झापामा कडा खालको रोगीको संख्या बढ्दै

काठमाडौँ १८ माघ

भद्रपुर- झापामा गएको तीन आवको लेखाजोखा गर्दा मानिसमा हुने कडा खालको रोगको संख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयबाट प्राप्त जानकारीअनुसार आव २०७०÷७१ मा मिर्गौला पीडित ५२ जना, मुटुरोगी ७७ जना र अर्बुद रोगी १८३ जना देखिए भने आव २०७१÷७२ मा मुटु रोगी १२० जना, मिर्गौला रोगी ६५ जना र अर्बुद रोगी २३३ जनाले जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिश लिएको तथ्यांक शाखाका कर्मचारी तोया दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस्तै कडा खालका रोग लागेका आव २०७२÷७३ मा मुटु रोगी १४३ जना, मिर्गाैला रोगी ७२ जना र अर्बुद रोगी २५५ जना देखिएकामा आव २०७३÷७४ मा मुटु रोगी २१३ जना, मिर्गौला रोगी १५७ जना, अर्बुद रोगी ३५९ जना दिमागी रोग भएको एक जना र पार्किङशन रोगी एक जनासहितले यस कार्यालयबाट रोगी भएको सिफारिश लिएको बताइएको छ । तुलनात्मकरुपमा हेर्दा अर्बुद रोगी क्रमशः १८३, २३३, २५५ र गएको आवमा ३५९ जना भई यो रोगीको संख्या बढ्दै गएको पाइएको छ भने मिर्गौला र मुटु रोगी पनि क्रमशः बढ्दै गएकाले यो अवस्था झापाका लागि भयावह रहेको हो ।रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया