डोटीमा बीमा कार्यक्रम शुरुआत

डोटी २२ फागुन।

यहाँ स्वास्थ्य बीमा कार्यक्रम शुरुआत भएको छ  । स्वास्थ्य तथा जनसङ्ख्या  राज्यमन्त्री नवराज रावतले दिपायल सिलगढी नगरपालिकाको सभाहलमा बुधबार आयोजित कार्यक्रममा दुई वृद्धालाई  बीमा गरी यसको शुभारम्भ गर्दै  बीमा अभियानलाई प्रभावकारी बनाउन निर्देशन दिए ।

बीमा अभियानअन्तर्गत ‘क’ वर्गका अपाङ्गता व्यक्ति, ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुष्ठरोग र क्षयरोगका बिरामीलाई निःशुल्क बीमा गरिने जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । त्यस्तै स्वास्थ्य स्वयंसेविकालाई ५० प्रतिशत छुट दिइएको छ । एक घरका एकदेखि पाँचजनालाई रु तीन हजार ५०० र पाँचभन्दा बढी भए प्रतिएकजना बराबर रु ७०० का दरले वार्षिक प्रिमियम दर रकम लाग्नेछ ।

सुदूरपश्चिमका नौवटै जिल्लामा बीमा कार्यक्रम कार्यान्वयनमा आएको छ । हालसम्म ४८८ स्थानीय तहमा बीमा कार्यक्रम विस्तार भइसकेको जनाइएको छ ।  विसं २०७२ चैत २५ गते पहिलो पटक कैलालीबाट  सो कार्यक्रमको शुभारम्भ भएको थियो । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका डा भूषण मिश्रले भने, “सुदूरपश्चिमका सबै जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बीमा कार्यान्वयनमा आएको छ ”

यसअघि प्रदेशका अन्य जिल्लामा लागू भएको बीमा कार्यक्रममा हालसम्म कूल जनसख्याको १२ प्रतिशत जनसङ्ख्या मात्र आवद्ध भएको  जनाइएको छ । पछिल्लो जनगणना अनुसार प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ रहेकोमा हालसम्म  कार्यक्रममा दुई लाख ४६ हजार २०३ जना आबद्ध भएका छन् । कैलालीमा सबैभन्दा बढि  र  दार्चुलामा हालसम्म सबैभन्दा कम स्वास्थ्य बीमित रहेका बताइएको छ । बीमा बोर्डका अनुसार गरिब घरधुरी पहिचान भइसकेका जिल्लामा बीमितको सङ्ख्या बढी भए पनि पहिचान नभएका जिल्लामा सहभागिताको अवस्था कमजोर रहेको देखिएको छ । त्यसैगरी प्रदेश सरकारले कैलाली, अछाम, बझाङ र बाजुरा जिल्लामा गरीब घरधुरी पहिचान गरी परिचयपत्र समेत वितरण गरिसकेको छ ।

प्रदेशका अन्य पाँच जिल्लामा  पहिचान हुन बाँकी रहेको जनाएको छ । बीमा बोर्डका अनुसार कैलालीमा एक लाख ३५ हजार ८३१ र  दार्चुलामा पाँच हजार ६८५ मात्रै हालसम्म आबद्ध भएका छन्  ।  बझाङमा ३० हजार ११२, बाजुरामा २६ हजार ५७४, अछाममा २५ हजार ८०६, बैतडीमा ११ हजार ९९० र कञ्चनपुरमा १० हजार १९५ स् बीमित रहेका छन् । हालसम्म ३९ हजार ३०१ले सो कार्यक्रमबाट स्वास्थ्य सेवा लिइसकेको र रु तीन करोड ८१ लाख ५ हजार २६२ लगानी भइसकेको जनाएको छ ।RSS

फेसबुकबाट तपाईको प्रतिक्रिया