ठमेल सडक महोत्सव हुने

काठमाडौँ, ८ असोज

उनान्चालिऔँ विश्व पर्यटन दिवसका अवसरमा आगामी असोज ११ गते ठमेल सडक महोत्सवको आयोजना गरिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अगुवाईमा ठमेल पर्यटन विकास परिषद्ले पहिलो पटक सांस्कृतिक सडक महोत्सव आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । परिषद्ले यसअघि नयाँ वर्षको सन्दर्भमा मात्र ठमेल सडक महोत्सव गर्दै आएको थियो ।

नेपाललाई विश्वभर चिनाउने प्रमुख पर्यटकीय क्षेत्र ठमेलसहित समग्र नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको परिषद्का अध्यक्ष समीर गुरुङले बताउनुभयो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएकोमा त्यसलाई सहयोग पु¥याउने हेतुले पनि यस्ता गतिविधिलाई निरन्तरता दिइने उहाँको भनाइ छ ।

महोत्सवका अवसरमा विभिन्न जनजातिको १० वटाभन्दा बढी सांस्कृतिक नृत्य, झाँकी प्रदर्शनी र चर्चित ‘डिजे’का मनोरञ्जनात्मक कार्यक्रम राख्नुकासाथै खाना महोत्सवको समेत आयोजना गरिनेछ ।

उक्त अवसरमा ठमेलका रात्रिकालीन सेवाहरु रेस्टुरा, बार, डान्स, डिस्को, दोहोरी क्लब आदिमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजकले जनाएको ।

नेपालका विभिन्न जनजातिको परम्परागत संस्कृति र भेषभूषामा सजिएका सुन्दर नृत्य प्रस्तुत गरी विश्वव्यापीरुपमा ठमेलको प्रवद्र्धन गर्ने लक्ष्यका साथ आयोजित कार्यक्रमले ठमेलस्थित सम्पूर्ण व्यवसायीलाई फाइदा पुग्नुका साथै विदेशी पर्यटकले नेपाली संस्कृतिको भरपुर मनोरञ्जन लिन पाउनेछन् ।

त्रिदेवी मार्ग ठमेलमा दिउँसो ४ बजे औपचारिक कार्यक्रम शुरु भई महोत्सवका वेला ठमेलका मुख्य सडक गल्लीमा राति अबेरसम्म विविध सांस्कृतिक कार्यक्रम गरिनेछ । (रासस)

फेसबुकबाट तपाईको प्रतिक्रिया