गुलाफका बोटहरू (कविता)
– अशोक कुँवर ‘नेत्र’
घर नयाँ छ
घरको छतमा
लस्करै राखिएका छन्
गमलाहरू
गमलामा रोपिएका छन्
रङ्गीचङ्गी गुलाफ फुल्ने
गुलाफका बोटहरू ।
गुलाफका बोटहरू हुर्कँदै छन्
झाँगिँदै छन्
जरा,
हाँगा,
पात
आफ्ना प्रत्येक अङ्ग वृद्धि गर्दै
निरन्तर विकासमा
उँभो बढ्दै छन् ।
अचानक
गुलाफका बोटहरूमा रुग्णता आउँछ
निकै सकस पर्छ
¥युमोटोइट क्रोनिकले
कक्रक्क बनाए झैँ
तिनका जरा,
हाँगा,
रेसा रेसा
गतिहीन,
चालहीन हुन पुग्दछन् ।
घर मालिकले
उपकार गरे झैँ
त्यसमा पानी स्प्रे गर्छ
आयातित औषधी खन्याउँछ
कहिले हाँगा,
कहिले पात
सुमसुम्याउँछ ।
उत्साहको सगरमाथा उमार्ने गुलाफलाई
गमलामा बसाइँ सारिन्छ
अनि
आशा सँगाल्दा सँगाल्दै
गुलाफका बोटहरूले
गुमाउँछन् आफ्नो प्राण ।
गुलाफका पुर्खाहरू
कहिल्यै गमलामा खुम्चनु परेन
ऐठन सहनु परेन
यसरी मरिच झैँ चाउरिनु परेन
जमिनमा नै जरा गाडे
जमिनलाई नै आधार बनाए
जमिनसँगै अटुट सम्बन्ध गाँसेर
जमिनमै समाहित भए ।
घर मालिकले
गुलाफलाई फुलाउनु छ भने
बुझ्नै पर्छ
गुलाफका बोटहरू जमिनमै हुर्कन्छन्
जमिनमै सप्रन्छन्,
सुन्दर बनाउँछु
संरक्षण गर्छु भन्दै
गमलामा रोपेर्
भयङ्कर ऐठनमा पार्नु हुन्न,
स्वतन्त्र फुल्ने गुलाफलाई
जमिन नै प्रिय छ,
बगैँचामै रोप्नु पर्छ,
गमलामा फस्टाउन्नन्
गुलाफका बोटहरू ।
घर नयाँ छ
घरको छतमा
लस्करै राखिएका छन्–
गमलाहरू
गमलामा रोपिएका छन्
रङ्गीचङ्गी गुलाफ फुल्ने
गुलाफका बोटहरू ।
hamroashok@gmail.com
फेसबुकबाट तपाईको प्रतिक्रिया