घट्यो तरलता, ब्याजदर बढ्ने संकेत

काठमाडौं २८ फागुन २०७७।

लामो समयदेखि वित्तीय प्रणालीमा रहेको अधिक तरलता (लगानीयोग्य रकम) मा कमी आउन थालेको छ । मुलुकको आर्थिक गतिविधि लयमा फर्किन थालेपछि कर्जा माग (प्रवाह) बढेको र सो अनुपातमा निक्षेप संकलन (स्रोत) बढ्न नसक्दा तरलतामा कमी आएको जानकारहरू बताउँछन् ।

राष्ट्र बैंकका अनुसार बुधबारसम्म वित्तीय प्रणालीमा ३४ अर्ब रुपैयाँ अधिक तरलता छ । तरलता व्यवस्थापन गर्ने क्रममा करिब साढे ९ अर्ब रुपैयाँ राष्ट्र बैंकले बजारबाट तानेको छ । उक्त रकम पनि जोड्दा हाल वित्तीय प्रणालीमा करिब साढे ४३ अर्ब रुपैयाँ अधिक तरलता छ । दुई महिनाअघिको तुलनामा यो निकै कम हो । गत चैत यताका प्रायः महिनामा अधिक तरलता डेढ देखि २ खर्बको हाराहारीमा थियो ।

चालु आर्थिक वर्षका प्रायः महिना बैंक तथा वित्तीय संस्थाले अधिक तरलताको मार खेप्नुपर्‍यो । गत चैतमा सरकारले लककडाउन सुरु गरेपछिका करिब पाँच महिना ९चैत अन्तिमदेखि भदौसम्म० कर्जा प्रवाह ठप्प नै रह्यो । भदौ अन्तिम साताबाट बिस्तारै बढ्न थालेको कर्जा प्रवाह हाल पुरानै लयमा फर्किएको छ । रेमिट्यान्स आप्रवाह अपेक्षित रूपमा नघटेको, आयात बढेको, कर्जा माग बढेकोलगायत कारण वित्तीय प्रणालीमा रहेको अधिक तरलतामा कमी आएको जानकारहरू बताउँछन् ।

अधिक तरलतामा कमी हुन थालेपछि वित्तीय प्रणालीमा ब्याजदर वृद्धिको चर्चा चल्न थालेको छ । केही बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपको ब्याज बढाइसकेका छन् भने केहीले बढाउन गृहकार्य गरिरहेका छन् । पछिल्लो एक सातायता अन्तरबैंक ब्याजदर एक्कासि बढेर ३ प्रतिशत पुग्नु पनि तरलता संकुचनको बलियो प्रमाण भएको जानकारहरू बताउँछन् । अन्तर बैंक कारोबार ९बैंकहरूबीचको सापटी० वित्तीय प्रणालीमा तरलताको अवस्था मापन गर्ने महत्त्वपूर्ण औजार हो ।

अन्तरबैंक ब्याजदर धेरै हुँदा तरलता संकुचन र कम हुँदा अधिक तरलता धेरै रहेको बुझिन्छ । यसअघि लामो समय तरलता अधिक रहेकाले अन्तर बैंक ब्याजदर १ प्रतिशतभन्दा कम थियो । यही फागुन १६ सम्म पनि भारित औसत अन्तरबैंक दर ०।५ प्रतिशतभन्दा कम रहेको राष्ट्र बैंकको तथ्यांक छ । त्यसपछि मात्र सो ब्याजदर बढ्न थालेको हो । गत बुधबारसम्म अन्तर बैंक ब्याजदर करिब ३ प्रतिशत पुगेको छ । ब्याजदरसँगै अन्तरबैंक कारोबार पनि बढेको छ । जसअनुसार गत बुधबार वाणिज्य बैंकबीच करिब २५ अर्ब रुपैयाँ बराबरको अन्तरबैंक कारोबार भएको छ । ‘चालु आर्थिक वर्षभर नै अन्तर बैंक ब्याजदर ०।५ प्रतिशतभन्दा कम थियो,’ स्रोतले भन्यो, ‘पछिल्ला चाररपाँच दिनमा यो दर एक्कासि बढेर ३ प्रतिशत पुग्यो । यसले पनि अब छिट्टै ब्याजदर बढ्ने देखाउँछ ।’

पछिल्लो सातामा वित्तीय प्रणालीमा अधिक तरलता धेरैले घट्ने र अन्तरबैंक दर एक्कासि बढ्नुलाई नबिल बैंकमा रहेको काठमाडौं महानगरपालिकाको निक्षेपलाई पनि मानिएको छ । स्रोतका अनुसार यो साता काठमाडौं महानगरपालिकाले नबिल बैंकमा रहेको आफ्नो खाताबाट मात्र करिब साढे ८ अर्ब रुपैयाँ झिकेर राष्ट्र बैंकमा जम्मा गरको छ । सरकारी पैसा निजी बैंकमा राखेर ब्याज आर्जन गरिरहेको भन्दै महालेखाले पहिलेदेखि नै आँखा लगाउने गरेको थियो । सोही कारण महानगरले नबिल बैंकबाट रकम झिकेर राष्ट्र बैंकमा जम्मा गरेको स्रोतले बताएको छ । यही कारण पनि तरलतामा एक्कासि कमी आएको जानकारहरू बताउँछन् ।कान्तिपुर दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया