जैविक प्रदूषणको चपेटामा कालीगण्डकी

म्याग्दी ११ श्रावण ।

वातावरणीय तथा मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित भएका छन् । योसँगै नदीको अस्तित्वसमेत खतरामा परेको छ ।

तापक्रम वृद्धिसँगै हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाँदा हिमनदी कालीगण्डकीको बहावमा आएको परिवर्तनले नदी क्षेत्र वरपरको जमीन कमजोर बन्दै गएको छ । उद्योग तथा कलकारखानाबाट निस्कने फोहोरमैला, रसायनयुक्त पानी र अनियन्त्रितरूपमा ढल मिसाउनेजस्ता गलत मानवीय क्रियाकलापले कालीगण्डकी नदीको पानी अत्यधिक प्रदूषित बन्न गई पर्यावरणीय दृष्टिकोणले यो नदीको अस्तित्व सङ्कटमा पर्दै गएको हो ।

दामोदरकुण्डदेखि मुस्ताङको जोमसोम, म्याग्दीको बेनी, बागलुङ, पर्वतको कुश्मा र गुल्मीको रिडी बजारसम्म पुग्दा कालीगण्डकी नदीमा प्रशस्तै जैविक तथा औद्योगिक फोहोरमैला थुप्रिने गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए ।

हिन्दू धर्मावलम्बीका लागि पूजापाठ गर्ने थलो तथा धार्मिक आस्था र विश्वास बोकेको नदीका साथै शालिग्राम पाइने विश्वकै एकमात्र नदीका रूपमा कालीगण्डकी नदीलाई लिने गरिन्छ । धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण एवम् वातावरणीय हिसाबले संवेदनशील नदी हेर्दाहर्दै कुरूप एवं मित्र जीवको सट्टा हानिकारक शत्रु जीवको उर्वर वासस्थानका साथै प्रदूषणको स्रोत बन्न पुगेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

नदीमा भएको जैविक, भौतिक तथा रासायनिक परिवर्तनका कारण आफ्नो मौलिक गुण नष्ट गरी अक्सिजन घुमाउने क्षमतामा आएको ह्रास तथा जलीय वनस्पतिको प्रकाश संश्लेषण प्रक्रियामा उत्पन्न विकराल समस्याबाट मुक्ति पाउनका लागि समयमा नै सबै ‘कालीगण्डकी बचाऊ’ अभियानमा सरिक हुनुपर्ने धारणा वातावरणविद्कोे छ ।

हिमालयबाट हिउँ पग्लेर मुक्तिनाथको स्पर्श गर्दै विभिन्न खोला समेटेर बग्दै आएको कालीगण्डकी बढ्दो शहरीकरण र जलवायु परिवर्तनका कारण मानवीय र प्राकृतिक दुवैतर्फबाट प्रदूषित बन्दै गएको छ । नदी अत्यधिक प्रदूषित भएपछि विगतमा कञ्चन र सफा देखिने कालीगण्डकीको पानी अहिले कालो बाक्लो देखिनुका साथै गन्हाउन थालेका छन् । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया