ध्र श्ययाको क्षमता रहेको अस्पतालमा अहिले वैकल्पिक बेडको व्यवस्था गरेर बिरामी भर्ना गरिएको छ । लामो समयको खडेरी र गर्मीका कारण छिटो बिरामी परिने भएकाले संख्या बढेको डा थापाले जानकारी दिनुभयो । गाउँगाउँमा पनि भाइरल ज्वरोका बिरामीको संख्या बढेको जानकारी आएपछि प्रत्येक स्वास्थ्य चौकीमा पर्याप्त औषधि र स्वास्थ्यकर्मीलाई चौबिसै घण्टा खटिन निर्देशन दिइएको छ ।

जिल्लाका अन्य निजी स्वास्थ्य क्लिनिकमा समेत भाइरलका बिरामीको संख्या बढेको जनाएका छन् । शुरुमा टाउको दुख्ने, जीउ दुख्ने, रुघा खोकी लाग्ने, छाती घ्यारघ्यार हुने, हाच्छिउ आउने र उच्च ज्वरो आएर परिक्षण गर्न आउने बिरामीको संख्या बढेको हो । लगातार टाउको दुख्ने, खोकी लाग्ने, छाती घ्यारघ्यार हुने, हाच्छिउँ आउने, उच्च ज्वरोलगायतका लक्षण देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा पुगेर उपचार गर्न डा थापाले सुझाव दिएका छन् । उनले यस्ता संक्रमण एकजना मानिसबाट अर्को मानिसमा सजिलै सर्ने हँुदा बेलैमा सचेत हुनुपर्नेमा जोड दिए । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया