चिप उद्योगका लागि ४० अर्ब डलरको कोष निर्माण गर्दै चीन

चीन २१ भदौ २०८०। 

चीनले चिप उद्योगलाई बढवा दिन ४० अर्ब डलर (तीन सय बिलियन युअआन)को राज्य कोष स्थापना गर्ने भएको छ । चीनले अमेरिका र अन्य प्रतिद्वन्द्वीहरुसँग प्रतिस्पर्धा गर्न सो कोष निर्माण गर्ने घोषणा गरेको हो । यो बिग फन्ड भनिने चाइना इन्टिग्रेटेड सर्किट इन्भेष्टमेन्ट फन्डद्वारा सुरु गरिएको तीन कोषमध्ये सबैभन्दा ठूलो हुने बताइएको छ ।

यो कोष सन् २०१४ र २०१९मा बनाइएको दुई कोषभन्दा ठूलो छ । सरकारी रिपोर्टअनुसार सन् २०१४ मा एक सय ३८ दशमलव ७० बिलियन युआन र २०१९मा दुई सय बिलियन युआनको कोष निर्माण गरिएको थियो । लगानीको प्रमुख क्षेत्रमध्येको एक चिप उत्पादनका लागि कोष निर्माण गरिएकोे बताइएको छ ।

चिनियाँ राष्ट्रपछि सी चीनपिङले लामो समयदेखि सेमिकन्डक्टरमा आत्मनिर्भरता हासिल गर्नु चीनको आवश्यकता भएको बताउँदै आएका छन् । बेइजिङले आफ्नो सैन्य क्षमता बढाउन उन्नत चिपहरुको प्रयोग गर्न सक्छ भन्ने डरले अमेरिकाले चिनियाँ चिपहरु निर्यात रोक्ने शृङ्खला लागू गरेको थियो । यसपछि चीनले चिप उत्पादनमा थप आक्रामक बन्न खोजेको देखिन्छ । अमेरिकाले गत अक्टोबरमा एक व्यापक प्रतिबन्ध प्याकेज ल्याई उन्नत चिपमेकिङ उपकरणहरुमा चीनको पहुँचलाई कटौती गरेको थियो । त्यसपछि जापान र नेदरल्यान्डसले पनि यस्तै कदम चालिसकेका छन् । कोष निर्माणका लागि चीनको अर्थ मन्त्रालयले ६० अर्ब युआन सहयोग गर्ने योजना बनाएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया