जनजीविकामा पनि देखिनु पर्छ राष्ट्रवाद

नन्दलाल खरेल

मृत्युले छटपटाई रहेको व्यक्तिलाई सोध्यो भने उसको लागि राष्ट्रवाद औषधि हुन्छ, भोकले सताइरहेको व्यक्तिलाई सोध्यो भने उसको लागि राष्ट्रवाद भोजन हुन्छ । एउटा वेरोजगार व्यक्तिलाई सोध्यो भने उसको राष्ट्रवाद रोजगार हुन्छ । एउटा किसानलाई सोध्यो भने उसको राष्ट्रवाद कृषि कर्म हुन्छ । अस्पताल जान नपाएकि सुत्केरी हुन नसकेर छटपटाई रहेको महिलालाई सोध्यो भने अस्पतालमा उपचार उसको लागि राष्ट्रवाद हो । राष्ट्रवाद एउटा अमुर्त चीज होइन । न कि सडक आन्दोलन मात्र । त्यहि भएर प्रसिद्ध लेख मार्क ट्वेनले छद्म राष्ट्रवादीहरुलाई व्यंग्य गर्दै भनेका छन्, ‘त्यो व्यक्ति जो सबैभन्दा चर्को चिच्याउँछ तर के का लागि चिच्याएको भन्ने जान्दैन, त्यहि राष्ट्रवादी हो ।’ अहिले हाम्रो देशको संदर्भमा ठ्याक्कै यस्तै भएको छ ।

राष्ट्रवाद के हो ? राष्ट्रवादको जग के मा अडिएको हुन्छ ? के राष्ट्रवाद भावनात्मक सम्बन्धको संगठीत अभिव्यक्ति हो ? के राष्ट्रहित मानव भन्दा उच्च हुन्छ ? राष्ट्रवादको आधार शैन्य वल हो ? हाम्रो राष्ट्रवाद प्रजातान्त्रिक राष्ट्रवाद हो कि माक्र्सवादी राष्ट्रवाद ? के फरक छ दुबै राष्ट्रवादमा ? कतै हाम्रो राष्ट्रवाद परम्परागत राष्ट्रवाद त होइन ? के राष्ट्रवाद भूगोल सँग मात्र सम्बन्धित छ ? कम्युनिष्टहरु राष्ट्रवादी भन्दा अन्तराष्ट्रियवादी हुनु पर्ने होइन ? कतै हाम्रो राष्ट्रवाद सत्ता रक्षाको कवच त वनीरहेको छैन ?किन हाम्रो राष्ट्रवाद जनजीवीका बारे मौन छ ? यी सबै प्रश्नमा एकछिन घोत्लीनु पर्ने आवश्यक छ ।
राष्ट्रवादले राष्ट्रियताको भावना अभिव्यक्त गर्छ । यो एउटा अत्धात्मिक भावना हो । राष्ट्रवादले वादलाई एउटा विचारात्मक शक्ति मान्दछ जसले कुनै विचारलाई संगठित गर्दछ । राष्ट्रवाद जनताका राष्ट्रिय भावनाको प्रतिफल हो । विशेषगरी यसको विकास एउटै भुखण्डमा वसेका एउटै जातीबाट हुन्छ । यस्ता जातिका भाषा, धर्म परम्परा र हितहरु एकै प्रकारका हुन्छन् । यिनै राष्ट्रिय भावनाहरुको उपलब्धिका रुपमा राष्ट्रवादको जन्म हुन्छ । राष्ट्रियता एउटा आन्तरिक भावना हो । जसले मानिसलाई एउटै शुत्रमा आवद्ध गर्छ । लर्ड व्राइसले राष्ट्र र राष्ट्रियता शब्दको भिन्नता प्रष्ट्याएका छन् । उनका अनुसार राष्ट्रियता–भाषा, साहित्य, विचार, रीतिरिवाज, परम्परा आदि वन्धनहरुमा बाँधिएको जनसमूहको नाम हो । यसले आपूmहरुलाई यस्तै प्रकारको अर्को जनसमूह भन्दा भिन्न प्रकारको जनसमूह भन्ने अनुभव गर्दछ । राष्ट्र राजनीतिक रुपबाट संगठित भएको राष्ट्रियता हो जो स्वतन्त्र हुन्छ अथवा स्वतन्त्र हुने इच्छा प्रकट गर्दछ ।
राष्ट्रवादको जग भूगोल मात्र होइन, त्यो भूगोल भित्र रहेका जनताको हित चाहान्छ । अझ स्पष्ट भन्नु पर्दा राष्ट्रवाद जनजीवीकामा देखिनु पर्दछ । त्यस्तो जनजीविका जो न्याय संगत होस, त्यतिमात्र होइन समानता आधारित होस । आज हामीलाई यस्तै राष्ट्रियताको खाँचो छ । तर राष्ट्रवादको ढोग पिटाई आफ्नो सत्ताको सुरक्षा कवचको रुपमा मौसमी बाजा बजाइरहेका छन् हाम्रा शासकहरु । जनताहरु पनि उनीहरुकै कुरामा होमा हो गरी लामवद्ध भएका छन् । जनताको कमजोर चेत्नाको प्रतिफल नक्कली राष्ट्रवादीहरुले उडाइ रहेका छन् । बेनडिक्ट एन्डर्सन राष्ट्रको एक हिस्साको रुपमा परिकल्पना गर्छन । त्यस्तो राष्ट्रको दायरा भित्र आफु र आफ्नो जीवन र जगतका क्रियाकलाप समेटिएनन् भने उनीहरुले अलगाव महसुस गर्छन । मुलुकमा विद्यमान जातीय, लिंगीय, भाषिक तथा क्षेत्रीय विविधतालाई आत्मसात गरी आत्मनिर्णयको अधिकार दिनुको सट्टा राष्ट्रवादको नक्कली नारामा अल्मलाइरहेको मात्रै छ ।

हाम्रा शासकहरु कम्युनिष्ट पृष्ठभूमिबाट आएका हुन् । माक्र्सवाद, लेनिनवाद र माओवाद यिनीहरुको पथ प्रदर्शक सिद्धान्त हो । यीनीहरुले अवलम्बन गरेको वाटो जनवाद समाजवाद हुँदै साम्यवाद सम्म पुग्ने हो । कम्युनिष्टहरु जहिल्यै पनि अन्तराष्ट्रियवादी हुन्छन् । कम्युनिष्टहरुको अन्तिम उद्देश्य वर्गविहिन र राज्य विहिन समाजको स्थापना गर्नु हो । तर यीनीहरुको अन्तराष्ट्रिय राष्ट्रवादी होइनन् । तर यिनीहरुको अन्तराष्ट्रियवादको नारा खोक्रो भएको छ । कम्युनिष्टहरु राष्ट्रवादी होइनन् देश भक्ति भावना भएको हुनुपर्दछ । तर यीनीहरु नक्कली राष्ट्रवादको खोल ओढी जनतालाई भोकै सडकमा सुताई आफु महलको चुचुरोमा थुप्पैै्र सुरक्षाकर्मीलाई पहरा दिनलगाई सुत्ने वेलामा केहि नसालु पेय पदार्थको प्याक लगाई निदाउने गरेका छन् । आफ्ना कार्यकर्ताहरुलाई मिठा मिठा लालीलप देखाई सडक तताउने, सामाजिकसञ्चालमा छुद्र शब्दहरुको तिखो वाण हानी उग्र राष्ट्रवाद हो कुरा चर्काउने गर्दछन् । न यो प्रजातान्त्रीक राष्ट्रवाद हो न यो माक्र्सवादी राष्ट्रवाद हो । माक्सवादी राष्ट्रवादमा उत्पादनका साधनहरुमा श्रमिकहरुको प्रयुत्व कायम रहन्छ । यसले प्रत्येक राष्ट्रिय जातीको विकासका लागि पूर्ण अवसर प्रदान गर्दछ । यो सम्राज्यवाद विरोध हो । यसले अन्तराष्ट्रिय क्रान्तिलाई समर्थन गर्दछ ।
एक लेखक मधु मिजारका शब्दलाई सापटी लिदै भन्नु पर्दा सामान्यतया राष्ट्र निर्माण प्रक्रियामा मूर्त र अमूर्त दुई पक्षको प्रभाव हुन्छ । मूर्त तत्वले राष्ट्रले वैधता हासिल गर्न आवश्यक तत्वलाई समेट्छ भने अमूर्त तत्वले राष्ट्रप्रति अपनत्व जगाउने तत्वहरु समेट्छ । अमूर्त पक्षले नागरिकका वीचमा सौहार्दता, सामाञ्जस्यता तथा सद्भावलाई वलियो बनाउन भूमिका खेल्छ । अमूर्त तत्वले जनताको आत्मसम्मान, स्वाभीमान, प्रेम, सद्भाव तथा भावना समेट्छ । यतिवेला सरकार सञ्चालनकका कारण अमूर्त तत्वको निकै खडेरी छ । संक्रमित र मृतकको संख्या प्रेस विज्ञप्ति मार्फत जनतालाई सार्वजनिक गरेर मात्रै राज्यको दायित्व पुरा हुन्न ।यतिवेला चाहिएको माथि उल्लेखित अमूर्त तत्व नै हो ।
विश्वका अधिकांश नागरिकहरु झै आज हामी पनि यतिवेला कोरोना विरुद्धको लडाइमा छौं । मुलुकमा संक्रमण वढ्दो छ । मानवीय क्षतीहरु सुरु हुन थालेको छ । मुलुकले निरन्तर चैत्र ११ गतेबाट लकडाउनको सामाना गरिरहेको छ । मानिसको जनजिवन ठप्प प्रायः छ । सडकहरु सुनसान अवस्थामा छन् । उद्योग कलकारखानाहरु सबै बन्द छन् । मानिसहरु जे जहाँ जुन अवस्थामा थियो त्यहि अवस्थामा घरमा थुनिएका छन् । कामको सिलसिलामा विदेश गएका ५० औं लाख मानिसहरु अनेक दुःख पीडा सहेर विदेशमा कोरोना महामारीसँग लडिरहेका छन् । कोरोना संक्रमण नभएका मानिसहरु पनि विदेशमा रोजगार विहिन अवस्थामा छन् । कम्पनीका मालिकहरुले धेरैलाई निकालिसकेका छन् । उनीहरुलाई राष्ट्रवादको बारेमा सोध्ने हो भने नेपाली भूमीमा सहज तरिकाले आई काम गर्ने वातावरण हुनु हो । देशका नागरिकलाई केन्द्रमा राखेर महामारी विरुद्ध लड्दा राज्य सफल हुनेछ र राज्यप्रति नागरिक पनि अनुग्राहित हुने थिए । तर परिथिति त्यस्तो छैन सत्ता संचालनकहरु कुवेलाको राष्ट्रवादी नारा अलापिरहेको छ भने जनता रोग र भोकसँग जुधिरहेको छ ।

नागरिकले महसुस गरेको एक्लोपन सकरारको डाटामा अटाएको छैन । रेमिट्यान्स पठाएर कुल गार्हस्थ्य उत्पादनमा योगदान गर्ने आप्रवासी कामदारलाई यतिवेला सबैभन्दा धेरै आवश्यकता सरकारको छ । साँझबिहान खान परिश्रम गरेर भोक टार्ने श्रमिक वर्गलाई यतिवेला सबैभन्दा धेरै सरकारको ढाडस चाहिएको छ । सिमानामा झोलीझाम्टा बोकेर भोको र थकित अनुहारसहित घर फिर्ने आशामा बसिरहेका नेपालीलाई यतिवेला सरकारको हात चाहिएको छ तर सरकार संवेदनाशून्य छ, टुलुटुलु तमासा हेरिरहेको छ । यसले राष्ट्रवाद बलियो होइन, झन् कमजोर बनाउँछ । नागरिकमा राष्ट्रर राष्ट्रियताप्रति वर्ग होइन, वितृष्णा जाग्नेछ ।

अन्त्यमा नेपाल सरकारले आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको छ । यसमा लिपुलेक, लिम्पियाधुरा र कालापानी पनि समेटेको छ । यो ढिलै भएपनि साहसीक कदम हो । यसले नेपालीलाई खुसी बनाएको छ । नक्सा त आयो, तर अगाडिको बाटो निकै गम्भीर र चुनौतिपूर्ण छ । यस विवादलाई राजनीतिक र कुटनीतिक माध्यमबाट समाधान गरिनुपर्दछ । सँगसँगै कोरोना समस्याले नीम्त्याउने भोकमरी, वेरोजगारी, औषधो पचारको अभाव लगायत अनेकौ समस्याबारे आजै आकलन गरी त्यसका लागि चुस्त तयारी गर्नु पर्ने समस्या आइसकेको छ । सरकारले भूगोसँग सँगै जनजीविकाम पनि राष्ट्रवाद नदेख्ने हो भने त्यो राष्ट्रवाद अपुरो हुन्छ । त्यतिमात्र होइन । त्यो राष्ट्रवाद कथित राष्ट्रवाद हुन्छ । मौसमी राष्ट्र हुन्छ । मौसमी राष्ट्रवाद पटक पटक नेपाली जनताको देख्दै आएका छन् ।

प्रकासित मिति २०७७–२–१२

फेसबुकबाट तपाईको प्रतिक्रिया