जनताको सुख-दुखको साथी ‘रेडियो नेपाल’ (क्वारेन्टिन बिशेष डायरी)

टिका भण्डारी

सिंहदरवार सुनसान छ। रेडियो नेपाल परिसर चकमन्न छ। मास्टर कन्ट्रोल रुममा प्रसारकहरु बिशेष सामग्री प्रसारणमा ब्यस्त छन्। लेखक स्वयम् यसको जिम्मेवारीमा छ। भर्खरै एक चरणको कार्यक्रम प्रस्तुत गरेर केहिबेरको लागि रेडियो नेपाल परिसरमा स्थित क्वारेन्टिन कुटी भित्र बसेर यो डायरी लेखिरहेको छ। स्टुडियो भित्रको प्रसारण व्यस्तता, बाहिरी संसारसंग एक किसिमको सम्बन्ध विच्छेदको अवस्था। चरा चुरुङ्गीको आवाज बाहेक अन्य अवाज हत्तपत्त कानमा आइपुग्दैन। काग कराउँ छ, कुकुर भुक्छ, ओल्लो पल्लो कोठामा बजेका मोबाइलका रिङ्टोनहरु घरि घरि कानमा ठोक्किन पुग्छन् । प्रकृति पनि गज्जब छ। मानिसलाई कष्ट पर्दा मौसमलाई पनि केहि कष्ट भइरहेको जस्तो घरि कहिले बादल लाग्छ, घरि सफा आकास, घरि हावाहुरी आउला जस्तो, हिजो त असिना पानी नै बर्सियो केहीबेर। तर वातावरण निकै सफा छ। आवाजको प्रतिध्वनिता सर्लक्कै बढेको छ। लाग्छ कोलाहलबाट धेरै टाढा म कुनै अनकन्टार वस्तीमा छु। जहाँ केहि मानिसहरु सुन्यतामा नयाँ जीवन खोजिरहेका छन्।

कोरोना भाइरसको कोभिड–१९ को विश्वब्यापी महामारीका वीच सिङ्गो देश लकडाउन भएको नवौं दिन रेडियो नेपालको क्वारेन्टिनमै रहेर यो डायरी लेखिररहँदा आज चैत्र २० गते रेडियो नेपालको जन्मदिन, त्यो बार्षिकोत्सवको भव्यता, त्यो साङ्गीतिक रौनक, त्यो अविष्मरणीय पल मेरो आँखामा नाचिरहेको छ। सम्झनारुपी डायरीका पानाहरु एक एक गरि पल्टिरहेका छन्। एकपटक रेडियो नेपालको स्मृतिमा उनिन पुगेको छु। रेडियो नेपालको जन्म दिन, बार्षिकोत्सवको ऎतिहासिक क्षण, ती सबै कुराहरुलाई थाँती राखेर रेडियो नेपालका हामी प्रसारकहरु यो बेला कोरोना भाइरस कोभिड –१९ क्वारेन्टिन बिशेष प्रसारणमा जुटिरहेका छौँ। २४ सै घण्टा सूचना, समाचार, कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रण गर्ने कार्यलाई सञ्चार सहजीकरण गर्ने उदेश्यका साथ बिशेष प्रसारणमा जोडिएका छौँ।

रेडियो नेपालको जन्मदिन, ७० औं बर्षमा प्रवेश

चैत्र २० गतेको दिन रेडियो नेपालबाट बोलिरहँदा घरि घरि हामीलाई रेडियो नेपालको स्थापना कालदेखिका अनेकन सम्झनाहरुले निरन्तर चिमोटिरहेका छन्। प्रसारक साथीहरु एकपटक इतिहास तर्फ़ फर्किन बाध्य भएका छन्। लाग्छ, पहिलो पटक नेपाली जनताको रेडियो सेटमा गुन्जिएको त्यो ऐतिहासिक क्षण साँच्चिकै आविष्मरणीय नै छन्। २००७ चैत्र २० गते रेडियो नेपालको स्थापना भएको त्यो पल इतिहासमै एउटा संझन लायक दिन थियो। त्यसको ठिक ४३ दिन अघि मात्र क्रान्तिको वालिभेदीबाटै नेपालमा प्रजातन्त्रको सुनौलो घाम उदाएको थियो। राणा शासन बिरुद्दको क्रान्ति निष्कर्षमा पुगे संगै नेपाली जनताको प्रजातन्त्र प्राप्तिको ब्यग्र प्रतिक्षाको घडी पनि समाप्त भएको थियो। १०४ बर्षको निरङ्कुश जहानियाँ शासन व्यवस्था ढलेसंगै नेपाली जनतामा अभिव्यक्तिको स्वतन्त्रता र सुसुचित हुन पाउने हकलाई संरक्षित गर्न एउटा राष्ट्रिय सञ्चार माध्यमको आवश्यकता अनुभूत गरिएको थियो। त्यो बेला जनताको विचार जनतामै पुर्याउन, राष्ट्रको आधिकारिक सूचना र मनोरञ्जनमा बिषयवस्तु जनसमक्ष लैजान रेडियो नेपालको परिकल्पना गरिएको थियो। जनताको भाषा बोल्ने जनतामै समर्पित त्यहि ऐतिहासिक राष्ट्रिय सञ्चार माध्यम हो यो, राष्ट्रको जेठो पाको संस्था, रेडियो नेपाल राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार। २००७ सालदेखि आजका दिनसम्म अनवरत सूचना र सञ्चारको क्षेत्रमा सरकार र जनतावीच पुलको रुपमा प्रसारण सेतुको रुपमा काम गरि रहेको छ। २००७ साल, २०१७ साल, ३५-३६ साल, ४६ साल, ६२-६३ साल अनेकन राजनीतिक परिवर्तनहरुको साक्षी बनेको रेडियो नेपाल समयको प्रवाह संगै निरन्तर अघि बढी रहेको छ। आफ्ना सूचना, समाचार, कार्यक्रम, सङ्गीत र कला, साहित्यका अनेकन विविधता भित्र समाबेशी राष्ट्रको समावेशी आवाजका रुपमा आफुलाई प्रस्तुत गरिरहेको छ।

चैत्र २० को सङ्गीत उत्सव

सम्झन्छु, आजको दिन रेडियो नेपाल परिसरमा निर्माण गरिएको त्यो बिशेष मञ्च। बर्षौंदेखि देशका कुन काप्चामा लुकेर बसेका प्रतिभाहरुका सपनाले मुर्तरुप लिने यो एक स्वर्णिम अवसर। लामो समयदेखिको साधना, अभ्यास र साङ्गीतिक आरोहणको मचानमा एउटा नयाँ अध्याय थप्ने चरण। देशभरिका नवोदित गायक गायिकाहरुको साङ्गीतिक प्रतियोगिता र प्रतिष्पर्धाको त्यो उत्कर्ष। उनीहरुका शुर, ताल, लय, पन, मिठास, गमक, मिड र मूर्च्छनाहरुभित्रै अँटाएका तिनका उच्च जोश जाँगर र उत्साहहरू। जीवनमा प्रथम पटक रेडियो नेपालको भुईं टेक्ने ती अबोध सपनाहरु। रेडियो नेपालको बेग्लै चहलपहल, बेग्लै रौनक बेग्लै तामझाम चैत्र १८ गतेको। आहा ‘त्यो क्षण, त्यो सुमधुर पल।‘,त्यो रमाइलो जमघट र साङ्गीतिक इतिहासको एउटा कालजयी बिरासत। सम्झंदा भावविभोर भएर सतिसाल झैं मन ठिङ्ग उभिन्छ। सङ्गीतका आरोह अवरोहमा कम्पित तिनका आवेग, उदवेग र सम्बेदना मिश्रित सुरम्य आवाजहरु कोरोना भाइरस (कोभिड-१९ का बिश्वब्यापी सङ्क्रमणसंगै ओझेलमा परेका छन्। उध्याउँदै, उभ्याउँदै, परिस्कृत र परिमार्जित गर्दै गरेका तिनका बोधगम्य सुरिला आवाजहरु आज अवरुद्द बनेको अनुभूति भइरहेको छ। धेरैलाई आजको दिन त्यति धेरै महत्व नहोला तर चैत्र २० गते रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी आधुनिक सङ्गीत प्रतियोगितामा उत्कृष्ट बनेर नेपाली सङ्गीतमा आफ्नो भाग्य र भविष्य अजमाउनेहरुका लागि भने आजको दिनले नेपाली सङ्गीतको एउटा तप्कालाई राम्रैगरी पिरोलेको हुन सक्छ। चिमोटेको हुनु पर्दछ। कता कता दुखाएको र अफसोचमा पक्कै पारेकै पनि हुन सक्दछ। बि।स। २०२२ सालदेखि सङ्गीतको राष्ट्रब्यापी प्रतियोगिता आयोजना गर्दै तिनै असंख्य सङ्गीत कर्मीहरुसंगै हाँसखेल गर्दै हुर्की रहेको, नेपाली सङ्गीतको क्षितिज फराकिलो पार्दै निरन्तर उनीहरुका अमुल्य सिर्जना प्रवाह गरिरहेको रेडियो नेपालको जीवनका लागि पनि आजको दिन साँच्चिकै अविष्मरणीय छ।

क्वारेन्टिन र बिशेष प्रसारण

रेडियो नेपालका हामी प्रसारकहरु क्वारेन्टिनमै रहेर कोरोना भाइरस कोभिड -१९ बिशेष समाचार र कार्यक्रमहरु चौबिसै घण्टा प्रसारण गरिरहेका छौँ। समाचारका विषयवस्तु माथि नै केन्द्रित रहेर विभिन्न विशेष कार्यक्रमहरु प्रसारण गरिरहेका छौँ। यो बिशेष प्रसारण यात्रामा डा. नवराज लम्साल, हरिशरण लामिछाने, सन्तोष रेग्मी, प्रबिण पोखरेल, सुनिता लामा,राजेन्द्र बिक्रम शाही, अर्जुन सापकोटा, टीका खंड़का, रमिता यादव, र बिनोद पोखरेल समाचार निर्माण तथा प्रसारणमा जुटिरहनु भएको छ भने प्रसारकहरु अमरध्वज लामा, राम थापा अविरल, राजन क्षेत्री, मनुका कुँवर र लेखक स्वयम् निरन्तर बिशेष प्रसारणमा जुटिरहेको छ। कोरोना भाइरसवारे जनचासोका बिषयहरु, जनताका समस्या र गुनासाहरु, त्यसको समाधानका लागि सम्बन्धित निकायको द्यानाकर्षण, कोरोना अपडेट, आधिकारिक व्यक्तित्वका धारणाहरु, विज्ञ व्यक्तित्वका सल्लाह सुझावहरु, नेपाल सरकारका आधिकारिक धारणा, लकडाउनको अवस्थामा आम जनताले पुर्याउनु पर्ने सावधानीहरु आदिबारे सम्बन्धित क्षेत्रका व्यक्तित्वहरुको आधिकारिक बिचारहरु प्रसारण भइरहेका छन्। लकडाउनबारे राम्ररी सुसुचित नहुँदा लकडाउन उलङ्घनका घटना, अत्यावश्यक सेवाका कुरा, मनोबैज्ञानिक त्रासका कुरा, कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका अनेकन बिषयवस्तुमा केन्द्रित रहेर कार्यक्रम प्रस्तुत गरिरहेका छौँ। त्यसलाई प्राविधिकरुपमा सङ्गठित गर्ने काम इञ्जिनियरिङ्तर्फका साथीहरू भिम बिश्वकर्मा, रामकाजी आचार्य, शङ्कर भण्डारी, लक्ष्मण बिष्ट, सुदर्शन अर्याल, पुष्परत्न बज्राचार्य, सतन राउत क्वारेन्टिनमै रहेर सेवा प्रवाह गरिरहनु भएको छ। ७७ जिल्लाका रेडियो नेपालका सम्बाददाताहरुले समयसमयमा त्यहाँको ताजा वस्तु स्थिति जानकारी गराउँदै हुनुहुन्छ। लकडाउनको बेला रेडियो नेपालका श्रोताहरुले समेत सहभागिता जनाएर सम्बाद मार्फत जनताको आवाज जनतामै पुर्याउने कार्यमा सहयोग गरिरहनु भएकै छ।

सुख दुखको साथी, भूकम्पको सम्झना

सम्झन्छु रेडियो नेपाल जहिले पनि नेपाली जनताको हरेक सुखदुखमा संगै छ। यो आम जनताको सुखदुखको साथी बनेको छ। २०७२ साल बैशाख १२ गते शक्तिशाली भूकम्प आउँदा रेडियो नेपालका प्रसारकहरु ज्यानको पर्वाह नगरी बोलिरहेका थिए। शक्तिशाली भूकम्पका झट्काहरु लगातार ५० सेकेन्ड सम्म गएको थियो तर १ महिनासम्म रेडियो नेपालले बिशेष प्रसारण मार्फत भूकम्पको अवस्था, त्यसले धनजनमा पुर्याएको क्षति र त्यसबाट अपनाउनु पर्ने सावधानीहरुका बिषयमा जनतालाई सचेत तुल्याइरहेको थियो । भूकम्पको डर त्रासबाट जनतालाई माथि उठाउन हामी प्रसारकहरु प्रसस्तै सूचना, शन्देश, समाचार र तत् सम्बन्धी कार्यक्रमहरु दीइनै रहेका थियौं। अधिकांस सञ्चार माध्यमहरु अवरुद्द त्यो अवस्थामा समेत प्रसारण कार्यमा प्रसारकहरु निरन्तर लागिनै रहेका थियौं ।

मलाई राम्रैगरी सम्झना छ भुकम्प गएको त्यो बेला सम्पादक हरिशरण लामिछाने रेडियो नेपाल भन्दा केहि पर क्यान्टिनमा चिया पिउंदै हुनुन्थ्यो। त्यो अवस्थामा उहाँ भाग्नु भएन। बरु दौड्दै भूकम्पले हल्लिरहेको माइक्रोफोन सम्हाल्न पुग्नु भएको थियो। अत्तालिएको मानसिकतालाई संयमित बनाउँदै आत्मबल बलियो बनाउन र आइपरेको सङ्कटमा बुद्दि विवेक र संयमताले काम गर्न अनुरोध गरिरहनु भएको थियो। त्यस पछि क्रमस अन्य प्रसारकहरु प्रसारणमा जोडिनु भएको थियो। भूकम्पले रेडियो नेपाल अस्तव्यस्त बनेको थियो तर रेडियो नेपाल अवरुद्द हुन पाएन। रेडियो नेपालको आवाज अझ झन् ससक्त बन्दै जनताको सेवामा अनवरत जुटेको थियो। प्रसारकहरुको मनोवल निकै उच्च थियो। सङ्कटको बेला नै हो प्रसारकहरुले पनि आफ्नो क्षमता प्रदर्शन गर्ने र आफ्नो उचाई बढाउने। मानिसहरु भन्थे रेडियो नेपाल यो बेला निष्पट्ट अन्धकारमा बलिरहेको दियो बन्यो, यसले ढलेका गलेका मनहरुलाई सम्हाल्यो, सबैमा आशाको सञ्चार गरायो, गराइरहेको छ।

कोरोनाको कहर

आज झन्डै झन्डै परिस्थिति शक्तिशाली भूकम्पीय कम्पन भन्दा भिन्न छैन। मात्रै भूकम्पका बेला मानिसहरु घर बाहिर थिए आज घर भित्र छन्। प्रसारकहरु क्वारेन्टिनमा छन्। रेडियो नेपाल क्वारेन्टिन बसेर जे जस्तो पाक्छ त्यहि खाएर, जे जस्तो छ त्यसमै रात बिताएर आफ्नो नित्य कर्म प्रसारणमा पल पल समय खर्चिरहेका छौँ। कोरोना भाइरस कोभिड -१९ को बिश्वब्यापी सङ्क्रमणको ग्राफ उक्लिँदो अवस्थामा छ। विश्वमा ४४ हजार भन्दा बढी मानिसहरुको मृत्यु भईसकेको छ, संक्रमितहरुको संख्या १० लाख पुग्ने तयारीमा छ। साधन स्रोतले सम्पन्न शक्तिशाली राष्ट्रहरु झनै यसको ठुलो मारमा छन्। निशानामा छन्। हाम्रा भन्दा उनीहरुका घाउहरु अझ गहिरा छन्। संक्रमणको दायरा अझ फराकिलो बन्दै गएको छ।

लक्डाउन र प्रसारण विषयवस्तु

जीवनमा पहिलो पटक लकडाउन झेलेका हाम्रा देशका नागरिकका आफ्नै समस्याहरु छन्। मानिसहरु घर बाहिर निस्कने अवस्था छैन। तर रेडियो नेपाल रत्तिभर डगमगाएको छैन। दिनरात नभनी आफ्नो कर्म क्षेत्रमा जुटी नै रहेको छ। हरेक नेपालीको दुखमा साथ् दिनु, सुखमा सुख बाँड्नु रेडियो नेपालको एउटा संस्कार नै बनि सकेको छ। चुनौतिहरु झेल्दै, सङ्कटसंगै खेल्दै जनताको दुखमा मल्हमपट्टी लगाउनु, आँट, हिम्मत र भरोसा दिनु, सुचनाको माध्यमबाट उनीहरुलाई सचेत तुल्याउनु, सचेतना र सावधानी अपनाउन सिकाउनु यसको मूल धर्म बनिसकेको छ। अहिले हामी जन सरोकारका बिषयहरुमा बढी केन्द्रित भएका छौँ। समाजको सिमान्तिकृत वर्गसंग बढी जोडिन, उनीहरुको समस्या हल गराउने तर्फ़ एउटा दरिलो र भरपर्दो माध्यम बन्न खोजिरहेका छौँ। उपभोगताका कुरा, दैनिक आपूर्तिका कुरा, औषधी उपचारका कुरा, अस्पतालका कुरा, ग्यास ,पेट्रोल, र डिजेलका कुरा, त्यसको सहज आपूर्तिका सवालहरु उठाई रहेका छौँ। गर्भवती महिला, सुत्केरी, वृद्द, वृद्दा, अपाङ्गता भएका व्यक्ति, दृष्टिविहीन, फरक क्षमता भएका अन्य वर्ग, आश्रय स्थल लिई बसेकाहरु, श्रमिकहरु, दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु, गरिव किसानहरुको विपत्तिमा साथ् सहयोग र राहत उपलब्ध गराउने निकायहरुलाई झक्झक्याई रहेका छौँ। अप्ठ्यारोमा परेका नेपालीहरुको समस्या उपर सम्बन्धित निकायको ध्यान आकृष्ट गरिरहेका छौँ। मुलकुरा हामी कोरोना भाइरस (कोभिड -१९)_को रोकथाम र नियन्त्रणमा भैरहेका असंख्य बिषयहरु जनसमक्ष पुर्याई रहेका छौँ। नेपाल सरकारले विभिन्न निर्णयहरु, त्यसको कार्यान्वयन र सहजीकरणका सवालहरुलाई पछ्याई रहेका छौँ।

क्वारेन्टिनमा कसरी बित्छ प्रसारकहरुको समय ?

क्वारेन्टिनको मूल अभिप्राय शारीरिकरुपमा बिहिरी संसारसंग निकटतामा नरहनु हो। सामाजिक दुरी कायम गर्नु हो। लकडाउन शुरु भएपछी ९ दिनदेखि कोहि पनि प्रसारकहरु रेडियो नेपाल परिसर बाहिर निस्किएका छैनन्, र बाहिरबाट कसैलाई पनि रेडियो नेपालमा प्रवेश दिईएको छैन । दुख सुखमै प्रसारक, प्राविधिक र सहयोगीहरुको दैनिकी चलिरहेको छ। बिहान ४- ५५ बजे रेडियो नेपालको प्रभातकालीन प्रसारण शुरु हुन्छ। बिहान १० बजेको समयसम्म समाचार महाशाखाका प्रसारकहरुले प्रसारणको नेतृत्व गर्नु हुन्छ, हरेक घण्टा समाचार । १० बजे पछि कार्यक्रम महाशाखाका हामी प्रसारकहरु बिशेष प्रसारणमा जुट्छौँ। सवा ३ बजे देखि ६ बजेसम्म प्रादेशिक प्रसारण केन्द्रहरुबाट प्रदेशका कार्यक्रमहरु प्रसारण हुन्छन्। तर त्यो समयमा बागमती प्रसारण केन्द्रका कार्यक्रमहरु सिंहदरवारबाटै सञ्चालन हुन्छन्। बिहान नुवाई धुवाई, त्यसपछि प्रसारणमा कार्यतालिका अनुसार प्रसारणमा नपरेका साथीहरु केहीबेर मर्निङ्वाक गर्ने, सामाजिक दुरी कायम गरेर फुटबल खेल्ने, पालै पालो चिया चमेना गर्ने, अनि पालै पालो प्रसारण कार्य जुट्ने। एकछिन खेल्यो, एकछिन बोल्यो, एकछिन गफियो, केहीबेर रमाइलो कुराकानी गर्यो, फलफुल खायो, आफ्नो कपडा आफै धोई पखाली गर्यो त्यसपछि स्टुडियोको काममा ब्यस्त। स्टुडियो छिर्ने बेलामा हातमा सेनिटाइजर लगायो, स्टुडियोबाट बाहिर निस्के पछि फेरी सेनिटाइजर, क्वारेन्टाइन कोठामा आइसके साबुन पानीले हात धोयो अनि मन तातो पानी पियो, मनलाई शान्त पार्यो, केहि लेख्यो, केहि पढ्यो, केहि सुनायो, केहि चुनौती, केहि अवसर,केहि नयाँ अनुभव र केहि सिकाई,बुझाई समेत। यसरि नै बित्दैछन् रेडियो नेपाल क्वारेन्टिनका दिनहरु र हाम्रो निरन्तर प्रसारण यात्रा । हाम्रा सुप्रसिद्द प्रसारक हरिशरण लामीछाने हिजोको ग्रुमिङ्मा उत्साह थप्दै भन्दै हुनुन्थ्यो( हरेक कामले काम सिकाउँछ, ज्युन सिकाउँ छ, चुनौतीमा रम्न सक्ने, हाँस्न सक्ने, बाँच्न सक्नेलाई नै जिन्दगीले पनि सहि लक्षमा पुर्याउँ छ साथी हो, यो सङ्कट त हुँदै हो तर यो हरेक प्रसारकहरुका लागि स्वर्णीम अवसर पनि हो, अब स्टुडियो छिरौं ।

लेखक टीका भण्डारी रेडियो नेपालका कार्यक्रम महाशाखाका प्रमुख हुनुहुन्छ।

प्रकासित मिति २०७६–१२–२०

फेसबुकबाट तपाईको प्रतिक्रिया