जीवन बीमा शुल्क ३८.८ % वृद्धि,गत आवको भन्दा ३८ प्रतिशतले बढी

काठमाडौं  ०६ फागुन।

चालू आर्थिक वर्षको पहिलो ६ महीनामा जीवन बीमा कम्पनीहरूले रू. ४७ अर्ब ५५ करोड ४१ लाख बीमाशुल्क संकलन गरेका छन् । गत आवको सोही अवधिको भन्दा यो ३८ दशमलव ८० प्रतिशतले बढी हो । गत आवको पहिलो ६ महीनामा जीवन बीमा कम्पनीले रू. ३४ अर्ब २५ करोड ९१ लाख कुल बीमाशुल्क संकलन गरेका थिए ।

हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । उनीहरूले हालै सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

सात दशकभन्दा बढीको इतिहास बोकेको नेपालको बीमाक्षेत्रले लामो समयसम्म गति लिन सकेको थिएन । तर, पछिल्लो समय बीमाक्षेत्रको व्यावसायिक गतिविधि उत्साहजनक रूपमा अगाडि बढ्दै गएको छ । पछिल्लो २ वर्षमा १० नयाँ कम्पनी थपिए पछि बजारमा प्रतिस्पर्धा पनि बढेको बताइन्छ । साथै, आम मानिसमा बीमासम्बन्धी चेतना पनि बढ्दै गएको छ । यी नै कारणले जीवन बीमाको व्यवसाय बढ्दै गएको बीमा समितिको भनाइ छ ।

बजार प्रतिस्पर्धी बन्दै गएपछि पुराना कम्पनीहरू पनि सक्रिय हुन थालेका छन् । सबै जिल्लामा जीवन बीमा कम्पनीको शाखा पुगेको छ । फलस्वरूप बीमा बजारको व्यावसायिक गतिविधि उत्साहजनक रूपमा अगाडि बढ्दै गएको समितिको दाबी छ ।

समितिका सूचना अधिकारी निर्मल अधिकारीले नीतिगत तथा कानूनी संरचनामा गरिएको सुधारका कारण पनि बीमाको व्यवसाय बढ्दै गएको बताए । उनले भने, ‘समितिले स्थानीय तहमा गएर बीमा सम्बन्धी अन्तरक्रिया गर्ने, बीमा चेतना बढाउने खालका कार्यक्रम पनि गर्दै आएको छ । यस्ता कामले पनि बीमाको व्यवसाय बढ्न मद्दत पुगेको छ ।’

युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णले पनि नयाँ कम्पनीहरू थपिएपछि समग्र कम्पनीहरूको व्यवसाय बढेको बताए । उनले भने, ‘वास्तवमा बीमा व्यवसायका लागि बजार खाली नै थियो । नयाँ कम्पनीहरू आएपछि त्यसलाई ओगट्ने काम भएको छ । फलस्वरूप बीमा व्यवसाय उल्लेख्य रूपमा बढेको छ ।’

बीमाशुल्क संकलन गर्ने मामलामा नेपाल लाइफ अग्र स्थानमा देखिएको छ । समीक्षा अवधिमा नेपाल लाइफले रू. १४ अर्ब ७ करोड २४ लाख बीमाशुल्क संकलन गरेको छ । यस्तै, दोस्रो स्थानमा रहेको एलआईसी नेपालले रू. ७ अर्ब ६९ करोड ७७ लाख बीमाशुल्क संकलन गरेको छ । यसैगरी राष्ट्रिय बीमा संस्थानले रू. ५ अर्ब ६९ करोड ३१ लाख र नेशनल लाइफले रू. ३ अर्ब ९३ करोड ९ लाख बीमाशुल्क संकलन गरेको छ ।

२ वर्षअघि मात्र सञ्चालनमा आएको युनियन लाइफ भने यस मामलामा पाँचौं नम्बरमा आएको छ । युनियन लाइफले यस अवधिमा रू. २ अर्ब ४१ करोड ७६ लाख बीमाशुल्क संकलन गरेको छ । बीमाशुल्क संकलन गर्ने मामलामा नयाँ कम्पनी मध्ये युनियन लाइफ अग्र स्थानमा देखिएको छ । यस्तै, दोस्रो स्थानमा रहेको रिलायबल नेपाल लाइफले रू. ८६ करोड ८९ लाख बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।

चालू आवको व्यावसायिक कारोबारबाट १९ जीवन कम्पनीले रू. २ अर्ब ३३ लाख खुद नाफा कमाएका छन् । जुन गत आवको सोही अवधीको भन्दा ३८ दशमलव २३ प्रतिशत बढी हो । आर्थिक अभियान दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया