चीनसँगको सीमामा भारतले पठायो अत्याधुनिक तोप

काठमाडौं १६, असोज २०७८

भारतले चीनसँग जोडिएको लद्दाखस्थित सीमा क्षेत्रमा शनिबार के ९ बज्र तोप तैनाथ गरेको छ । यसले सेल्फ–प्रोपेल्ड हाविल्जर तोपले ५० किलोमिटर दूरीसम्म निशाना साँध्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चीनसँग सीमा जोडिएका इलाकामा पूर्वाधार र विकास निर्माणलाई तिव्र बनाइएको भारतका सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेले बताएका छन् ।

चीनले सीमा क्षेत्रमा सैनिक संख्या बढाएपछि  सम्भावित खतरालाई मध्यनजर गर्दै भारत पनि सेनाको संख्या बढाएको नरवाणेले बताएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार चीनले पूर्वी लद्दाख, उत्तरी कमाण्ड र पूर्वी कमाण्डमा पनि ठूलो संख्यामा सैनिक तैनाथ गरेको छ । चीन र भारतबीच लद्दाखमा लामो समयदेखि सीमा विवाद छ । विवाद समाधानका लागि अक्टोबरको दोस्रो साता १३ औं चरणको सैनिक स्तरीय वार्ता गर्ने  तयारी पनि चलिरहेको छ ।   यता पाकिस्तानले फेरि एकपटक युद्धविराम तोडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो १० दिनमा पाकिस्तानले युद्धविराम उल्लंघन गर्दै दुईपटक सिजफायर गरेको समाचारमा उल्लेख छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया