चितवनमा एक हप्तामा स्क्रव टाइफसका १७ जना नयाँ बिरामी

रत्ननगर १५ भदौ

चितवनमा पछिल्लो एक हप्तामा स्क्रव टाइफसका १७ जना नयाँ बिरामी भेटिएका छन्। ७० जना बिरामीको रगत परीक्षणमा १७ जना नयाँ रोगी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। यसअघि भदौ पहिलो सातासम्ममा वैशाखयता १ सय ४५ जनामा सङ्क्रमण भएको पाइएको थियो। अहिले १७ जना थपिएसँगै बिरामीको सङ्ख्या १ सय ६२ पुगेको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसूदन कोइरालाले भदौको यस हप्ताबाट सङ्क्रमण घटेको सङ्केत मिलेको जानकारी दिए। चितवनमा बैशाखदेखि अहिलेसम्म स्क्रव टाइफसबाट करिब ४ सय जनामा गरिएको परीक्षणमा १ सय ६२ जनामा सङ्क्रमण भएको पाइएको कोइरालाले बताए। स्क्रव टाइफसका कारण चितवनमा दुई जनाको मृत्यु भएको छ।

चितवनमा तीनवटा अस्पतालमा यसको परीक्षण सुरु भएको छ। भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र नारायणी सामुदायीक अस्पतालमा परीक्षण थालिएको जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए। अहिलेसम्म भरतपुर अस्पतालमा ३७ जनाको परीक्षण गर्दा ३, नारायणी सामुदायीक अस्पतालमा २७ जनाको परीक्षण गर्दा ७ र चितवन मेडिकल कलेजमा ३ सय २७ जनाको परीक्षण गर्दा १ सय ५२ जनामा सङ्क्रमण भएको पाइएको उनले जानकारी दिए। नेपालमा वैशाखयता अहिलेसम्म यो रोगका कारण ५ जनाको ज्यान गइसकेको छ। नेपालमै सबैभन्दा बढी चितवनमा यो रोग फैलिएकाले इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा काठमाडौँको टोली आएर अध्ययन गरेको छ। मुसामा हुने एक प्रकारको किर्ना ‘माइट’ले टोकेमा यो रोग सर्ने चिकित्सकले बताएका छन्। गत वर्षदेखि नेपालमा आधिकारिक पुष्टि भएको नयाँ रोग स्क्रव टाइफस उपचार सजिलो छ। तर, रोगको पहिचानमा ढिलाइ भयो भने मात्रै मानिसको ज्यान जोखिममा हुने भएकाले सचेत हुन चिकित्सकले आग्रह गरेका छन्। यो एक प्रकारको ब्याक्टेरिया (रिकेटसिया) ले लगाउने रोग हो। झाडी वरिपरि, कृषि काम गर्ने, जताततै बस्ने र चौरझारमा बस्नेमा सर्ने सम्भावना बढी भएकाले सो क्षेत्रमा जाँदा होसियारी अपनाउनु अत्यावश्यक हुन्छ। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया