गृहमन्त्री श्रेष्ठसँग जनताका अपेक्षा

– नन्दलाल खरेल
नक्कली शरणार्थी प्रकरणले मुलुक अहिले सडकदेखि सदनसम्म तातेको छ । नेपाली राजनीतिक वृत्तमा पराकम्पन (हलचल) गएको छ । पूर्व गृहमन्त्री, बहालवाला सचिव ‘हाई प्रोफाइलका’ व्यक्तिहरु सहित दर्जन व्यक्ति अहिले हिरासतमा छन् । भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहमा संलग्न ‘ठूलामाछा’ पनि कानूनको पन्जामा पर्न थालेका छन् । मानव तस्करले खाडी मुलुकदेखि अमेरिकासम्म पठाउने नाममा पटकपटक ठगी गरेको समाचार सुन्दै आएको थियो । तर अहिलेको ठगी अत्यन्तै निकृष्ट तथा डरलाग्दो छ । तस्करहरुले यतिसम्म गरेछन् कि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेछन् । यस्तो जघन्य अपराध गरेको देख्दा आम नेपालीहरु मर्माहत भएका छन् । गरिबी र शरणार्थी बनाएर अमेरिका, क्यानाडा, अष्टे«लिया, युरोपमा पठाउने जाल विछ्याएर करोडौं रकम असुलि गर्नेलाई कस्तो मुद्दा चल्छ वडो जिज्ञासका साथ हेरिएको छ । कसैको डरधाक र प्रभावमा नपरी अनुसन्धान हुनुपर्छ र दोषीलाई कडा कारवाही हुनुपर्छ भन्ने आम जनताको चाहाना छ ।
नक्कली शरणार्थी बनाएर लैजाने किसिमको कार्य भ्रष्टाचार हो । यो समान्य भ्रष्टाचार मात्रै नभएर संगठित अपराध हो । अझत्यो भन्दा पनि राष्ट्रिय अस्मिता समेत जोडिएकोले राज्य विरुद्धको अपराधहो । यस्तो अपराधमा हदैसम्मको सजाय हुनुपर्छ भन्ने आम जनताको चाहाना छ । राज्य सयन्त्रले कानून बमोजिम अनुसन्धान गर्न दिनुपर्छ । यो अनुसन्धानमा कुनैपनि हस्तक्षेप हुनुहुँदैन । यस विषयमा नेपाल प्रहरीका पूर्व अधिकारीहरु नै बढी संशय व्यक्त गरिरहेका छन् । जनताले पनि प्रसस्त आशंका व्यक्त गरेका छन् दोषीलाई कारवाही गर्ने कुरामा । पछि के होला भन्न सकिन्न तर प्रहरीले अहिलेसम्म गरिरहेको अनुसन्धान प्रशंसनिय छ । प्रहरीलाई यस्तो बेला उत्साही बनाउनु पर्छ । त्यतिमात्र होइन प्रहरीहरुको संरक्षणको कार्य पनिगृह मन्त्रालयले गर्नुपर्छ । कुनै व्यक्तिलाई जोगाउने काम कहिकतैबाट हुनुहुँदैन ।
नक्कली शरणार्थी प्रकरण उत्कर्षमा भएको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार अन्त्यका लागि नयाँ लडाइँ सुरु भएको बताएका छन् । भ्रष्टाचार अन्त्य नभएसम्म नागरिकले सुख, शान्ति प्राप्त गर्न नसक्ने, सुशासन कायम नहुने प्रचण्डको जोड छ । पुष्पकमल दाहाल‘प्रचण्ड’ को नेतृत्वमा बनेको गठबन्धन सरकारले अहिलेकै अवस्थामा भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाउन सक्ला? यो आम जनताको जिज्ञासा हो । परिवर्तित समयमा प्रधानमन्त्री प्रचण्डको समर्थन र विरोधमा रहेका दुवैथरी राजनीतिक शक्तिको चासो भ्रष्टाचार निर्मूल पार्ने अभियानमा केन्द्रीत रहनु पर्छ । पछिल्लो समयमा प्रधानमन्त्री प्रचण्ड भ्रष्टाचार विरुद्ध निकै जुरमुराएका देखिन्छन् । अन्य शीर्ष नेताहरुमा जस्तो हताशा प्रचण्डमा देखिएको छैन । वर्तमान सरकारले सत्ताका सहयात्रीहरुलाई बचाउने कोशिस गर्नु हुँदैन । बरु सत्ता नै छोड्नु किन नपरोस तर निष्पक्ष ढंगले कुनै दवाव नदिई प्रहरीलाई छानबीन गर्न दिनु पर्दछ । यति सानो देशमा भ्रष्टाचारका कारण थिलथिलो भएको अवस्थामा जनतालाई निराशा हुनबाट बचाउनु पर्दछ ।
मुलुक अहिले भ्रष्टाचारबाट आक्रान्त छ । जहाँ हे¥यो त्यहि भ्रष्टाचारको जालो बुनिएको देखिन्छ । भ्रष्टाचार र भ्रष्टाचारी कुनै पनि राष्ट्रको समग्र समस्यामा ‘भाइरस’ हुन्, जुन कुरालाई पृथ्वीनारायण शाहले उहिल्यै अपराधिको संज्ञा दिइसकेका छन् । उनले मुलतः घुस लिने र दिने दुवै राष्ट्रका सत्रु हुन भनेका थिए । अहिले नक्कली भुटानी शरणार्थीको प्रकरण अमेरिकामा गएर बस्ने आफ्नो नागरिक त्याग गरेर पैसा कमाउन जानको लागि ठूलो रकम तिर्ने व्यक्तिहरु पनि भ्रष्टाचारी हुन् । उनीहरुको पनि यहाँ दोष देखिएको छ । तर अहिले उनीहरुको खासै चर्चा गरिएको छैन । राणाकालदेखि पञ्चायत कालहुँदै लोकतान्त्रिक संघीय गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दा पनि एकपछि अर्को गर्दै मुलुकमा भ्रष्टाचार संस्थागत रुपमा वृद्धि भइरहेको छ । नेपालमा बर्सेनि भ्रष्टाचार बढिरहेको तथ्यलाई भ्रष्टाचार विरोधी अन्तराष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गर्दै आइरहेको छ । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वको मिलीभगतमा भ्रष्टाचार बढेको देखिन्छ । मन्त्रीलाई भ्रष्टाचारी बन्न उत्पे्ररित गर्ने र सहयोग गर्ने सचिवहरुको हो । तर यहि मन्त्रीहरु इमानदार बन्ने हो भने सचिवहरुलाई भ्रष्टाचार गर्न पक्कै कठिनहुन्छ । त्यसैगरी सचिवहरु प्नि इमानदार र नैतिकवान बन्न सके मन्त्रीहरुलाई पनि भ्रष्टाचार गर्न कठिन पर्छ । यी दुवैथरी मिलेर भ्रष्टाचार गरेपछि त्यसमूनिका कर्मचारी पछि पर्दैनन् केही अपवाद बाहेक ।
मुलुकमा थुप्रै राजनीतिक परिवर्तनहरु (लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशिता) भइरहँदापनि अस्थिरताको दुश्चक्रमा नेपाली राजनीति रुमल्लिएको छ । लोकतन्त्रलाई विधिको शासनको रुपमा लिइन्छ तर यहाँ अलोकतान्त्रिक (अस्थिरता, निरंकुशता, अशान्ति, जालझेल, घात–अन्तर्घात, भ्रष्टाचार, द्वन्द्व) हर्कतहरुको व्यारोमिटर उच्च छ । राजनीतिक दलहरुको दर्शन, सिद्धान्त एकातिर छ भने व्यवहार नैतिकता, जवाफदेहिता राजनीतिक संस्कारबाट कोसौं टाढा छ । लोकतन्त्र भनेको लोक कल्याण हो । तर आज मुट्ठीभर जनताको मात्र कल्याण भएको छ । लोकतान्त्रिक पद्धतिको केन्द्रमा आम जनता होइन ठूला कर्पोरेटर, दलाल, साहु माजन, माफिया र विचौलिायकै हालीमुहाली छ । राज्यको प्रायः सबै तह र अंगमा कमिशनतन्त्र र भाग लगाएर खाने संस्कृति अनुमोदित भइरहेको प्रष्टै देखिन्छ । रुपबाट हेर्दा मुलुकमा कानूनको शासन, पे्रस स्वतन्त्रता, आवधिक निर्वाचनप्रति पक्षको सम्मान सबैथोक छ । समाज सरल ढंगले चलिरहेकैझै लाग्छ तर गहिरिएर हेर्दा अर्थात समाजको भित्री जिवन अर्कै छ । जो लोकतान्त्रिक पद्धतिसँग मेल खाँदैन । औपचारिक अर्थमा कानून, व्यवस्था एउटा छ वास्तविकता जीवन अर्कै ढंगले चलिरहेको छ ।
मुलुकमा अहिले फस्टाएको व्यवसायमा नव निर्यात हो । विश्वका धेरै देशहरुले वस्तु तथा सेवा निर्यात गरेर विदेशी मुद्रा आर्जन गरी सम्पन्न भएका छन् । मानव निर्यात गरेर आएको रेमिट्यान्सबाट मुलुक चलाउनु हाम्रो लागि दुर्भाग्य हो । मानव निर्यात व्यवसाय फस्टाउनुको मुख्य कारण यस धन्धामा लगानी जरुरी छैन । उल्टै रोजगार खोज्ने मानिस घरजग्गा बेचेर भएपनि नगद बोकेर आफै आइपुग्छ । लगानी नै नभएपछि जोखिम पनि हुने कुरा भएन । बिना जोखिम पैसा कमाउन पाएपछि जोखिम हुने उद्योग–धन्धा गरेर कमाउन तिर लाग्ने कुरा पनि भएन । यो अहिलको हाम्रो देशको यथार्थ चित्र हो । तसर्थ राज्य निकायमा बस्ने नेतृत्वले देशलाई रेमिट्यान्समुखी र उपभोगमुखी चरित्रमा बदलाव ल्याउन सक्नुपर्छ । अर्थात देशलाई उत्पादनमुखी र रोजगारमुखी बनाउन सक्नुपर्छ । तवमात्र स्थायी समाधान आउन सक्छ । नत्र मानव निर्यात व्यवसायले अनेकौं समस्या निम्त्याउन सक्छ ।
आम जनताले अहिलेको गृहमन्त्रीसँग निकै आशा गरेका छन् । उनीहरुको के बुझाइ छ भने गृहले निष्पक्ष ढंगले कामकारवाही ग¥यो भने दोषी उम्कन सक्दैन भन्ने छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकामा पठाउने भनेर ठगी गर्ने गिरोहको सबै नेक्ससलाई कारवाहीको दायरामा ल्याइने बताएका छन् । उनले भनेकाछन् ।“निर्दोष कुनै पनिहालतमा पर्ने छैनन्, दोषी कुनै पनि हालतमा छुट्ने छैनन् ।” यो कार्यमा सामान्य भ्रष्टाचार मात्रै नभएर संगठित अपराध भएको र अझ त्यो भन्दाबढी यो राज्यविरुद्ध कै अपराध भएको उनको बुझाई छ । शरणर्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’बाट आफूले दह्रो साथ र आड भरोसा पाएको बनाएका छन् । हेरौंउनले यो प्रकरणलाई कसरी बढाउछन् । आशा छ उनले दोषी सबैलाई उम्कन दिंदैनन र कानूनको कठघरामा ल्याउने छन् ।
कांगे्रस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई शरणार्थीका नाममा भएको ठगी प्रकरणमा प्रहरीले पक्राउ गरिसक्दा समेत पार्टीले आन्तरिक कारवाही गरेको छैन । एमाले नेता टोपबहादुर अहिलेसम्म फरार छन् । चौतर्फी विरोध भएपछि पार्टीले उनलाई निलम्बीत गरेको छ । तर कांगे्रस पार्टीले भने खाणलाई अहिलेसम्म कुनै आन्तरिक कारवाही गरेको छैन । जवकि पार्टीभित्र उनलाई जिम्मेवारी बाट निलम्बन गरेर अनुसन्धानमा सघाउनुपर्ने जोडदार आवाज उठिरहेको छ । पार्टीले आँखा चिम्लेर ठगी गर्नेप्रति कारवाही नगर्ने हो भने पार्टी समेत संलग्न रहेको पुष्टि हुन्छ । त्यसकारण गल्ती गर्ने जोसुकै भएपनि पार्टीले कारवाही गर्नु पर्दछ । यो प्रकरणले अन्तर्राष्ट्रिय जगत सामु देशको छवीधुलीसात बनाएको छ । त्यसैले यसमा यो वात्यो पार्टीका नेता या कार्यकर्ता भनेर हेरिनु हुँदैन । जो जो संलग्न छन् तिनलाई छाड्नु या उन्मुक्ति कदापी दिनु हुँदैन । तर आफ्नो पार्टी रआफ्ना मान्छे भनेर ढाकछोप गर्ने, सामसुम गर्ने प्रयास गरियो भने यसले पार्टी जीवनलाई ध्वस्त पार्न र नेपाली समाजमा पार्टीहरु माथि व्याप्त अविश्वासलाई थप मलजल गर्न सक्छ । पार्टीका शिर्ष नेताहरुले यसप्रति गम्भीर बन्न जरुरी छ ।
मुलुकमा हिजोका दिनमापनि थुपै्र भ्रष्टाचारका काण्डहरु घटेका थिए । बाईडबडी काण्ड, बालुवाटार काण्ड, सुनकाण्ड, लाउडाकाण्ड, सुडानकाण्ड, ओमी काण्ड, धमिजाकाण्ड, आदिअािद । तर धेरै काण्डहरु सामसुम भए भने सुडान घोटालामा आईजीपीहरुले डेढ वर्ष जेल बसे । यसमा राजनीतिक नेतृत्वको संलग्नता थिएन? पक्कै थियो । राजनीतिक प्रभावका कारण त्यसलाई सामसुम पारियो । अवको सन्दर्भमा ती कुराहरु दोहोरिनु हुँदैन । अहिलेको यस ठगी प्रकरणको विषयलाई लिएर अन्तर्राष्ट्रिय जगतले समेत चासो दिएको छ । विभिन्न समाचारहरु प्रसारण गरेको छ । यस्तो अवस्थामा राज्यका निकायहरुबाट तयार भएका कागजातलाई पनि उनीहरुले विश्वास गरिहाल्ने संशय उत्पन्न भएको छ । यस अघि पुर्नर्वासमा गैसकेका भुटानी शरणार्थीहरुमध्ये पनिकतिनक्कली त थिएनन् भन्ने अर्को आशंका खडा भएको छ ।
अन्त्यमा, नक्कली शरणार्थी प्रकरण राष्ट्रकै लागि अत्यन्त लज्जाको विषय हो । यसले आम जनतालाई थप निराशा बनाएको छ । यो काण्डमा दाहाल,देउवा,ओली र नारायणकाजीले विषयान्तर नगरी आफ्नो स्वार्थ नहेरी प्रहरीलाई अनुसन्धान गर्न सघाउनु पर्छ । अन्य भ्रष्टाचारका फाइलहरु प्नि क्रमशःखोल्नु पर्छ । अहिले जुनगतिमा सरकारले तदारुकता देखाएको छ त्यो एकदमै प्रसंशनिय छ । निष्पक्ष र निडर भएर भुटानी शरणार्थी काण्डमा मुछिएकाहरुको अनुसन्धान भयो भने अहिलेको सरकारले जनताको विश्वास पनि पाउछ । आशा गरौं विगतको जस्तो दोषीहरुलाई उन्मुक्ति हुने छैन ।
खरेल अर्थराजनीतिक विश्लेषक हुन् ।

प्रकासित मिति २०८०–२–८

फेसबुकबाट तपाईको प्रतिक्रिया