टनकपुर सवस्टेशनको क्षमता वृद्धि हुने

रमेश लम्साल

नयाँ दिल्ली, २९ माघ

भारत सरकारले टनकपुरको सबस्टेशनको क्षमता वृद्धि गर्न सहमति जनाएको छ ।

भारत भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र भारतका विद्युत् राज्यमन्त्री आर के सिन्हाबीच आज भएको भेटवार्ताका क्रममा उक्त सबस्टेशनको क्षमता अभिवृद्धिका विषयमा छलफल भएको हो ।

हाल सो सबस्टेशनमा ५० एमभिए क्षमताको ट्रान्सफर्मर रहेको छ । थप ५० एमभिएको ट्रान्सफर्मर थप गरेर टनकपुर हुँदै नेपालमा विद्युत् उपलब्ध गराउने विषयमा छलफल भएको हो । पश्चिम नेपाल र विशेषगरी सुदूरपश्चिम प्रदेशको विद्युत् माग र आपूर्तिको सन्तुलन मिलाउन उक्त सबस्टेशनको क्षमता अभिवृद्धिका विषयमा लामो समयदेखि छलफल हुँदै आएको थियो ।

यस्तै सोही अवसरमा नेपालको दोस्रो अन्तरदेशीय प्रसारण लाइनका रुपमा रहेका न्यू बुटवल गोरखपुर प्रसारण लाइनको निर्माणको ढाँचाका विषयमा समेत कुराकानी भएको थियो ।

भारततर्फको प्रसारण लाइन भारत सरकार र नेपालतर्फको प्रसारण लाइन नेपालले नै संयुक्त रुपमा निर्माण गर्ने विषयमा समेत महत्वपूर्ण छलफल भएको थियो । दुई देशबीचमा ऊर्जा र जलस्रोतका विविध क्षेत्रमा सहकार्य गर्ने विषयमा महत्वपूर्ण छलफल भएको मन्त्री पुनले जानकारी दिनुभयो ।

ऊर्जा तथा जलस्रोतको क्षेत्रमा भइरहेका विविध प्रयास तथा सहकार्यका क्षेत्रमा थप नयाँ लक्ष्य तय गर्दै अगाडि बढ्ने र नेपालको ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकारले तय गरेका लक्ष्यलाई पूरा गर्न आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग एवम् लगानीका थप सम्भावनाका विषयमा समेत महत्वूर्ण विचार–विमर्श भएको थियो ।

त्यसअघि मन्त्री पुन भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि शुरु भएको विश्व दिगो विकास शिखर सम्मेलनमा सहभागी हुनुभयो । उक्त शिखर सम्मेलनको भारतका उपराष्ट्रपति वन्कैया नायडूले उद्घाटन गर्नुभएको थियो । उहाँले दिगो विकासका लागि सबै पक्षले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कृषि, पर्यटन तथा उत्पादनको क्षेत्रमा समेत वातावरणमैत्री हुने गरी काम गर्नुपर्ने र दिगो विकासका साझा लक्ष्यलाई पहिचान गर्नुपर्ने धारणा राख्नुभयो । सम्मेलनमा विश्वका ४० देशका प्रतिनिधि सहभागी छन् । सम्मेलनमा भारतका विज्ञान तथा प्रविधिमन्त्री हर्ष वद्र्धनको पनि सहभागिता थियो । सम्मेलनमा मङ्गलबारको सत्रमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पुनले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा दिगो विकासका क्षेत्रमा अवलम्बन गर्नुपर्ने विषय र त्यसका लागि अगाडि सारिएका लक्ष्य पहिल्याउन अवलम्बन गर्नुपर्ने महत्वपूर्ण विषयमा छलफल हुने कार्यक्रम छ । संयुक्त राष्ट्रसङ्घले अगाडि सारेको दिगो विकास लक्ष्य पहिल्याउँदै गरीबी निवारण गर्ने लक्ष्यलाई समेत सम्बोधन गर्न सम्मेलन महत्वपूर्ण अवसर भएको सो अवसरमा जानकारी दिइएको थियो ।

हालै सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनअनुसार सन् २१०० सम्ममा विश्वव्यापी रुपमा तापक्रम २ डिग्री सेन्टिग्रेटको दरमा वृद्धि हुने र दुई तिहाइभन्दा बढी हिमनदी पग्लिएर जाने उल्लेख छ । जलवायु परिवर्तनले पारेको प्रभावलाई न्यूनीकरण गर्न संयुक्त राष्ट्रसङ्घले अगाडि सारेका नीति तथा कार्यक्रमलाई केन्द्रविन्दुमा राखेर साझा लक्ष्यको पहिचान र कार्यक्रम बनाउन सम्मेलन महत्वपूर्ण अवसर भएको आयोजकले जनाएको छ । सम्मेलन भारतको दी इनर्जी एण्ड रिर्सोस इस्टिच्युटले आयोजना गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया