टेलिकमको फोरजी नेटवर्क विस्तारमा ३ कम्पनी इच्छुक

काठमाडौं, २५  पुस ।

नेपाल टेलिकमको बहुप्रतीक्षित फोरजी नेटवर्क विस्तारको कार्यमा ३ कम्पनी इच्छुक देखिएका छन् । टेलिकमले देशभर फोरजी नेटवर्क विस्तार तथा स्तरोन्नतिका लागि आह्वान गरेको बोलपत्रको अन्तिम दिन सोमबारसम्म हुवावे, जेडटिई र माभिनियरले प्रस्ताव पेस गरेको टेलिकम स्रोतले जानकारी दिएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

टेलिकमले गत १७ कात्तिमा ३ करोड ८० लाख अमेरिकी डलर नबढ्ने गरी विश्वव्यापी बोलपत्र आह्वान गरेको थियो । टेलिकमले देशभर दूरसञ्चार क्षेत्रमा चौथो पुस्ताको प्रविधि मानिने एलटिई अर्थात् फोरजी कोर नेटवर्कको आपूर्ति, प्राप्ति र जडानका प्रक्रिया अगाडि बढाएको थियो ।

सोमबार नै खोलिएको बोलपत्रमा चिनियाँ कम्पनी जेडटिईले सबैभन्दा कम अर्थात् १ करोड ५३ लाख ६ हजार अमेरिकी डलर रकम प्रस्ताव गरेको छ । यद्यपि, चीनकै अर्को कम्पनी हुवावेले कोर नेटवर्क अपग्रेडको काम ९९ लाख अमेरिकी डलरमा सम्पन्न गर्ने छुट्टै अफर अगाडि सारेको छ । हुवावेले टेलिकमको अधिकतम सीमा ३ करोड ८० लाख अमेरिकी डलरको बोलकबोलसमेत गरेको छ ।

हङकङको माभिनियर सिंगापुर सिटियुएस कम्युनिकेसन सिंगापुरले समेत संयुक्त रूपमा बोलपत्र दर्ता गराएका छन् । सिटिएसको नाममा दर्ता गराइएको उक्त प्रस्तावमा २ करोड १० लाख अमेरिकी डलर उल्लेख गरिएको टेलिकम स्रोतले जानकारी दिएको छ ।

बोलपत्र दर्ताका लागि अन्तिम मिति ६ पुस तोकिएकोमा कम्पनीले सोमबारसम्मका लागि म्याद थप गरेको थियो । तर, टेलिकमले थप गरेको म्याद अंग्रेजी नयाँ वर्ष र क्रिसमसका वेला परेको भन्दै पुनः म्याद थप नगरेको आरोप अन्य कम्पनीले लगाएका छन् । विभिन्न ६ कम्पनीले संयुक्त रूपमा सार्वजनिक खरिद अनुगमनको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

म्याद थप नगरेको आरोप गलत भएको टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको भनाइ छ । ‘हामीले बोलकबोलमा भाग लिन चाहने कम्पनीकै आग्रहमा १८ दिन म्याद थप गरेका थियौँ,’ उनले भनिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया