चन्द्र ढकालले संचालनमा ल्याए नेपालकै सबैभन्दा ठूलो कागज उद्योग : बुधवार उदघाटन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आईएमई ग्रूपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालकै सबैभन्दा ठूलो कागज उद्योग संचालनमा ल्याएका छन् । उक्त उद्योगमा आईएमई समूहलगायतको २ अर्ब रुपैयाँ बढी लगानी रहेको छ । व्यवसायिक घराना आइएमई ग्रुपले पहिलो पटक कागज महोत्तरी जिल्लामा नेपालकै ठूलो ‘नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि’ नामक उद्योग संचालनमा ल्याएको हो ।


ढकालले पछिल्लो समय नेपालमा बढ्दो कागज आयातलाई प्रतिस्थापन गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले ढकालले कागज उद्योग संचालनमा ल्याएको बताएका छन् । विस २०७८ सालमा शिलान्यास भएको यस उद्योगको निर्माण प्रक्रिया सकिएर २०८१ पुसदेखि उत्पादन शुरु गरिसकेको छ । ढकालको नेतृत्वमा स्थापित उक्त उद्योगको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । आयात प्रतिस्थापन गर्दै स्वदेशमै ठूलो मात्रामा रोजगारी गर्ने उद्देश्यले स्थापित उक्त उद्योगको बुधबार प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नेपालमा वार्षिक झण्डै डेढ लाख मेट्रिक टन पेपर खपत भइरहेको छ । नेपालमा कागज उद्योग नहुँदा अहिले सबै कामका लागि आवश्यक कागज आयात गर्नुपर्ने अवस्था छ । स्कुल कलेजमा लेख्ने–पढ्ने कापीदेखि फोटोकपी, ट्वाइलेट र टिस्यु पेपरसम्ममा समेत नेपाल परनिर्भर अवस्थामा छ । तर, उक्त उद्योग संचालनमा आएसँगै पहिलो वर्षमै नेपालका लागि आवश्यकमध्ये करिव ३० प्रतिशत कागज नेपालमै उत्पादन हुनेछ । उद्योगले स्वदेशी कच्चापदार्थ र जनशक्ति परिचालन गरी स्वदेशमै उच्च गुणस्तरीय कागज उत्पादन गर्ने दाबी गरेको छ । हाल उद्योगको दैनिक कागज उत्पादन क्षमता ७५ मेट्रिक टन रहेको छ । तर केही समयभित्रै क्षमता विस्तार गरी दैनिक १५० मेट्रिक टन कागज उत्पादन गर्ने उद्योगले जानकारी दिएको छ । उद्योगमा कार्यरत श्रमिक तथा कर्मचारीमध्ये ५० प्रतिशत भन्दा बढी स्थानीय र २० प्रतिशत श्रमिकमा महिलाहरु रहेका छन् । उद्योगले प्रत्यक्ष रुपमा ५ सय जनालाई रोजगारी दिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया