डा. देवकोटाको स्वास्थ्यमा सुधार, राष्ट्रपतिले फोन गरिन्

काठमाडौ ११ पौष

राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्यस्थितिबारे जानकारी लिएकी छन् ।

बेलायतको लण्डनमा उपचार गराइरहेका देवकोटालाई आइतबार अपराह्न टेलिफोन गरी स्वास्थ्यलाभको कामना गरिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए ।

डा देवकोटाले आफ्नो पित्तथैलीमा समस्या देखिएको र स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएको बताइएको छ । सचिव अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले शनिबार पनि लण्डनस्थित नेपाली दूतावासमार्फत डा देवकोटाको स्वास्थ्यबारे जानकारी लिएकी थिइन् ।

नेपालका उत्कृष्ट न्यूरो सर्जन ६३ वर्षीय देवकोटाको किग्ङ्स कलेज अस्पतालमा उपचार भइरहेको बताइएको छ । पूर्वमन्त्री समेत रहेका देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै आइतबार पशुपति मन्दिरमा दीप प्रज्ज्वलन गरिएको थियो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया