चुनावलाई लिएर ट्रम्पले दिए यस्तो चेतावनी !

काठमाडौं १० कार्तिक ।
अमेरिकाका रिपब्लिकन पार्टीका राष्ट्रपति उमेदवार डोनाल्ड ट्रम्पले उनका प्रतिद्वन्द्वी हिलारी क्लिन्टनले चुनाव जितेमा तेस्रो विश्वयुद्ध हुन सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।
ट्रम्पले समाचार संस्था रोयटर्ससँग कुरा गर्दै हिलारीको सिरियाको समस्या हल गर्ने गलत बैदेशिक नीति योजनाका कारण यस्तो अवस्था आइपर्ने बताएका हुन् ।
उनले हिलारीले सिरियामा उडान निषेधित क्षेत्र घोषणा गर्दा रसियासँग विवाद सुरु भई यसले तेस्रो विश्वयुद्धतिर धकेल्ने बताएका छन् ।
“हिलारी क्लिन्टनको कुरा सुन्दा तपाईं तेस्रो विश्वयुद्धतिर पुग्दै हुनुहुन्छ । तपार्इं सिरियासँग मात्रै संघर्ष गरिरहनु भएको छैन, सिरिया, रसिया तथा इरानसँग पनि लडदै हुनुहुन्छ,” ट्रम्पले भने ।
साथै उनले अमेरिकाले सिरियाका राष्ट्रपति बसर अल असदलाई हटाउने अभियान त्यागेर इस्लामिक स्टेट (आईएस) लाई परास्त गर्ने मात्रै नीति लिनुपर्ने बताएका छन् ।
तर क्लिन्टन चुनाव अभियानले भने अमेरिकी जनतालाई डर देखाएर राजनीति गर्न खोजेको आरोप ट्रम्पलाई लगाएका छन् । उक्त अन्तर्वार्तामा ट्रम्पले उनको उमेदवारीको पछाडि एकताबद्ध नभएकोमा रिपब्लिकन नेताहरुलाई आलोचना गरेका छन् । उनले पार्टी एकताबद्ध भए आफूले क्लिन्टनसँग चुनाव नहार्ने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया