जब डोनाल्ड ट्रम्पलाई ओबामाले भेटे …

काठमाडौं २६ कात्तिक, ।

ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वागत गरेका छन् । भेटपछि नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामासँगको भेट आफ्नो लागि सम्मानको विषय भएको बताएका छन् भने ओबामाले यो भेटलाई शानदार भनेका छन् । ओवल कार्यालयमा डेढ घन्टासम्म चलेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रपति ओबामाले आफूहरुबीच घरेलु र अन्तराष्ट्रिय मामिलामा कुराकानी भएको बताए । ओबामाले भने-म नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यही भन्न चाहन्छु कि उनी सफल हुन् । किनकी उनको सफलतामा नै अमेरिकाको सफलता लुकेको छ ।

उनका अनुसार भेटमा सत्ता हस्तान्तरणका साथसाथै विदेश नीतिबारे पनि कुराकानी भएको छ । र, ट्रम्पले जसरी आफ्नो टिमसँग मिलेर काम गर्न चाहेका छन, त्यसबाट आफू प्रभावित भएको समेत ओबामाले बताए ।

ट्रम्पले पनि भेटका लागि ओबामालाई धन्यवाद दिए । उनले भने, हामीले अमेरिकाको उपलब्धीका साथसाथै चुनौतीको पनि चर्चा गर्यौं । म अमेरिकाको हितका लागि राष्ट्रपति बाराक ओबामासँग मिलेर काम गर्न चाहन्छु । मलाई भविश्यमा उनको सल्लाह आवश्यक छ ।
ट्रम्पले अघि भने, उनीसँगको भेट मेरा लागि सम्मानको विषय हो । मलाई आश छ कि आगामी दिनमा पनि उनीसँग भेट भइरहन्छ ।

ओबामासँग ९० मिनेट वार्ता गरेपछि डोनाल्ड ट्रम्प ह्वाइट हाउसबाट बाहिरिएका छन् । भेटका लागि उनी न्यूयोर्कबाट आफ्नो निजी विमानमा वासिङटन एयरपोर्टमा उत्रिएका थिए ।

उनीसँग पत्नी मेलानिया पनि थिइन, जसले अमेरिकाकी वर्तमान प्रथम महिला मिशेल ओबामासँग भेट गरेकी छन् ।
राष्ट्रपति पदको चुनावका क्रममा ओबामा र ट्रम्पबीच आरोप प्रत्यारोप भएको थियो । ट्रम्पले ओबामाको अमेरिकी नागरिकतामाथि प्रश्न उठाएका थिए भने ओबामाले पनि उनलाई यो पदका लागि अयोग्य घोषणा गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया