जुम्लाका तीसवटा स्वास्थ्य संस्थामा विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागू

काठमाडौं फागुन २० । जुम्लाका ३० वटा स्वास्थ्य संस्थामा विद्युतीय स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू गरिएको छ । ‘अनलाइन’ अभिलेख राख्न मिल्ने गरी जिल्लाका आठवटा स्थानीय तहका ३० वटा स्वास्थ्य चौकीमा विद्युतीय स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू गरिएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
जिल्लाका ६० वडामध्ये सिञ्जा गाउँपालिकाका छवटै वडामा ‘इन्टरनेट’ सेवाको पहुँच पुगेपछि पालिकाका सबै स्वास्थ्य संस्थामा विद्युतीय स्वास्थ्य सूचना ‘रेकर्डिङ’ तथा ‘रिपोर्टिङ’ प्रणालीको सफ्टवेयर जोडिएको हो । उक्त उपकरण व्यवस्थापन एवं स्वास्थ्यकर्मीलाई तालिमका लागि भनेर कर्णाली प्रदेश सरकारको करिब पाँच लाख बजेट खर्च भएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । स्वास्थ्य सेवाको सम्पूर्ण विवरणलगायत दैनिक प्रवाह गरिने तथ्याङ्कलाई व्यवस्थित र प्रभावकारी बनाउनको लागि पालिकाका छवटै वडाका स्वास्थ्य संस्थामा बिद्युतीय स्वास्थ्य सूचना प्रणालीको ‘सफ्टवेयर’बाट जानकारी लिने व्यवस्था गरिएको छ ।
अनलाइन माध्यमद्वारा रेकर्डिङ र रिपोर्टिङको काम भइरहेको छ । ल्यापटप, इन्टरनेटलगायतका सञ्चार उपकरण र प्रविधिका लागि पालिकाको करिब १० लाख बजेट खर्च भएको छ । स्वास्थ्य संस्थाको अभिलेखलाई ‘डिजिटलाइजेसन’ गर्नका लागि पालिकाअन्तर्गतका सबै स्वास्थ्य संस्थामा इन्टरनेट जडान भइसकेको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा यो सफ्टवेयरले संस्थामा अनलाइन अभिलेख पूर्ण रुपमा लागू गर्न सहज भएको सिञ्जा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीले जनाएको छ ।
एउटै सेवाग्रहीको नामसहितको विवरण स्वास्थ्य संस्थामा पटकपटक दर्ता गरिरहन नपर्ने, मूल दर्तामा अभिलेखीकरण भइसकेपछि सेवाग्राहीको विवरण पुनः उल्लेख गर्न नपर्ने, खोप लगाउने बालबालिकाहरुको विवरणसमेत अनलाइन प्रणालीबाट नै सूचीकृत गर्न मिल्ने र अनलाइन प्लेटफर्म भएकाले पालिका, जिल्ला तथा प्रदेशमा बसेर पनि सजिलैसँग तथ्याङ्कको विश्लेषण गर्न सकिने भएकाले विद्युतीय स्वास्थ्य सूचना प्रणाली उपयोगी हुने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले स्पष्ट गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया