जननेता मदन भण्डारी देशभक्त नायक: प्रधानमन्त्री

काठमाडौँ १४ असार-
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय जननेता मदन भण्डारी अग्रगामी विकासमुखी देशभक्त नायक भएको बताएका छन्। मदन भण्डारी मेमोरियल कलेजको १५ औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले स्वर्गीय जननेता भण्डारी सामाजिक न्यायको चिन्तन राख्ने देशभक्त नायक भएको बताए।
प्रधानमन्त्री ओलीले भने,’मदन भण्डारी बहुआयामिक व्यक्तित्व, वैज्ञानिक र व्यावहारिक, फराकिलो चिन्तन भएको नेता हो, देशको विकासको चिन्ता गर्ने देशभक्त नेता हो।’ शिक्षा नीति र प्रणालीमा रहेका कमजोरीले नयाँपिँढीको क्षमतालाई उजागर गर्नेगरी वातावरण दिन नसकेको भन्दै उनले त्यस्तोखालको शिक्षा नीति ल्याउनेतर्फ सरकार अघि बढिरहेको उल्लेख गरे ।
नयाँपिँढीलाई आफ्नो विषयअनुसार क्षमता उजागर गर्ने वातावरणको सिर्जना गर्न सके धेरै राम्रा प्रतिभाहरु उजागर हुने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले सो कलेज स्थापनाको सुरुको अवस्था स्मरण गर्दै भने,’कलेज सुरु गर्दा पैसा थिएन, पूर्वाधार थिएन, इच्छाशक्ति र सङ्कल्प मात्रै थियो, निकै कठिनाइ र सङ्घर्षले कलेज यहाँसम्म आएको हो।’
कलेजका प्रमुख डम्बरबहादुर हमालले कलेजको प्रगति विवरण प्रस्तुत गर्दै प्रत्येक क्षेत्रमा विद्यार्थीले राम्रो गरिरहेको चर्चा गर्दै चीन सरकारको सहयोगमा छ जना विद्यार्थीलाई एमबिबिएस र इन्जिनियरिङ अध्ययनका लागि अवसर आएकोप्रति निकै हर्षित भएको सुनाए। कलेजले यो वर्षको ‘मदन भण्डारी शिक्षा पत्रकारिता पुरस्कार’ त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका पूर्व प्रमुख तथा प्राध्यापक पी खरेललाई प्रदान गरेको छ। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया