झन् झन् बढदैछ उज्यालो पर्व तिहारको गरिमा

सगिता सुवेदी गौतम
नेपालीहरुको दोश्रो महान पर्व तिहार सबैको घर आँगनमा आइसकेको छ । झिलिमिली उज्यालो र फुलहरुको पर्व तिहारको महत्व र पौराणिकता विशिष्ट रहँदै आएको छ । खासगरी दिपावली अर्थात तिहार दिदी भाइबीचको सम्बन्ध प्रगाढ बनाउने चाडको रुपमा समेत चिनिन्छ । साथै दिपावलीको अन्य धार्मिक महत्व पनि रही आएको छ ।
तिहारमा टाढा टाढा रहेका दाजुभाइ दिदी बहिनी भेला भइ टिकाको साथै मखमली फुल, सयपत्री फुलको माला एक अर्कामा लगाउने प्रचलन रहेको छ । साथमा दिदी बहिनीहरुलाई दाजुभाइहरुले दिक्षिणा दिने प्रचलन रही आएको छ । खासगरी मखमली फुल कहिल्यै नओइलाउने र सयपत्री फुलको रङ कहिल्यै उडेर नजाने कारण तिहारमा त्यसको माला दाजुभाइहरुलाई लगाइदिने प्रचलन छ । कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान–सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा–मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान–दक्षिणा एवं वस्त्र दिने प्रचलन रही आएको छ ।
परापूर्वकालमा बहिनी यमुनाले यसै दिन दाजु यमराजलाई विशेष मान–सम्मान गर्दै भाइपूजा गरेको धार्मिक किम्बदन्ती समेत छ । यमराजले यमपञ्चकका पाँच दिन यमुनाको घरमा बास गर्छन् भन्ने धार्मिक विश्वास रहेको छ । तिहारमा भाइ टिकाको दिन दियो, कलश, गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, ओखर, तेल, बिमिरो, मखमलीको माला, दूबोको टीका आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य एवं दीर्घायूको कामना गर्ने गरिन्छ ।
तिहारलाई धेरै समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने पर्वको रुपमा पनि हेरिन्छ । यस पर्वले दाजुभाइसँगको सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा पनि काम गर्दै आएको छ ।
खासगरी यमपञ्चकको पाँचौं दिन भाइटीका पर्ने गर्छ । भाइटीकाको अघिल्लै दिन दिदीबहिनीले दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान–सुपारी, फूल आदि दिने प्रचलन पनि रही आएको छ । तिहारमा टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । भाइटीकाका लागि खासगरी बिमिरा, ओखर, तोरीको तेल, मसला, मखमली, सयपत्रीको माला, रोटी, मीठा–मीठा परिकारको आवश्यकता पर्छ ।
भाइ टिकामा सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गर्ने, त्यसपछि दाजु–भाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्ने, फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाईँदिने, सगुनका रूपमा दही दिने लगायत प्रचलन रहेको छ ।
त्यसपछी दिदीबहिनीले दाजुभाइको दीर्घायूको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । दाजुभाइ प्रतिको प्रेम रंग जस्तै गाढा तथा निरोगी भैरहने विश्वास समेत गरिन्छ । यसरी टीका लगाएपछि उपहार आदान–प्रदान गर्ने गरिन्छ । यसरी हिन्दु धर्मावलीहरुले महान चाड तिहारलाई विशेष महत्वका साथ
मनाउने गर्दछन । यो चाड दिदी भाई नहुने नेपालीहरुले धर्म दिदी र भाई बनाएर पनि टिका लगाउने प्रचलन रही आएको छ ।
हिजो आजका बर्षहरुमा आधुनिकता भित्रिएसँगै तिहारको मौलिकता पनि केही हदसम्म हराउँदै गएको पाइन्छ । तथापी नेपालीहरु रोजगारीको शिलशिलामा विश्वका कुना कुनासम्म पुगेका र टाढाटाढाबाट घर फर्किएर बडो खुशीसाथ आफनो दिदि–बहिनीहरुसँग भाइटिका थाप्ने प्रचलन पनि बढदै छ । नेपालीहरुको विदेशीने क्रम बढेसँगै दशैं तथा तिहारको रौनक समेत बढदै गएको छ । तिहारमा खासगरी जुवा–तास र लङगुरगुज्जा खेल्ने परीपाटी झै विकसित हुदै गएको छ । अधिक मात्रामा अल्कोहल सेवन गरी होहल्ला गर्ने क्रम पनि विकृतिकै रुपमा बढेको पाइन्छ । पहिले पहिले नाँच गान सहित देउसी भैलो खेल्न,े रमाइलो गर्ने गरिन्थ्यो । तर हिजो आजका बषर््ाहरुमा भने तिहारमा देउसी खेलेर अत्याधिक पैसा जम्मा गर्ने भन्ने उदेश्य राखेर भैलो खेल्ने गरिन्छ । जसले गर्दा यस चाडको मौलिकता जगेर्ना गर्ने भन्दा विकृति फैलदै गएको छ । पैसाको लागि देउसी खेल्ने गलत संस्कार बस्न थालेको छ । पिङ खेल्ने, चङगा उडाउने र छरछिमेकसँग भाइचारा स्थापित गरेर मिठो मिष्ठान्न बनाएर खाने प्रचलनमा कमी आउन थालेको छ । यधपी नेपालीहरुको लागि गौरभ गर्ने बडो प्रभावशाली चाड हो भाइटिका । यस चाडको गरिमा आधुनिकतासँगै झन झन बढेको छ । तिहारले सबै नेपालीहरुको मुहारमा खुशी ल्याहोस् । शुभकामना ।।

विभिन्न अलाईनको सहयोगमा

फेसबुकबाट तपाईको प्रतिक्रिया