चितवनमा भाइरलका बिरामी बढे
चितवन १० साउन। वर्षायामसँगै चितवन जिल्लामा भाइरलका बिरामी बढेका छन् । सरकारी अस्पताल, दुई वटा मेडिकल कलेज र निजी अस्पतालमा बिरामी भरिएका छन् ।
सामान्य समयमा भन्दा अहिले भाइरलका कारण ३५ देखि ४० प्रतिशतले बिरामी बढेको भरतपुर अस्पतालका डा. भोजराज अधिकारीले बताएका छन् ।
सामान्य समयमा १५० जना बिरामीको परीक्षण गरिँदै आएकोमा अहिले दैनिक ३०० को हाराहारीमा बिरामीको परीक्षण गरिएको उनले बताए । उनका अनुसार बिहान बेलुका जाँच गर्ने पुष्पाञ्जली अस्पतालमा पनि बिरामीको सङ्ख्या बढेको छ ।
गर्मी बढ्दै जानु र पानी पर्नुका कारण भाइरलका बिरामीको चाप बढेको हो । मानिसको चहलपहल बढ्दै जानु, खानपानमा बेवास्ता गर्नु लगायतका कारण भाइरलका बिरामीको चाप बढेको डा. अधिकारी बताउँछन् ।
अघिल्लो वर्ष वैशाख, जेठमा भाइरलका बिरामीको चाप बढ्ने भए तापनि यस वर्ष साउनको सुरुवाती समयमा बिरामीको चाप बढेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनिले बताए ।
बिरामीको चाप बढेसँगै अस्पतालमा बिरामी राख्ने शैयाको समेत अभाव भएको छ । जसका कारण भुईंमा राखेर उपचार गर्नुपरेको डा. मरासिनीले बताए । भीडभाडमा सकेसम्म नजाने, जानु पर्दा मास्क प्रयोग गर्न चिकित्सकले सुझाव दिएका छन् । रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया