घोराहीमा गहना चोरी गर्ने गिरोह पक्राउ

काठमाडौं, फागुन २२, २०८१ । घोराही उपमहानगरपालिकामा गहना चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । फागुन १५ मा वडा नम्बर १ हर्नौककी गीता पुन वलीको घरबाट गहना र नगद चोरी भएको थियो। यसरी पुनको घरबाट गहना र पैसा चोरी गर्ने, त्यो गहना बिक्री गर्ने र किन्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
चोरी कार्यमा संलग्न सबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी अनुसन्धानका क्रममा स्थानीय प्रदीप भनिने विज्ञान घर्तीलाई सुरूमा पक्राउ गरिएको थियो । उनले बयानमा गीताको घरबाट गहना र नगद चोरीको स्वीकार गरेको बयान दिए दिएपछि प्रहरीले थप प्रमाण संकलन गरेको हो । प्रहरीले उनलाई हिजो (बुधबार) घोराही उपमहानगर १७ सिस्नेखोला सडकखण्डबाट नियन्त्रणमा लिएको थियो।
चोरी पश्चात् ती सुनका गरगहना घोराही बजारमा लगेर विक्री गरेका थिए। गहना बेच्न घोराही १५ काठेकोहलका ३२ वर्षीय विक्रम चौधरी र उनकी २५ वर्षीया श्रीमती प्रतीक्षा केसीले सघाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
सहयोगी चौधरी दम्पतीले घोराही १५ भीमसेनटोलका सुनका गरगहना बनाउने कालीगढको काम गर्ने ४१ वर्षीय सदन सुनारलाई ती गरगहना बेचेको पाइएको छ। त्यसपछि प्रहरीले यी चारै जनालाई पक्राउ गरी आज (बिहीबार) सार्वजनिक गरेको हो।
चौधरी दम्पतीको कोठा खानतलासी गर्ने क्रममा प्रहरीले दुई लाख २२ हजार ६ सय ६५ रुपैयाँ नगद र पहेलो धातुको माइली तिलहरी बरामद गरेको छ ।
यसैक्रममा प्रहरीले सुनका गहना किन्ने सदन सुनारको घर पनि खानतलासी गरेको थियो । सोही क्रममा त्यहाबाट सुनको टप दुइटा, सुनको औंठी एउटा, सुनको माइली तिलहरी एउटा बरामद गरेको छ ।
चोरी कार्यमा संलग्न चारैजनालाई चोरी शीर्षकमा मुद्दा चलाई कानुनी कारबाही गर्ने तयारी गरिएको प्रहरीको भनाइ छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया