जनताको आशा अपेक्षालाई काम गरेर विश्वासमा परिणत गर्छु : मन्त्री पाण्डे

काठमाडौं ४ भदौ

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले सरकारले दिएको जिम्मेवारीलाई आत्मसात् गर्दै जनताको आवश्यकताअनुरुपको विकासको काम गर्ने बताएका छन्।  नेकपा माओवादी केन्द्र सङ्घीय जनसम्पर्क मञ्च पालुङ्टार गोरखाद्वारा शनिबार आयोजित सम्मान तथा बधाई कार्यक्रममा मन्त्री पाण्डेले आफूले मन्त्री पद सम्मालिरहँदा सहिदले देखाएको बाटोमा कटिबद्ध हुँदै निरन्तर रुपमा जनताको आवश्यकताअनुरुपको विकासको काममा समय खर्च गर्ने प्रतिबद्धता व्यक्त गरे।  “जति समय मन्त्री पदमा रहिन्छ, जनताको आशा अपेक्षालाई काम गरेर विश्वासमा परिणत गर्छु”, मन्त्री पाण्डेले भने। संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन अत्यावश्यक रहेको बताउँदै उनले भूकम्पपीडितको समस्या समाधान, आर्थिक समृद्धि नै वर्तमान सरकारको प्राथमिकतामा परेकाले सोहीअनुरुप काम गरिने उल्लेख गरे।  सङ्घीय जनसम्पर्क मञ्चकी अध्यक्ष निर्मला मल्लले मन्त्री पाण्डेलाई कुनै एक व्यक्ति र समुदायका लागि होइन आम नेपाली नागरिकका लागि सामूहिक रुपमा विकासको काम गर्न अनुरोध गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया