टिकौली क्षेत्रमा कृष्णसार ल्याउन अध्ययन शुरु

काठमाण्डौ १९ पौष २०७७

वन्यजन्तुमा आधारित पर्यटकीय जिल्ला चितवनमा कृष्णसार पनि थप्नका लागि अध्ययन थालिएको छ । रत्ननगर नगरपालिकाको टिकौली क्षेत्रमा अध्ययन थालिएको बताइएको छ ।सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरिभद्र आचार्यको संयोजकत्वमा गठित समितिले अध्ययन थालेको हो । समितिमा डिभिजन वन कार्यालय, स्थानीय सामुदायिक वन, रत्ननगर नगरपालिका, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधि र विभागका सहायक इकोलोजोष्टि हेमराज आचार्य सदस्यसचिव रहेका छन् । केही वर्ष अघिदेखि नै टिकौलीमा कृष्णसार ल्याउने विषयमा बहस शुरु भएपछि ठोस काम हुन सकेको थिएन ।

संयोजक आचार्यका अनुसार यसै साता प्रतिवेदन दिने गरी काम भइरहेको छ । टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन बनाउने काम गरिरहेको उनले जानकारी दिए । उनका अनुसार ल्याउन उपयुक्त देखिएमा लाग्ने खर्च, ल्याउन सकिने सङ्ख्या, ठाउँ तयार पार्न लाग्ने खर्च र समय, ल्याएपछिको व्यवस्थापन कसले र कसरी गर्ने लगायतका विषयमा अध्ययन भइरहेको छ ।सो ठाउँमा कम्तीमा २० हेक्टर जमीन कृष्णसारका लागि छुट्याउन सकिने अनुमान गरिएको छ । ल्याउन उपयुक्त देखिएमा बर्दियाको खैरापुर वा शुक्लाफाँटाबाट स्थानान्तरण गरी ल्याइने उनको भनाइ छ । उनले भने,’सम्भावना रह्यो भने यो ठाउँ दोस्रो स्थानान्तरण हुनेछ ।’ यसअघि खैरापुरबाट शुक्लाफाँटामा स्थानान्तरण गरिएको थियो । सङ्ख्या हेरेर दुवै ठाउँबाट पनि ल्याउन सकिने उनले बताए ।

आचार्यले कृष्णसार स्थानान्तरण गर्न सकिएमा प्रजाति विविधीकरणसँगै वंश संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । यससँगै यहाँको पर्यटन प्रवर्द्धन र खाली बसेको जमीनको उपयोग हुने उनी बताउँछन् ।रत्ननगर नगरपालिकाले पनि कृष्णसार ल्याउने विषयमा पहल गरिरहेको छ । नगरपालिकाका प्रमुख नारायण वनले अन्य भौतिक संरचना निर्माण गर्न नमिल्ने सो ठाउँमा कृष्णसार ल्याउँदा यहाँको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, ‘अध्ययनन शुरु भएको छ, आगामी फागुनसम्ममा ल्याउने गरी तयारी गरेका छौं ।’चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले समितिले अध्ययन थालेकाले प्रतिवेदनको आधारमा काम अघि बढ्ने बताए । देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा कृष्णसार थपिएमा यहाँको पर्यटन क्षेत्रमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । RSS

फेसबुकबाट तपाईको प्रतिक्रिया