बिजनेसपाटी २१ कार्तिक
आख्यानकारको परिचय बनाएकी जया राईले हालै ‘भर्जिनिया उल्फ आँसुका फूल’ नामक नियात्राकृति बजारमा ल्याएकी छन् । स्वदेश–विदेशका विभिन्न चित्ताकर्षक भ्रमणहरुमा सँगालिएका गहनतम अनुभूतिहरू समेटिएका १५ रचनाहरु समाविष्ट नियात्राकृति बुधबार राजधानीमा विमोचन गरियो । कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकूलपति वैरागी काइँलाले विमोचन गरेको सो कृतिमाथि एमाले नेता तथा साहित्यकार प्रदीप नेपाल, डा. ज्ञानू पाण्डे, प्रा.डा. कुमार कोइराला, डा. अमर गिरीलगायतले संक्षिप्त समीक्षत्मक टिप्पणी गरे ।
बागबजारस्थित सिटी म्याक्सको सभाकक्ष्मा भएको कार्यक्रममा श्रवण मुकारुङ, डा. सुष्मा आचार्य, निर्मोही व्यास, चन्द्रप्रसाद भट्टराई, केशव पराजुली, सुकन्या वाइबालगायतको आतिथ्यता रह्यो ।
कार्यक्रममा बोल्दै लेखिका राईले सन् २००४ देखि हालसम्म लेखिएका प्रतिनिधिमूलक यात्रासंस्मरणहरु यस कृतिमा समेटिएको बताइन् । विगत २३ वर्षदेखि बेलायत रही विभिन्न सामाजिक–साहित्यिक गतिविधि समेतमा भूमिका निर्वाह गर्दै आएकी राईको यो चौथो पुस्तकाकार कृति हो । भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको यो कृतिको मूल्य २ सय ३० रुपियाँ रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया