घिमिरेको उपन्यास ‘मौनता’ विमोचन
विजनेशपाटी ३० श्रावण
लेखक सुमन घिमिरेद्वारा लिखित पहिलो उपन्यास ‘मौनता’ आज विमोचन गरिएको छ। गोरखा पब्लिकेसनले बजारमा ल्याएको उक्त पुस्तकको विमोचन पत्रकार किशोर नेपाल, लेखक तथा समीक्षक उदय अधिकारी र कुमारी लामाले संयुक्त रुपमा गरे। विदेशिएका युवा र उनीहरुको पारिवारिक सम्बन्धमा आउने उतारचढावलाई मुख्य विषयवस्तु बनाएर लेखिएको उक्त पुस्तकले अहिलेको जल्दोबल्दो समस्यालाई उठाउन खोजेको लेखक घिमिरेले बताए।
पत्रकार नेपालले पाण्डुलिपि आफूले पढ्दा नै उक्त पुस्तकले लोकप्रियता हासिल गर्नेछ भन्नेमा ढुक्क भएको बताए। लेखक अधिकारीले उक्त पुस्तकले अनुभूति प्रदान गर्न सफल रहेको बताउँदै पढ्दै जाँदा नयाँ रहस्य खोल्दै जाने भएकाले पुस्तक अत्यन्त रोमाञ्चक रहेको बताए। अर्का लेखक लामाले भने उपन्यासभित्र महिला पात्रलाई कमजोर र पुरुष पात्रलाई बलियो रुपमा देखाउन खोजेकोप्रति असन्तुष्टि व्यक्त गरिन्। गोरखा पब्लिकेसनका प्रमुख लोकमणि पौडेलले नेपाली पुस्तक पनि अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यले आफ्नो पब्लिकेसन स्थापना गरिएको जानकारी दिँदै नेपाली प्रकाशनको स्तरबाट विदेशीसमेत प्रभावित होउन् भन्ने आफ्नो चाहना रहेको बताए। विवाहेतर स्वार्थ केन्द्रित प्रेम, आदर्शभित्र लुकेको दुश्चरित्र, लोग्नेबाट प्रताडित पत्नी, गाउँ र देशबाट पलायन भइरहेका युवाका नकारात्मक पक्षदेखि बाबुले छोरालाई गरेको प्रेम, लोग्नेको उच्चतम आदर्श, केटाकेटी बीचको आत्मिक प्रेमजस्ता विषय उपन्यासमा उनिएका छन्। उपन्यासको मूल्य ३३५ रुपैयाँ राखिएको छ। रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया