चितवन राष्ट्रिय निकुञ्जमा विशेष टोली परिचालित

चितवन–१० पौष

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु चोरी शिकार नियन्त्रणका लागि आजदेखि विशेष फौजसहितको टोली परिचालन भएको छ ।  निकुृञ्ज सुरक्षार्थ खटिएको वटुकदल गणका अनुसार विशेष फौज र निकुञ्जमा रहेका सेनालाई संयुक्त रुपमा तालीम दिएर पठाइएको छ । नियमित सुरक्षाका अतिरिक्त विशेष सुरक्षा फौजले निकुञ्ज कर्मचारी र संरक्षणमा सम्बद्ध निकायसँग समन्वय गरी निकुञ्जको विशेष सुरक्षा गर्ने जनाइएको छ ।

निकुञ्जमा सुरक्षार्थ खटिने सेनाले २०६७ सालदेखि ‘अप्रेशन हन्ट’ सञ्चालन गर्दै आएकामा २०७१ देखि भने विशेष टोली परिचालन गर्दै आएको छ । यसै महिनादेखि वर्षात् शुरु नभएसम्म विशेष फौज परिचालन हुनेछ ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले निकुञ्जमा हाल ५७ ठाउँमा स्थायी चौकी रहेकामा अब १२० भन्दा बढी ठाउँमा अस्थायी चौकीकै रुपमा सुरक्षाकर्मी र कर्मचारी रहेर निकुञ्जको गस्ती गरिने बताए । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया