चिकित्सकले सुत्केरीको गुप्तांगमा प्याडसहित टाँका लगाइदिएपछि..

बाग्लुङ – १६ माघ

जैमिनी नगरपालिका–१ कुस्मिशेराकी ३० वर्षीया सुष्मा थापामगरलाई प्रसव बेथा लागेपछि परिवार र आफन्तले धौलागिरी अञ्चल अस्पताल बागलुङ लगे । उनी सामान्य रुपमै सुत्केरी भइन् ।

सुत्केरी भएको भोलिपल्ट अस्पतालले डिस्चार्ज गरिदियो । सामान्य रूपमै सुत्केरी भए पनि दुई सातासम्म उनको पीडा घटेन। पछिल्लो दिन झन बढी पीडा हुन थाल्यो ।

‘सुत्केरी हुँदाको घाउ निको हुँदै जानुपर्ने बेला सहिनसक्नु पीडा हुन थाल्यो’, उनले अन्नपूर्णसँग भनेकी छन्, ‘त्यो दुखाईबारे नजिकका साथी र परिवारका सदस्यलाई सुनाउँदा उल्टै जिस्काए, पीडा त भइहाल्छ नि । अलि–अलि दुखाइ पनि सहन नसक्ने भन्न थाले।’

अस्पताल गएर डाक्टरसँग परामर्श गर्दा पनि उनलाई औषधि दिएर पठाइयो । पीडा घट्नुको साटो बढ्दै गयो ।

उनलाई शारीरिक पीडा त थियो नै । पिसाब गर्न पनि कठिन हुन थाल्यो । पहिलो सुत्केरी अनुभव भएकाले स्वाभाविक पीडा होला भनेरै सहिरहिन् ।

डाक्टर नर्ससँग परामर्श गरिन् । औषधि सेवन गरिन् तर, बीसको उन्नाइस भएन । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

केही दिनपछि योनिबाट पिपजस्तो गन्हाउने पानी बग्न थालेपछि उनको चिन्ता थपियो । पुनः अस्पताल जाने निर्णयमा पुगिन् ।

‘पिसाब लागेर शौचालय गएँ, सुरुमा सानो धागोजस्तो केही बिझायो’ उनले भनिन्, ‘धागो तान्दा प्याड निस्कियो’ । बल्ल उनले गुप्ताङभित्रै प्याड छाडेर टाँका लागाएको थाहा पाइन् ।  प्याड सुत्केरी भएको १२ औं दिन आइतबार मात्रै निकालिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया