जिल्लाका अधिकांश झोलुङ्गे पुल जीर्ण बन्दै

काठमाडौँ १८ पुस
बाजुरा- सडक सञ्जाल जोडिएपछि जिल्लाका अधिकांश झोलुङ्गे पुल जीर्ण बन्दै गएका छन् । सडक सञ्चालन भएपछि बाढी आएका बेला तर्नलाई बनाइएका झोलुङ्गे पुल पछिल्लो समय प्रयोगमा नआउने गरेको पाइएको छ । बाजुराको बूढीगंगा नगरपालिकामा पर्ने बाजुरा–अछाम जोड्ने इकडिगाडको पुल, बार्जुगाड र गुइगाड रहेका झोलुङ्गे पुल सडक निर्माणपछि प्रयोग गर्न छोडेको स्थानीयवासी तपेश रावलले बताउनुभयो । साँफे मार्तडी सडक निर्माण नहँुदा आवतजावत गर्ने झोलुङ्गे पुलमा खिया लागेको छ ।

यस्तै, बडीमालिका नगरपालिकाको तिपाडीगाड, बूढीगंगा नदीको पुल र कोर्दालिगाडको पुलसमेत प्रयोगमा आउन छाडेका छन् । सडकका कारण झोलुङ्गे पुल प्रयोगमा नआएका हुन् । खिया लागेर पुल जीर्ण अवस्थामा छन् । करोडाँैको लगानीमा निर्माण गरिएका पुल घाँसपात र गाई–गोरु चराउन जाने गोठालाले मात्र प्रयोग गर्ने गरेका छन् । घाँस काटेर वनपाखाबाट आउने जाने बाहेक अन्यले झोलुङ्गे पुल प्रयोग गर्न छोडेको बडिमालिका–६ का वडाध्यक्ष बलबहादुर थापाले बताउनुभयो ।

सडक सञ्जाल जोडिएपछि जीर्ण बन्दै गएका पुलको मर्मतका लागि सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयवासीले गुनासो गरेका छन् । पुल जीर्ण बन्दै गएपछि स्थानीयवासी चिन्तित छन् । जीर्ण बन्दै गएका जिल्लाका अधिकांश झोलुङ्गे पुल जीर्ण बन्दै गएकाले मर्मत–सम्भारका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने देखिन्छ । जिल्ला समन्वय समितिका संयोजक नरेन्द्रकुमार रोकायाले झोलुङ्गे पुल मर्मत–सम्भारका लागि आवश्यक बजेट विनियोजनका लागि सम्बन्धित नगरपालिका र गाउँपालिकाका प्रमुख÷अध्यक्षलाई निर्देशन दिएको बताउनुभयो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया