डायलासिसको पालो पाउन मुस्किल
काठमाडौं १ चैत २०८०
मिर्गौलासम्बन्धी समस्याको उपचार हुने सरकारी अस्पतालमा डायलासिसका लागि पालो पाउन मुस्किल छ । बिरामीको चाप बढी, जनशक्ति र डायलासिस मेसिन कम भएका कारण डायलासिस गराउनुपर्ने बिरामीले सरकारी अस्पतालमा धेरै समय कुर्नुपर्ने बाध्यता छ ।
वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलगायतका सरकारी अस्पतालमा सहज तरिकाले डायलासिस गर्न सक्ने अवस्था छैन । वीर अस्पतालमा दैनिक तीन सत्रमा ६० जनाको नियमित र दैनिक एक/दुई जनाको आकस्मिक डायलासिस हुने गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पतालमा दैनिक ६० जनाको डायलासिस हुने गरेको जानकारी दिनुभयो । उहाँले एक सत्रमा २० जनाको डायलासिस हुने गरेको बताउनुभयो ।
भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दैनिक १६० जना बिरामीको डायलासिस हुने गरेको छ । अस्पतालकी नेफ्रोलोजी विभाग प्रमुख डा. कल्पनाकुमारी श्रेष्ठले अस्पतालमा ४९ वटा मेसिनबाट निरन्तर डायलासिस भएको जानकारी दिनुभयो । आकस्मिक कक्षमा भने दैनिक १५ देखि २० जनाको डायलासिस हुने गरेको छ ।
डा. श्रेष्ठले डायलासिसका लागि नयाँ बिरामीले पालो पाउन मुस्किल रहेको जानकारी दिनुभयो । सीमित स्रोतसाधन तथा कम जनशक्तिले गर्दा थप बिरामीलाई डायलासिस गर्न कठिन भएको उहाँको भनाइ छ ।
यस्तै त्रिवि शिक्षण अस्पतालमा पनि दैनिक ५० देखि ६० जनाको डायलासिस हुने गरेको अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले जानकारी दिनुभयो ।
डा. श्रेष्ठले मिर्गौलासम्बन्धी समस्याको लक्षण देखिनासाथ स्वास्थ्यमा सावधानी अपनाउँदा जोगिन सकिने बताउनुभयो । उहाँले मिर्गौलाले काम नगरेपछि मात्र बिरामी अस्पताल आउने गरेकोभन्दै मिर्गौला रोग नियन्त्रण गर्न सकिने भए पनि सुरुमा बेवास्ता गरेका कारण मिर्गौलासम्बन्धी बिरामी बढिरहेको बताउनुभयो ।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले समय समयमा आफ्नो मिर्गौलाको अवस्था कस्तो छ भनेर परीक्षण नगर्दा पनि मिर्गौलासम्बन्धी रोगका बिरामी बढेको बताउनुभयो । उहाँले पिसाब परीक्षणले मात्रै पनि मिर्गौलाको समस्या थाहा पाइने हुनाले समय समयमा पिसाब परीक्षण गर्न सुझाव दिनुभयो ।
सरकारी अस्पतालबाहेक विभिन्न निजी अस्पतालमा समेत मिर्गौलाको उपचार हुने गरेको छ । मिर्गौलाको उपचार हुने अस्पतालमा पुग्ने मिर्गौलाका बिरामी एकै पटक मिर्गौलाले काम नगर्ने भएपछि डायलासिस गर्न जाने गरेका छन् । समय समयमा आफ्नो स्वास्थ्य परीक्षण गराएमा मिर्गौलासम्बन्धी समस्याबाट बच्न सकिन्छ । आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया