छुवाछुत प्रथा औषधी न ब्यथा

दिपक खतिवडा

विश्व अहिले काेराेना भाईरसले आक्रान्त छ । याे विषम परिस्थितिमा नेपाल पनि अछुताे रहेकाे छैन । विश्वभरकाे याे कहरबिच नेपालमा भने कहि नभाकाे जात्रा कुन्नि के भनेजस्तै भाकाे छ । बिषय छ छुवाछुत र जातिय प्रथा । नेपालमा याे अन्धविश्वास र जातियताकाे नजरले छुट्याउने याे जड आज हैन दशकै लामाे समयदेखि अाक्रान्त हुँदै आइरहेको  छ । भन्नैका लागि त रगत सबैकाे राताे हुन्छ । के दलित के जनजाती सबै समान हुन भनी भजन गाईन्छ तर याे मेराे समाज आज जातजाती र रंगभेदमै लपक्कै डुबिरहेकाे छ । केहिदिन अघि नवराज बि.क.ले आफनो ज्यान नै यसै जातिय भेदभावकै कारणले निर्मम कुटिएरै प्राण त्यागिनु पर्याे । विश्व आज  निकै विकासकाे फड्काे मारेर मंगलयानमा बस्तीकाे कुरा गरिरहदा हामी दरिद्र स्वभावले बस्तीमै बसेकाहरूलाई जातजातीकाे तुस्छ नाम दिदै मर्न विवश पार्दैछाै । र घृणाकाे तराजुमा ताैलिदै छाै ।

राष्ट समुन्नत बन्न समाज अनि समाज समुन्नत बन्न जनमानशकाे चेतनास्तरमा बृद्दि हुनैपर्छ । आज पनि म यहि समाजमै छु जहाँ दलित भनेर बाहिर उभिनुपर्छ । जनजाती भनेर छुट्टिनुपर्छ । अब आउने पुस्ताले हिजाेकाे पिडिबाट के सिक्ने र के बुझ्ने ? गम्भीर प्रश्न अाफैप्रति तस्रथ यहि मानशिकता बाेकिनै रहेने हाे भने यहाँ कयाै नवराजहरू मर्नु नै छ जातिय हिङ्शा समाजमा रहिनैरहनेछ । समाजमा हरेक प्रकारका परम्परा कायम रहेका छन् । कतिपय परम्परा समाजका गहना र चिनारी बन्न सफल छन् भने कतिपय परम्परा अभिषापयुक्त, निन्दनीय र सामाजिक कलंकका रूपमा रहेका छन् । जाति, धर्म, वर्ण लिंग र क्षेत्रका आधारमा गरिने भेदभाव समाजका कुरीति हुन् । यस्ता कुपरम्पराबाट मुक्त भइनसकेको समाजले चाहेअनुसार अग्रगामी कदम चाल्न सक्दैन । यस्तो समाज विभाजित हुन्छ, एक आपसमा मेलमिलाप र सद्भाव कायम रहँदैन । जसले गर्दा समाज उत्थानको सम्भावना क्षिण हँुदै टाढाको विषय बन्न पुग्छ । अहिले नेपाली समाज विभिन्न खाले भेदभावबाट पीडित छ ।

त्यसमा पनि छुवाछुतको जातिभेदले हाम्रो समाजलाई आक्रान्त बनाएको छ । आफूलाई तथाकथित ठूलो जाति हौँ भन्नेहरूले समाजको एउटा ठूलो हिस्सालाई अछुत ठान्ने गरेको छ । यो नै हाम्रो समाजको सबैभन्दा ठूलो कलंक हो । र, यो कलंक नमेटिएसम्म हाम्रो सामाजिकपरम्परा उत्थानको दिशामा अगाडि बढ्न सक्दैन । २१ सौँ शताब्दीमा पनि हाम्रो समाज छुवाछुतको पीडा भोग्न अभिसप्त हुनु दुर्भाग्य नै हो । जुन दुर्भाग्यले हाम्रो समाज विकासको क्रमलाई बाधा र अवरोध पुर्‍याएको छ । विश्व मानवसभ्यता अर्के उच्चाइमा पुग्दै गर्दा नेपाल भने एउटा मान्छे सानो जातको र अर्को मान्छे ठूलो जातको भन्ने भावनाले ग्रसित छ । यस्ता भेदभाव नमेटाउने हो भने सामाजिक विभेदले सबै क्षेत्रमा नकारात्मक प्रभाव पार्नेछ । तसर्थ, मानिस–मानिसबीचमा रहेको जातिभेद उन्मूलन गर्नैपर्छ ।

गत केहिदिन अघि रूकुमकाे एक ब्यक्ति नवराज बि.क ले जातियताकै कारणले मृत्युवरण गर्नुपर्याे । अझै सबैकाे रगत राताे हुन्छ वा मानव सबै एकै हुन भनी भन्नकै लागि मात्र भनेर छुवाछुत जस्तो सामाजिक कलंकको रूपमा रहेको घृणित प्रथाबाट समाज मुक्त हँुदैन । र, कानुन बनाएर मात्र पनि पुग्दैन । कानुन पालना हुने अवस्था सिर्जना गर्नेतर्फ ठोस कदम नचालेसम्म यो सामाजिक विकृति हट्ने देखिँदैन । मानिस सबैभन्दा चेतनशील प्राणी हो । यो प्राणी समाज नभए बाँच्न नसक्ने हुँदा सामाजिक प्राणी भनिएको हो । तर, यही समाजमा कुरीतिको रूपमा रहेको छुवाछुत जस्तो अत्यन्तै घृणित प्रथा विद्यमान रहनु वास्तवमा सामाजिक कलंक नै हो । यसैले गर्दा हाम्रो समाज पिछडिएको समाजका रूपमा परिचित छ । यो कलंक समाजबाट उन्मूलन नभएसम्म नेपाली समाज विश्वसामु कलंकित समाजको रूपमा रहिरहने छ । धेरै अगाडि छुवाछुत विरोधी कानुन बने, छुवाछुतविरोधी विभिन्नखाले आन्दोलनहरू पनि चले तर ती कानुन किताबमै सीमित रहे भने आन्दोलनहरू पनि पूर्णरूपमा सफल भएनन् । जसले गर्दा अहिले पनि छुवाछुत प्रथा समाजमा विद्यमान छ । यसलाई सम्बन्धित सरोकारवाला सबै पक्षले गम्भीरतापूर्वक लिएर कुन–कुन विकल्प प्रयोग गर्दा जातिभेद उन्मूलन हुन्छ त्यसतर्फ सोच्नै पर्छ । अन्यथा हाम्रो समाज सवल, सक्षम र सर्वस्वीकार्य हुन सक्दैन । र, विश्व समाजका सामु निरीह समाजका रूपमा हामी रहनेछ । यिनै छुवाछुत जस्ता विकृतिले हाम्रो समाजलाई गतिहीन बनाउने छ ।

पक्कै पनि पहिला जस्तो छुवाछुतको भयावह अवस्था छैन । नयाँ पुस्ताले देश–विदेश घुमेर सबै मानिस एकै हुन् भन्ने बुझ्न थालेको छ । शिक्षितहरूले छुवाछुतलाई सामाजिक कलंकका रूपमा लिएका छन् । कलिलो पुस्ताले जातिभेदलाई घृणाको नजरले हेर्नेछ । तर, आफूलाई उपल्लो जाति ठान्नेहरूबाट जातिभेद उन्मूलनमा बाधा पुर्‍याउने काम, नरोकिएसम्म यो प्रथालाई समाजले गह्रांै भारीको रूपमा बोक्नैपर्ने अवस्था देखिन्छ । यो समाजको कलंक हो । यसलाई चाँडै उन्मूलन गर्नुपर्छ र मानिस सबै एकै हुन, ठूलो जात र सानो जात हुँदैन भन्ने शिक्षा समाजमै फैलाउन जरुरी छ । छुवाछुत उन्मूलनका लागि बनेका कानुनहरू पनि कठोरतापूर्वक लागू गर्नुपर्छ । यसले मात्र हाम्रो समाजले बोकेको छुवाछुतको कलंकबाट मुक्ति पाउनेछ । विश्वका पछौटे केही मुलुकमा जाति, धर्म, लिंग, वर्ण र क्षेत्रका आधारमा समाज भाँड्ने काम अहिले पनि भइरहेको छ । त्यसमध्ये हाम्रो नेपाल पनि एक हो । यो वास्तवमा हामी सबैका लागि लज्जाको विषय हो । सामाजिक सद्भाव र एकताको बाधक यस्ता कुप्रथालाई जरैदेखि उखेलेर फाल्नै पर्छ । समाजमा बस्ने सबैले यो विषयमा गम्भीरतापूर्वक सोचेर छुवाछुत प्रथा हटाउन योगदान गर्नुपर्छ । तब मात्र यो प्रथाको अन्त्य हुनेछ ।

प्रकासित मिति २०७७–२–२१

फेसबुकबाट तपाईको प्रतिक्रिया