च्याम्पियन्स लिगमा रियलको बराबरी
काठमाडौं १२ अशोज
जारी च्याम्पियन्स लिग प्रतियोगितामा बुधबार बिहान सम्पन्न खेलमा रियल मड्रिडले अंक बाँडेको छ। बोरुसिया डर्टमुन्डविरूद्वको खेलमा २-२ गोलको बराबरी खेल्दै समूह ‘एफ’मा रहेको रियलले अंक बाँडेको हो। यसअघि ला लिगामा पनि रियलले बराबरी खेलेको थियो। बराबरी खेल्दा रियलले लगातार १७ औ जित दर्ता गरेर रेकर्ड कायम गर्ने मौका समेत गुमाएको थियो। बोरुसियाको घरेलु मैदानमा भएको खेलमा रियलका पोर्तुगाली स्टार क्रिस्टियानो रोनाल्डोले खेलको १७ औँ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए।
तर, खेलको पहिलो हाफको अन्तिमतिर बोरुसियाका पियरे इमरिकले गोल गर्दै खेललाई बराबरीमा ल्याए। खेलको दोस्रो हाफमा पनि रियलका राफेल भरानेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। उनले खेलको ६३ औँ मिनेटमा गोल गर्दै रियललाई २-१ को अग्रता दिलाउन सफल भए तर, खेलको दोस्रो हाफको अन्तिम समयमा नै बोरुसियाका आन्द्रे स्कुर्लेले गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनले खेलको ८७ औँ मिनेटमा गोल गर्न सफल भएपछि खेल २-२ गोलको बराबरीमा टुङ्गियो। यसैगरी बुधबार बिहान सम्पन्न खेलमा लेस्टर सिटिले पोर्टोलाई पराजित गर्दै आफ्नो खातामा ३ अंक जोडेको छ। घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटिका लागि इस्लाम स्लिमानीले खेलको २५ औँ मिनेटमा गोल गरेका थिए। उक्त गोल नै निर्णायक गोल बन्न पुग्यो खेल लेष्टरले १-० गोलअन्तरले जित्न सफल भयो। यस्तै बुधबार बिहान सम्पन्न समुह ई को खेलमा टोटेनह्याम होट्स्पुरले मस्कोलाई १-० गोलअन्तरले पराजित गरेको छ भने मोनाको र बायर लेभेर्कुसेनबीचको खेल १-१ गोलअन्तरको बराबरीमा टुङ्गिएको थियो। समूह एफ को खेलमा स्पोर्टिङ सीपीले लेगिया वार्स्जावालाई २-० गोलअन्तरले पराजित गर्दा समूह जी को खेलमा कोइबेन्हाभ्नले क्लब ब्रुगीलाई ४-० गोलअन्तरले पराजित गर्यो।
फेसबुकबाट तपाईको प्रतिक्रिया