चीनको औद्योगिक नाफा बढ्यो

पेचिङ (चीन) १५ असार  ।

सन् २०१७ को पहिलो ५ महीनामा चीनको औद्योगिक नाफा दोहोरो अङ्कले बढेको एक सरकारी तथ्याङ्कले देखाएको छ । जनवरी–मे अवधिमा वार्षिक २ करोड युआनभन्दा बढी आम्दानी गर्ने प्रमुख चिनियाँ कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा २२ दशमलव ७ प्रतिशतले बढेर २ दशमलव ९ ट्रिलियन युआनमा उक्लिएको त्यहाँको राष्ट्रिय तथ्याङ्क कार्यालय (एनबीएस) ले बताएको छ । उद्योगहरूको नाफा उकालो लागेका कारण यसले चिनियाँ अर्थतन्त्रमा स्थायित्व आइरहेको सङ्केत दिएको बताइएको छ । पहिलो चार महीनामा भने नाफा वृद्घि २४ दशमलव ४ प्रतिशतले घटे पनि यो सन् २०१६ साढे ८ प्रतिशत वृद्घिको तुलनामा बढी हो । मे महीनामा मात्र त्यहाँका प्रमुख उद्योगहरूको नाफा गत वर्षको तुलनामा १६ दशमलव ७ प्रतिशतले बढेको एनबीएसले बताएको छ । अप्रिलमा उद्योगको नाफा १४ प्रतिशतले बढेको थियो । चिनियाँ कुल गार्हस्थ्य उत्पादनको करीब एक तिहाइ हिस्सा ओगट्ने औद्योगिक क्षेत्र सन् २०१५ मा नाफा घटेपछि गतवर्षदेखि मात्र उकालो लाग्न थालेको हो ।

तेल तथा प्राकृतिक ग्यासको माग बढ्ने
निकट भविष्यमा चीनको कच्चा तेल तथा प्राकृतिक ग्यासको माग बढ्ने अनुमान गरिएको छ । विश्वमा यी इन्धनको उपभोग सुस्ताउने भए पनि चीनको मागमा भने वृद्घि हुने चाइनिज एकेडेमी अफ सोसियल साइन्सेजले सार्वजनिक गरेको एक प्रतिवेदनले देखाएको छ । सन् २०३० सम्म चीनको प्राकृतिक ग्यासको माग वार्षिक तीन प्रतिशतका दरले बढ्ने बताइएको छ । यद्यपि, सो अवधिमा पश्चिमी राष्ट्रको मागमा भने कमी आउन सक्ने बताइएको छ । सो अवधिसम्म कच्चा तेल तथा प्राकृतिक ग्यासको सञ्चिति र उत्पादन पनि लगातार बढी नै रहने बताइएको छ । सन् २०३० सम्म विश्वमा प्राृकतिक ग्यासको उत्पादन ५ ट्रिलियन क्युविक मिटरमा पुग्ने र सो अवधिमा एशिया यसको प्रमुख उपभोक्ता रहने बताइएको छ ।

चीनको आर्थिक वृृद्धि विश्वका लागि महत्वपूर्ण
विश्व आर्थिक वृद्धि र विश्वव्यापीकरणप्रतिको प्रतिबद्धतालाई हाँक्न चीनको भूमिका महत्त्वपूर्ण रहने विश्व आर्थिक मञ्च (डब्ल्युईएफ) का संस्थापक तथा कार्यकारी अधिकारी क्लस स्क्वाबले बताएका छन् । यो वर्षको पहिलो त्रैमासमा चीनको कुल गार्हस्थ्य उत्पादन अघिल्लो वर्षको तुलनामा ६ दशमलव ९ प्रतिशतले बढेको तथ्याङ्क छ । सो अवधिमा व्यापारमा भएको वृद्धि र खपतले पनि गति लिएका कारण वृद्घि सम्भव भएको हो । विगतका दिनहरूमा चीनले विश्व अर्थतन्त्रमा स्थायित्व ल्याउने र अर्थतन्त्रलाई चलाउने एक प्रमुख शक्तिका रूपमा योगदान दिएको र आउँदा दिनमा पनि राष्ट्रबाट यस्तै अपेक्षा राखिएको बताइएको छ । रासस/सिन्हवा

फेसबुकबाट तपाईको प्रतिक्रिया