जन्मेको ३ घण्टामै अस्पतालबाटै शिशु चोरी भएपछि…

वीरगञ्ज २२ माघ

प्रसव बेथाले च्यापेपछि वीरगञ्ज उपमहानगरपालिका–१ छपकैयाकी रमावतीदेवी पासवानले जेठी बुहारी आशालाई शुक्रबार बिहानै नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्‍याइन्। आमा र पेटमा रहेको बच्चाको स्वास्थ्य ठीक थियो। आशाले अस्पतालको प्रसूति वार्डमा १० बजेर ४० मिनेटमा सामान्य अवस्थामै छोरो जन्माइन्। बच्चा सफा गरेर नर्सले हजुरआमा (रमावती) को जिम्मा लगाए। अनि सुत्केरीलाई वार्डमा सारे। त्यतिबेलासम्म रमावतीकी कान्छी बुहारी खुस्बु पनि आइसकेकी थिइन्। कान्छी बुहारी र रमावती दुवै मिलेर परिवारको नयाँ सदस्य र सुत्केरीको रेखदेख गर्न थाले। सुत्केरी बुहारी शौच जान उठ्दा अत्यधिक रक्तस्राव भएपछि रमावतीले स्टाफ नर्सलाई खबर गरिन्। नर्सले वार्डमै आएर शय्या नम्बर ६५ को वरिपरि साडी बेरेर रगत सफा गरे। साढे १ बजेतिर छेउकै एक सुत्केरीलाई सुई लगाउन नर्स आउँदा पनि अवस्था सामान्य नै थियो। त्यसको केही बेरपछि नवजात शिशुकी हजुरआमा रमावती ‘हमार बबुवा के कौन लेगइल’ भन्दै रुँदै कराउँदै अस्पताल परिसरतिर दौडिइन्। उनले अस्पतालमा तैनाथ प्रहरी र सुरक्षा गार्डलाई बच्चा चोरी भएको बताइन्। रमावती भक्कानिने क्रम नरोकिएपछि सबै गम्भीर भए। प्रसूति वार्डबाट बाहिर निस्कने प्रत्येकलाई द्वारमा जाँच गर्न थाले। शय्यामा आराम गरिरहेकी आशादेवी नवजात छोरा चोरी भएको सुनेपछि अचेत भइन्।

चारैतर्फ खोजबिन गरेर पनि बच्चा फेला नपरेपछि परिवारले आफन्तलाई खबर गर्न थाले। अपराहन २ बजेपछि अस्पतालमा होहल्ला र नाराबाजी सुरु भयो।  नर्सकै लापरबाहीले बच्चा हराएको आरोप लगाउँदै परिवार र आफन्तले नर्सलाई गाली गर्न थाले। त्यसपछि नर्सहरूले वार्ड छाडेर गएकाले वार्डका अन्य सुत्करी महिलासमेत अलपत्र परेका छन्। आक्रोशित भीडले अस्पताल गेट अगाडि टायर बालेर प्रदर्शन गरेको थियो।  उपक्षेत्रीय अस्पतालमा झण्डै ४ लाख रुपैयाँ खर्चेर ‘सीसीटीभी’ जडान गरिए पनि कुनै पनि चालु अवस्थामा छैनन्। कमिसनको चक्करमा कमसल क्यामेरा खरिद गरिएकाले जडान भएको केही दिनमै क्यामराले काम गर्न छोडेको कर्मचारी बताउँछन् ।  प्रसुति गृहमा पहिलोपटक नवजात शिशु हराएपछि चिकित्सक, नर्स र कर्मचारी स्तब्ध छन् । ‘यही प्रसूति वार्डमा काम गरेको १७ वर्ष भयो,’ स्टाफ नर्स गीता केसीले भनिन्, ‘पहिलो पटक बच्चा चोरीको घटना सुन्दै छु, मेरो आफ्नै मुटु कामिरहेको छ।’  मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले ‘नर्मल डेलिभरी’ भएकाले बच्चा परिवारको जिम्मा लगाएर सुत्केरीलाई वार्डमा सारिएको बताए। ‘यस्तो घटना कहिल्यै भएको थिएन,’ डा। साहले भने, ‘प्रहरी प्रशासनको सहयोगमा बच्चा खोजीमा लागेका छौं ।’ प्रसूति गृहमा जो कोहीले सजिलै प्रवेश पाउने गरेको छ। कान्तिपुरमा समाचार छ

फेसबुकबाट तपाईको प्रतिक्रिया