घटनाको सत्यतथ्य पत्ता लगाउन निर्देशन

काठमाडौँ ८ असार-

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले अफगानिस्तानमा गत असार ६ गते भएको आत्मघाती आक्रमणमा परेर मृत्यु भएका नेपाली मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेहरुको उपचार गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।समितिको आजको बैठकले नेपाली सवार बसमाथि भएको आक्रमणमा मृत्यु हुनेहरुलाई हार्दिक श्रद्धाजलि अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

उक्त आपराधिक आतकङ्कारी घटनाको भत्र्सना गर्दै बैठकले खेद प्रस्ताव पारित गरेको छ ।बैठकले मृत्यु भएकाहरुको शव तत्काल नेपाल ल्याउन हवाईजहाज पठाएकामा सरकारलाई धन्यवाद ज्ञापन गर्दै उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएको छ ।

अफगानिस्तानलगायत द्वन्द्वग्रस्त मुलुकबाट नेपाल फर्कन चाहने नेपालीलाई तत्काल फर्काउने व्यवस्था मिलाउन बैठकले सरकारलाई निर्देशन दिएको छ ।श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जान नपाउने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न र श्रम स्वीकृति नलिइ अफगानिस्तानलगायतका मुलुकमा गैरकानुनीरुपमा कामदार पठाउने वा पठाउनमा संलग्न म्यानपावर कम्पनी, तस्कर, दलाल र कन्सल्टेन्सीलाई कडा कारबाही गर्न सरकार र श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकले भारतलगायत अन्य देशका विमानस्थल प्रयोग गरी गैरकानुनी रुपमा तेस्रो मुलुक जाने नेपालीलाई सम्बन्धित देशका सरकारसँग प्रभावकारी कुटनीतिक पहल गरी रोक्न परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।समितिको आजको बैठकमा बोल्ने सांसदहरुले द्वन्द्वग्रस्तमुलुक अफगानिस्तानमा रोजगारीका लागि खुला गर्ने सरकारी निर्णयकै कारण अहिलको दुःखद घटना भएको टिप्पणी गरे ।

उनीहरुले मृत्यु भएकाहरुलाई उचित क्षतिपूर्ति परिवारलाई रोजगारी तथा छोराछोरीलाई निःशुल्क शिक्षाको व्यवस्था गरिनुपर्ने, द्वन्द्वग्रस्त मुलुकमा रोजगारीका लागि बन्द गरिनुपर्ने, त्यहाँ रहेका नेपालीहरुको उद्धार गर्नुपर्ने, अवैधानिक बाटोबाट पठाउने संस्था र व्यक्तिलाई कडा कारबाही गर्नुपर्ने, म्यानपावरको सङ्ख्या घटाउनुपर्नेलगायतका सुझाव दिएका थिए ।

बैठकमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले घटनामा १२ नेपालीको मत्यु सात घाइते भएको तथा तीमध्ये एक नेपालीको अवस्था चिन्ताजनक रहेको जानकारी दिए।श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले आर्थिक वर्ष २०६२÷६३ मा अफगानिस्तानको निश्चित क्षेत्रमा रोजगारीका लागि खुला गरिएयता पनि हालसम्म वैधानिक ढङ्गबाट आठ हजार ६१४ जना नेपाली रोजगारीका लागि वैधानिक ढङ्गबाट अफगानिस्तान गएको जानकारी दिए। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया