चन्द्रागिरि हिल्स : पर्यटकीय उद्यमको नमुना उदाहरण
रिसव गौतम
धार्मिक महत्वको चन्द्रगिरि पहाड यतिवेला ‘चन्द्रागिरि हिल्स’को नाममा आर्कषक पर्यटकीय गन्तब्यको रुपमा परिचय बनाउँदैछ । समाचारमा आए अनुसार झण्डै ५ अर्ब लगानीमा पर्यटकीय गन्तब्यको रुपमा विकास गरिएको यस आयोजना अहिले तातो बहस र चर्चामा छ । स्वस्थानी कथामा सतिदेवीको भाल पतन भएको र राष्ट्र एकीकरणका पिता पृथ्वीनारायण शाहले पहिलो पटक काठमाण्डौ देखेको जस्ता पौराणिक धार्मिक तथ्य चन्द्रगिरि पहाडले बोकेको छ । ती विशेषताहरु समेटेको पहाड साँच्चै यतिवेला एउटा पर्यटकीय गन्तब्य बनेको देखिन्छ ।
समुन्द्री सतहबाट झण्डै ३ हजार ८ सय मिटर उचाइमा रहेको चन्द्रागिरि हिल्स खासगरी काठमाण्डौ केन्द्रित पर्यटकहरुका लागि उत्तम गन्तब्य हो । हाल यस आयोजनालाई लिएर कतिपय वृत्तमा नकारात्मक टिप्पणी भएपनि नेपालको पर्यटकीय विकासको हिसावले यो एउटा नमुना उदाहरणीय थालनी हो । राज्यले नीजि क्षेत्रको सक्रियतामा पर्यटन क्षेत्रको विकास गर्ने लक्ष्य लिएको कारण यस्ता आयोजना अरु धेरै बनाउनु पर्ने आवश्यकता देखिन्छ । राजधानी नजिकैको थानकोटबाट करिव १५ मिनेट केवुलकार यात्रामा चन्द्रागिरि हिल्स पुग्न सकिन्छ । त्यस हिसावले पनि पर्यटनको यस गन्तब्य वाह्य मात्र नभएर आन्तरिक पर्यटनको मजबुत गन्तब्य बन्ने देखिन्छ । हालैको एक सोमबार पंक्तिकार समेतले पाइला टेकेको त्यो रमणीय एवं पवित्रभुमी वास्तम्बमै स्वर्गीय आनन्द दिलाउने प्रकारको छ । अत्यन्त उचाइमा रहेको प्रकृतिको त्यो हंसमुख ठाउँबाट उत्तरतिरका सबैजसो हिमाल आँखै अगाडी झलल टल्की रहेका देखिन्छन् । राजधानीको धुलो–मैलोको सास्तीबाट केही क्षण भएपनि पार पाउन र घाम लागेका पलहरुमा अत्यन्त स्वच्व प्राकृतिक मनोरम दृश्यहरुमा रमाउन चन्द्रागिरि उत्तम गन्तब्य हुन्छ । यस गतन्ब्य नियाली रहँदा जिउँदै स्वर्ग पुगिएको भन्ने जस्ता वाक्य धेरै निकालेका हुन्छन् । कारण त्यहाँको हरियो वन, त्यो उचाइ र प्राकृतिक मनोरम दृश्यले । चन्द्रागिरि पहाडको उचाइमा रहेको भोलेश्वर महादेवको दर्शन गर्ने पाउने गरि बनाइएका पार्क, सुविधा सम्पन्न होटल, रेष्टुरेन्टहरुले धेरै विदेशी पाहुनाहरुलाई पर्खिरहेका जस्ता देखिन्छन । त्यती मात्रै नभएर सभा, सम्मेलन र वैठक समेत गर्न मिल्नेगरी चन्दागिरि हिल्स प्रालिले त्यहाँ संरचना तयार गरेको छ ।
०७३ साललाई आन्तरिक पर्यटन बर्ष मनाउने घोषणा सरकारले गरेको हो । ०७३ सालबाटै सञ्चालनमा आएको यस आयोजना आन्तरिक पर्यटनको पहूँचयोग्य गन्तब्य हो । नीजि क्षेत्रको आइएमई गु्रपद्धारा ठुलो धनराशी खर्च गरि जोखिमकासाथ सञ्चालनमा ल्याइएको यस आयोजना अत्यन्त नविनतम सोचको उदाहरण पनि हो । यस्तो सोच र लगानीलाई सरकारले सधै प्रोत्साहन गर्न आवश्यक देखिन्छ । किनकी नेपाल विश्वका ख्यातीप्राप्त संस्थाहरुले प्रकासित गर्ने रिर्पोटहरुमा संसारकै १० नम्बर भित्रको आर्कषक गन्तब्यमा पर्छ । त्यसकारण नेपालमा पर्यटकीय सम्भावना अधिक छ । पर्यटकीय सम्भावना अधिक भएपनि पर्यटन गन्तब्यहरु पर्यटनमैत्री बनाउन नसक्दा नेपालले यस क्षेत्रबाट आवश्यक लाभ लिन सकेको अवस्था छैन । तर पर्यटन क्षेत्रमा ठुलो मात्रामा लगानीको खाँचो रहेको छ । त्यो खाँचो नीजि क्षेत्रले मात्र पुरा गर्न सक्छ ।
मानौ आइएमइ गु्रपले चन्द्रागिरिमा लगानी नगरेर सो ५ अर्ब रकम विदेश लैजाने हो भने के हुन्थ्यो ? । विदेशमा हुने लगानीले त नेपालीको हित अवश्य हुन्नथ्यो । अहिले चन्द्रागिरि पर्यटकीय गन्तब्य बनाएर आइएमई गु्रपले हजारौ रोजगारी सिर्जना गरेको छ । राजधानीकै समिप्यमा रहेपनि ओझेलमा रहेको थानकोट क्षेत्र वरपर निकै ठुलो आर्कषणको केन्द्र बनेको देखिन्छ । ओइलिएका स्थानीयहरुको मुहारमा हाँसो छाएको देखिन्छ । औसतमा १४ दिनको नेपाल बसाइ अवधि रहेका विदेशी पर्यटकहरु थप केही दिन बस्ने आधार राजधानी नजिकैको यस गन्तब्यले दिएकोे छ । त्यसैगरी औषत दैनिक ७० डलर खर्च गर्दै आएका पर्यटकहरुको खर्चमा पनि केही वृद्धि हुनसक्ने सम्भावना यसले बढाएकोे छ । त्यसकारण चन्द्रागिरी हिल्स निजी क्षेत्रले पर्यटन क्षेत्रमा देखाएको आशाप्रद लगानीको सुरुवात हो । जुन सुरुवातले भोलीको दिनमा यसैगरी देशका कुना कुनामा ब्यापकता पाउने हो भने नेपालमा पर्यटक आगमन र यस क्षेत्रको आम्दानी निकै उच्च दरमा वृद्धि हुन सक्दछ । त्यसकारण पनि चन्द्रागिरी हिल्स आयोजना नेपालको लागि उदाहरणीय नमुना आयोजना हो । सरकारले यस्ता आयोजनालाई व्यापकता दिन जरुरी देखिन्छ ।
हलका बर्षहरुमा नेपालमा औषत ७ लाख पर्यटकहरु भित्रि रहेका छन । तर आवश्यक पर्यटकीय भौतिक पुर्वाधारको अभाव र पर्यटन होटल तथा लजको अभावमा पर्यटन क्षेत्र खुम्चिरहेको छ । फलस्वरुप पर्यटन क्षेत्रले हालका बर्षहरुमा कुल ग्राहस्थ उत्पादनमा जम्माजम्मी ३ प्रतिशत मात्र योगदान राखेको देखिन्छ । यो दर वृद्धि गर्न र सन् २०२५ सम्ममा बार्षिक २५ लाख पर्यटक भित्राउने सरकारको लक्ष्य हासिल गर्न यस्ता आयोजना अरु धेरै बनाइनु पर्ने आवश्यकता छ । यस हिसावले चन्द्रागिरि हिल्स सञ्चालनमा ल्याउने आइएमई गु्रपलाई प्रसंसा नै गर्न सक्नुपर्छ । केही मात्रामा यस आयोजना निर्माणबाट प्रदुषण र भुक्षयको जोखिमका कुराहरु नआएका होइनन् । हरेक उपलब्धीमा केही न केही कम्प्रोमाइज हुन अवश्य आवश्यक हुन्छ नै । फेरी भएका प्राकृतिक संम्पदाको केही उत्खनन् र उपयोग नगर्ने हो भने विकास त कसरी सम्भव होला । जस्तो की खाडी मुलुकहरुले आफना आँगनहरु खनेर तेल नकाली विश्व बजारमा विक्री नगरेका भएका त्यहाँका नागरि त्यति सम्पन्न कहाँ हुन्थे र । त्यहाँ त्यत्रो चामत्कारिक विकास कसरी हुन्थ्यो ?
तर चन्द्रागिरिको हकमा त्यस्तो पनि देखिदैन । जुन तथ्य त्यहाँको भ्रमणबाट स्पष्ट हुन्छ । नेपालमा पर्यटन क्षेत्रको विकासका सम्बन्धमा धेरै ठुला भाषणबाजीहरु हुदै आएका हुन् । तर नीजि क्षेत्रलाई लगानी गर्न आर्कषित गर्ने कार्य गर्न सरकारले सकिरहेको छैन । जस्तो कि निजगढमा प्रस्तावित दोश्रो अन्र्तराष्टिय विमानस्थल निर्माण कार्य अघि बढ्न सकेको छैन । यदी निजगढमा प्रस्तावित दोश्रो अन्र्तराष्टिय विमानस्थल निर्माण हुन्थ्यो भने हजारौ हजार पर्यटकहरु भित्रने सहज बाटो खुल्ने थियो । एउटा मात्र अन्र्तराष्टिय विमानस्थल भएको कारण पर्यटन आर्कषणको महत्वपूर्ण अवसर गुमिरहेको छ । केही बर्ष अघि मात्र लुम्बिनिमा आधुनिक एवं कलात्मक तबरले निर्माण भएको शान्तिका प्रतिक गौतम बुद्धको भब्य मंदिर परिसरका कारण यतिवेला नेपाल आएका धेरैजसो पर्यटकको आर्कणको केन्द्र लुम्बिनी बन्दैछ । यसरी पर्यटन आर्कषणको लागि आधारभुत पुर्वाधारको अभाव नेपालमा छ । जसकारण अथाह पर्यटकीय सम्भावना हुँदाहुदै खुम्चीएर बस्नुपर्ने बाध्यता हामी माझ छ । त्यसो हुनुमा सरकारले यस क्षेत्रमा लगानी गर्न नसक्नु, नीजि क्षेत्रलाई लगानी गर्न प्रोत्साहित नगर्नु र अन्र्तराष्टिय विमानस्थलहरुको अभाव, शान्ति सुरक्षाको अवस्था कमजोर नै हुनु र पर्यटकीय गन्तब्यहरुको अन्तृराष्ट्रिय स्तरमै कम प्रचारप्रसार हुनु आदिले हो । यसर्थ सरकारले पर्यटकीय क्षेत्रमा गम्भिर भएर लगानी अघाडी बढाउन जरुरी देखिन्छ ।
चन्द्रागिरि हिल्स जस्ता अरु थुप्रै पर्यटकीय आयोजनाहरु बनाउनका निम्ती सहजीकरण गर्न आवश्यक देखिन्छ । त्यो नै यस क्षेत्रको विकास गर्ने महत्वर्पुण रणनीति हो । सिमित कमी कमजोरीहरुलाई देखाएर विकास भाड्ने कार्य जो कसैले गर्नु राम्रो होइन । अझ मिडियाहरुले यस्ता गौरभ गर्न लायक कार्यहरुको मुक्तकन्ठले प्रंससा र सहयोग गर्नु आवश्यक हुन्छ । पर्यटन क्षेत्रमा उद्यमशीलता विकास गर्ने लक्ष्य राख्दा मात्रै नेपालको धनी हुने सपना साकार हुने देखिन्छ । नेपालमा पर्वतीय पर्यटन, टे«किङ उद्यम, पदयात्रा पर्यटन, जलात्रा पर्यटन, साहसिक पर्यटन, धार्मिक पर्यटन, खेलकुद पर्यटन, क्यासिनो पर्यटन, स्वास्थ्य पर्यटन, कृषि पर्यटन, चलचित्र पर्यटन, साँस्कृतिक पर्यटन गरी विभिन्न विधाहरुमा पर्यटकीय उद्यमशीलता हुर्काउन सकिने आधारहरु छन । ती कुराहरुमा सरकार र सबै सरोकारवाला निकायले ध्यान दिन जरुरी छ । किनकी ८० प्रतिशत पहाडी र हिमाली भु–भागले घेरिएको नेपालको आम्दानीको बलियो स्रोत पर्यटन नै हुने सम्भावना छ । त्यसकारण पर्यटन क्षेत्रको विकासको लागि नेपालले हातो धोएरै लाग्नु पर्ने बेला आएको छ । चन्द्रगिरि हिल्सले पर्यटन क्षेत्रमा लगानी गर्न चाहनेहरुका लागि अवश्य साहसको एउटा बलियो बिउ रोपेको छ ।
प्रकाशित मिति २०७३-१०-१०
फेसबुकबाट तपाईको प्रतिक्रिया