झोलेबाद मुर्दाबाद ।

लक्ष्मण गौतम

नेता – घाम उत्तरबाट उदाउछ र दक्षिणमा अस्ताउछ । झोले कार्यकर्ता – होईन नेताज्यू घाम पुर्वबाट उदाउछ र पश्चिममा अस्ताउछ । नेता – म नेता कि तिमी ? मैले जे बोले पनि हो हो भन, म भन्दा जान्नी भए मैले तिमीलाई किन पार्टीमा ठाउँ दिन्थे ? म भन्दा सक्षम र योग्यलाई हाम्रो पार्टीमा कुनै स्थान छैन । झोले कार्यकर्ता- हस नेताज्यू हस । नेता – ए अ हिजो तिमीले फेशबुकमा हालेको फोटोमा मेरो भुँडी अली ठुलो देखियो । राम्रो फोटो खिच्छौ भनेर मैले तिमीलाई पद दिए, पद पाए पछि हेप्नी ?

अब देखि अलि राम्रो राम्रो फोटो खिच र फोटो खिच्ने बेला हल्का मुसुक्क हास मलाई मुस्कान सहितको फोटो खिचाई चाँहीन्छ । राम्रो राम्रो फोटो हाल्दै गयौ भने म तिमीलाई जिल्ला सम्म पुराउछु । हिजोसम्मको सुकुम्बासी आज करोडौको मालिक भाछ करोडौको गाडीमा चढ्छ ,चप्पल सम्म लगाउने औकात नभएको मान्छे आज राजनिती गरेकै भरमा अरवपती भाछ । टेलीफोन सम्बादमा कमिसन मागेको अडियो बजारमा जता ततै भाईरल छ तै पनि हामी झोले उनीहरु कै बचाउमा उत्रिन्छौ । जनतालाई जीवनजल छैन तर हाम्रा नेता जन्मदिन मनाउन करोडौ खर्चिन्छन । स्वास्थ्य चौकी सम्म पुग्न नसकेर पखाला लागेको बिरामी मर्ने देशमा हामी केक बोक्न हेलिकप्टर चाटर गर्छौ तर खोई हामी बोल्न सकेको ? हामी चोरलाई चोर भन्न सक्दैनौ, भ्रष्ट्रलाई भ्रष्ट्र भन्न सक्दैनौ । देश बनेन भनेर हामी गोनासो गर्छौ तर देश किन बनेन भनेर हामी बोल्न सक्दैनौ । देशमा रोजगार छैन, देशमा अवसर छैन ,हामी हाम्रो सन्तानलाई रोजगार र अवसरका लागि बिदेश पठाउन तयार छौ तर देश लुटेर हाम्रा सन्तानलाई बिदेश जान वाध्य पार्ने हाम्रा भ्रष्ट्र नेताका बारेमा हामी बोल्न सक्दैनौ किनकी हामी झोले छौ । झोलेहरु तीन प्रकारका हुन्छन । १- अन्धभक्त झोले : यिनिहरुलाई आफुले झोला बोकेको पार्टी कुन हो, के गर्छ, निती नियम र सिद्दान्त के हो भन्ने कुनै कुराको वास्ता हुँदैन । यस्ता झोलेहरु १ प्लेट मासु र एउटा बियरमा बिक्छन । २- भक्त झोले : यस्ता झोलेहरुले हल्का फुल्का राजनिती बुझेका हुन्छन तर आफ्नो नेताले जे जस्तो कु-कर्म गरे पनि चुईक्क १ शब्द बोल्दैनन । आज भोली सामाजिक संजाल दुर्गन्ध पार्न यही प्रकारका झोलेहरु हुन ।

३- अशक्त झोले : यस्ता किसीमका झोलेहरु झोला बोक्दा बोक्दा अशक्त भएका हुन्छन । केही पाईने लोभमा झोला त बोक्छन तर जति बोके पनि हात लायो सुन्य । सेटिङ मिलाउने खुवी नभएकै कारण यस्ता झोलेहरु सधैं ओझेलनमा पर्छन तर आजभोली भने यस्ता किसिमका झोलेहरुले नेता सँग खिचेको फोटो फेशबुकमा हालेर मान्छे चाँही झुक्काउछन । यहाँ सबै झोलेहरुले बुझ्नु पर्ने कुरा के हो भने झोला बोकेर पाएको पद धेरै टिक्दैन । आजको यो २१ औ शताब्दीको दुनियाँमा बजारमा बिक्ने तर धेरै नटिक्ने बाद भनेको झोलेबाद हो । आजका जनता सचेत छन तेसैले आजको दिनमा झोलेबादको टिकाउ चिनिया सामान जत्तिको पनि छैन । सबै राजनीतिक पार्टीहरुका कार्यकर्ताका बिचार झोलेबाद भएसी कहाँबाट बन्छ देश ?

त्यसैले अब हामी झोले , लोभ ,लालचको होईन बिचार र योग्यताको राजनिती गरौ । अब हामी अवसर खोज्न बेलायत, अमेरिका, अष्ट्रेलिया जाने होईन त्यहाँ पिआर लिएर बसेका नेपालीहरु नेपालमा अवसर देखेर आफ्नै देश फर्किने वातावरण बनाउने गरी राजनिती गरौ । नेपालमा टुरिजम देखी हाईड्रो ,खनिज ,कृषि हरेक क्षेत्रमा संभावना छ तर संभावनालाई रियालिटीमा बदल्न आजैबाट झोला फालौ ,चोरलाई चोर भन्न सकौ । अब अति भो अब त बोलौ….. । झोलेबाद मुर्दाबाद ।

फेसबुकबाट तपाईको प्रतिक्रिया