छाउपडी प्रथा न्यूनीकरण र नियन्त्रणका लागि विशेष अभियान

काठमाडौँ, २२ पुस

लम्की – कैलालीको टीकापुर नगरपालिकाले छाउपडी प्रथा न्यूनीकरण र नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्न समिति गठन गरेको छ । नगरपालिकाले सोसम्बन्धी कार्ययोजना बनाउन आयोजना गरेको छलफलमा उपप्रमुख केशरी रावल विष्ट संयोजक रहेको समिति गठन गरिएको हो ।समितिले कार्ययोजना बनाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । समितिको उपसंयोजकमा सामाजिक विकास समिति संयोजक दीर्घ ठकुल्ला, सबै वडाध्यक्ष, अगुवा महिला तथा सञ्चारकर्मी, टीकापुरका प्रहरी प्रमुखलगायत सदस्य छन् । नगरप्रमुख तपेन्द्र रावलले अब छाउपडी प्रथा सामाजिक रूपमा कुप्रथा मात्र नभएर कानूनीरुपमा दण्डनीय अपराधसमेत भएकाले नगरपालिकाले यसलाई कार्ययोजना बनाई नियन्त्रण गर्नुको कुनै विकल्प नरहेको बताए । नगर उपप्रमुख विष्टले नगरपालिकाले छाउपडी प्रथा न्यूनीकरणका लागि चाल्ने कदममा साथ दिन नगरवासीलाई अनुरोध गरिन् ।

वडा १ का अध्यक्ष गंगाराम आचार्यले परिवर्तनको आरम्भ आफैंबाट गर्नुपर्ने बताए । वडा २ का अध्यक्ष प्रकाश बुढाले वडाले नै आफ्ना जनतालाई सम्झाइबुझाई छाउपडी गोठ भत्काउन लगाउने बताए । नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले छाउपडी प्रथाजस्ता कुप्रथा हटाउन सबै दलहरुले सहयोग गर्नुपर्ने बताए । नेकपा टीकापुरका अध्यक्ष खड्क शाहले नगरपालिकाले छाउपडी प्रथाविरुद्ध गर्ने अभियानमा आफ्नो पार्टीले सहयोग गर्ने बताए । कांग्रेसका नगर सभापति धनराज उपाध्यायले महिनावारी भएका बेला घरमै बस्न मिल्छ भनेर जनतालाई चेतना जगाउन सक्नुपर्ने बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चूडामणि पन्थीले कानुनले समेत दण्डनीय भनेर मानिसकेको छाउपडी प्रथाको नियन्त्रणमा नगरपालिकाले सबैको साथ चाहेको बताए । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख हेमराज भट्टले कानुनले दण्डनीय अपराध मानिसकेको छाउपडी प्रथा हटाउन प्रहरीले सबै कानुनी प्रक्रिया अपनाउने बताए । महिला अभियन्ता चन्द्रावती शर्माले आफूहरुले महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा नगरपालिकाका विभिन्न वडामा छाउपडी गोठ भेटाएको बताइन् । नगरपालिकाका वडा २, ७, ८ र ९ मा अहिले पनि छाउगोठ देख्न सकिन्छ । यहाँ अहिले पनि महिला महिनावारीको समयमा चार दिन गोठमै बस्ने गर्छन् ।  रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया